सुन्दरीद्वारा सम्राटलाई शान्तिको सन्देश

सुन्दरीद्वारा सम्राटलाई शान्तिको सन्देश

राजेन्द्र स्थापित

अशोक मौर्यवंशका तेस्रा सम्राट हुन् । भारतमा मौर्य वंशको जग बसालेका चन्द्रगुप्तका नाति र विन्दुसारका पुत्र । जन्म पाटलीपुत्र (पटना) मा, इशापूर्व ३०५ । विन्दुसार मगध सम्राट हुँदै, उनका जेठो पुत्र सुशिम तक्षशिलामा प्रान्तपाल थिए । यसबीच त्यहाँ विद्रोह भयो । विद्रोह दबाउन नसकेपछि सुशिमले पिता विन्दुसारसँग भाइ अशोकलाई पठाइदिन आग्रह गरे । अशोक तक्षशिला पुगेर विद्रोहलाई निर्ममतापूर्वक दबाउन सफल भए । भाइको पराक्रमबाट सुशिम भयभित बने । बाबुको मृत्युपश्चात् सम्राट बन्ने सपनामा अशोकलाई बाधा सम्झे । त्यसैले विन्दुसारलाई भनेर अशोकलाई कलिंगतिर निर्वासनमा पठाइदिए ।

कलिंगमा अशोकको मत्स्यकुमारी कारावाकीसँग प्रेम भयो । अशोक सम्राट बनेपछि उनैलाई तेस्रो महारानी बनाए । कारुवाकीले एउटी छोरी (टिभला) जन्माइन् । शाहरुख खान अभिनित हिन्दी चलचित्र ‘अशोका’ मा उनै कारुवाकीको भूमिका करिना कपुरले निभाएकी छन् । तक्षशिलामा विद्रोह भएको केही समयपछि उज्जैनमा पनि विद्रोह भयो । विन्दुसारले विद्रोह दबाउन त्यहाँ पनि अशोकलाई नै पठाए । विद्रोह दबाएपछि पनि अशोक फर्केनन् । दाजु सुशिमले गुप्तचरहरु खटाएका थिए । उनीहरुबाट मारिने डरले अशोकले बौद्ध भिक्षुको भेष धारण गरी उनीहरुसँगै बस्न थाले । पछि विन्दुसारले उनलाई उज्जैनको भाइसराय (राजाको प्रतिनिधि) नियुक्त गरे । साथै चाणक्यका शिष्य राधागुप्तलाई राज्यको महाअमात्य बनाए ।

दुवैको नियुक्तिको खबरले उज्जैनवासी प्रसन्न बने । मध्यप्रदेशकै अर्को नगर विदिशाका जनता झन् खुशी भए । त्यहाँको श्रेष्ठ समाजका प्रमुख देवदत्त उज्जैन पुगेर अशोक र राधागुप्तलाई निमन्त्रणा दिए । अशोक तीन दिनपछि आफ्ना सेवक र सैनिकहरुसँग विदिशा पुगे । विदिशाका जनताले भव्य स्वागत गरे । देवदत्तले सम्मानमा साँझ सांगीतिक कार्यक्रम राखे । कार्यक्रम शुरु भइसकेको थिएन । अशोक अतिथिगृहमा आराम गरिरहेका थिए । त्यसैबीच बाहिर बगैंचामा युवतीहरु हाँसेर गफ गरिरहेको सुने । हाँसोकै बीच एउटा मीठो स्वर सुनेपछि कोठाबाट बाहिर नगई बस्न सकेनन् । आफ्ना साथीहरुसँग फूल टिप्न बगैंचा पुगेकी ती युवती अशोकलाई देखेर लजाइन् र रुखको आडमा लुक्न गइन् । अशोक एकछिन उनी निस्कने प्रतीक्षामा त्यहीं उभिइरहे तर युवती पछाडिबाट भागिसकेकी थिइन् ।

यो उनीहरु दुवै जनाको पहिलो भेट थियो तर पछिसम्म अशोकले युवतीको अनुहार सम्झिरहे । उनी गम्भीर बन्न थालेको देखेर राधागुप्तले कारण सोधे । साँझ अशोक सांगीतिक कार्यक्रम स्थल पुगे । उनलाई स्वागत गर्न सभास्थलबाहिर दायाँ–बायाँ ठूलो भेला थियो र सबैले उनीतिर फूलहरु फ्याँके । अशोकले भीडको पछिल्तिर तिनै युवतीलाई देखे, जो लुकेर उनलाई हेर्दै थिइन् । आँखा जुध्यो । जब अशोक सभास्थल पुगे, त्यहाँ उनको परिचय तिनै युवतीसँग गराइयो । वास्तवमा ती युवती बिदिशा महादेवी रहिछन् । त्यहाँका धनी व्यापारी धनीरामकी पुत्री । उनीहरु गौतम बुद्धको शाक्य कूलका रहेछन् । कोशलका राजा प्रसेनजितका छोरा विडडुभले ननिहालका जनतालाई सताउन थालेपछि त्यहाँका शाक्यहरु भागेर विदिशा पुगेका रहेछन् । विदिशा महादेवी उर्फ देवी ती शाक्य कूलकै रहिछन् । बौद्ध धर्म मान्ने उनी अशोकभन्दा दुई वर्षले कान्छी रहिछन् ।

अशोक उज्जैन फर्केपछि पनि देवीलाई भुल्न सकेनन् । मौन बस्न थाले । राधागुप्तले केही संकेत पाइसकेका थिए तर ठ्याक्कै के भएको यकिन गर्न सकिरहेका थिएनन् । उनले यस विषयमा अशोकसँग पटक–पटक सोधे तर अशोकले सही कुरो ठ्याक्कै भनेनन् । दुवै मित्रबीच केही दिन अन्तरद्वन्द्व चलिराख्यो । यसबीच एक जना सेवकले सुमंगला आइपुगेको समाचार सुनाए । अशोक तुरुन्तै उनलाई भेट्न गए । सुमंगलाले अशोकलाई देख्नेबित्तिकै मुुसुक्क हाँसिन् र भनिन्, ‘तपाईंको यता जस्तो अवस्था छ, उता मेरी साथीको अवस्था पनि त्यस्तै छ । उनी पनि तपाईंलाई सम्झेर व्याकुल छिन् ।’

अशोकले कुरो बुझिहाले । तुरुन्त हातमा लगाइराखेको औंठी फुकालेर दिँदै भने, ‘यो मेरो तर्फबाट देवीको निम्ति प्रणयको निवेदन हो । अब म उनको जवाफ पर्खेर बस्नेछु ।’

सुमंगला विदिशा फर्किइन् । अशोकको अनुहार खुशीले चम्केको देखेर राधागुप्तले फेरि सोधे, ‘वास्तविक कुरा के हो ?’

अशोकले बल्ल देवीको बारेमा भने । अशोकको कुरा सुनेर राधागुप्त निकै खुशी भए । उनले अशोकलाई पुनः आफैं विदिशा पुगेर, देवीसँग भेटी मनको कुरो खुलस्त राख्न सल्लाह दिए । राधागुप्तको सल्लाह अशोकलाई उचित लाग्यो । फेरि राधागुप्त र उनी विदिशातर्फ रवाना भए । अशोक त्यहीं पुगे, जहाँ उनले देवीलाई पहिलोपटक देखेका थिए । यो पटक अशोकले देवदत्तलाई आफू विदिशा आउन लागेको सूचना दिएका थिएनन् । उनी कसैले थाहा नपाउन् भन्ने नै चाहन्थे । तसर्थ राधागुप्तको सहयोगमा बस्ने कोठाको व्यवस्था गरे । परिचय लुकाएर बसे । उनी देवीलाई तुरुन्त भेट्न चाहन्थे, त्यसैले घरको छतमा पुगे । त्यो दिन पूर्णिमा थियो । चन्द्रमाको किरण हेरेर देवीको कल्पना गर्न थाले । यसैबीच उनले पाउजुको आवाज सुने । पछाडि फर्केर हेर्दा देवीलाई देखे ।

अशोक– देवी !

देवी– हजुर !

अशोकले देवीको हातमा आफ्नो औंठी देखे । देवीले ‘मलाई तपाईंको प्रणय निवेदन स्वीकार्य छ’ भनिन् । देवीको मुखबाट यो कुरा सुनेर अशोक दंग परे । तर देवीले ‘म केही भन्न चाहन्छु’ भनिन् । अशोकको आज्ञा पाएपछि देवीले भनिन्, ‘म शाक्यवंशकी छोरी हुँ, बुद्ध धर्मको अनुयायी । तपाईं युद्ध गर्नुहुन्छ तर म अहिंसाको पुजारी । तपाईं राज्यमा शासन गर्नुहुन्छ तर म आमजनताको हृदयमा बस्न चाहन्छु । विश्वास हासिल गर्न चाहन्छु । म शान्त स्वभावको, तपाईं चञ्चल । हामी नदीका दुई किनारा जस्ता छौं ।’
अशोकले भने, ‘म तिमीसित विवाह गर्न चाहन्छु । विवाहपछि तिमी मेरी पत्नी र राज्यको महारानी बन्छ्यौ । जनताको हृदयमा तिम्रोलागि आदर र प्रेम त हुने नै भयो ।’ देवी मुसुक्क हाँसिन् र भनिन्, ‘म तपाईंको पत्नीमै सन्तुष्ट छु । जनताले मलाई महारानी सम्झेर आदर गरुन्, म यो आशा गर्दिन ।’

अशोक ‘मलाई थाहा छ, तिमी भगवान बुद्धप्रति अनुरक्त छौ । म वचन दिन्छु, तिमीलाई यो मार्गबाट पछि हट्न कहिल्यै दबाब दिन्नँ । तिम्रो चिन्तनमाथि हस्तक्षेप गर्दिनँ । बरु तिम्रो चिन्तनलाई मैले पनि अंगीकार गर्ने कोसिस गर्छु । तिमी महारानी बनेर शासन गर्न चाहँदैनौ, त्यो पनि ठीक छ ।’

अशोकको कुराले देवीको मन पग्ल्यो । उनले झुकेर अशोकको चरण छोइन् । खुशीको आँशु बगाइन् । दुवैले शर्त–प्रस्ताव स्वीकारे । भोलिपल्ट देवीका बाबुसँग बिहेको प्रस्ताव राखे । देवीसँग बिहे गर्न गइरहेको सूचना उज्जैन पठाए । उज्जैन शहर फूलबाट सजिन थाल्यो । सम्पूर्ण गन्यमान्यलाई साक्षी राखेर अशोकले देवीसँग बिहे गरे । देवी बिहेपश्चात् पनि माइतीमै बसिन् । छोरा जन्माइन्, महिन्दा । तीन वर्षपछि छोरी संघमित्रा । छोराको बाबु बनेको समय अशोक २० र देवी १८ की थिइन् ।

केही वर्षपछि सुशिमबाट आजित व्यक्तिहरुले सत्ता हत्याउन अशोकलाई उक्साए । किनभने विन्दुसार बूढो र रुग्ण भइसकेका थिए । यसबीच आफ्नी आमा शुभद्रांगीलाई सौतेनी भाइहरुले मिलेर हत्या गरेको खबर सुने । रिसले चुर हुँदै पाटलीपुत्र (पटना) फर्के । सबै सौतेनी दाजुभाइलाई मारेर सम्राट बने । महारानी बनिन् असन्धिमित्रा । अशोकले देवीलाई पाटलीपुत्र जान पटक–पटक आग्रह गरेका थिए तर उनले पतिलाई अहिंसाको मार्गमा लान नसकेको, बुद्धको अनुयायी बनाउन नसकेको भनेर जान मानिनन् । छोरा महिन्दा र छोरी संघमित्रालाई हुर्काएर बसिन्, विदिशामै । बुद्ध धर्म र संघमा लागिन् । बिहार र चैत्यहरुको निर्माण गर्न लगाइन् । बुद्धधर्मको प्रचार प्रसारमा सम्पूर्ण जीवन समर्पित गरिन् । हिन्दी चलचित्र ‘अशोका’ मा देवीको भूमिका अभिनेत्री हर्षिता भट्टले निभाएकी छन् ।

अशोक सम्राट बन्दा ३४ वर्षको भइसकेका थिए । उनले राज्य विस्तार गर्दै अफगानिस्तान र बंगलादेशसम्म पु¥याए । राज्य विस्तारकै क्रममा इशापूर्व २६१ मा कलिंगसँग युद्ध गरे । कलिंग धेरै शक्तिशाली राज्य थियो तर पनि युद्ध अशोकले जिते । युद्धमा एक लाख मानिस मरे । डेढ लाखलाई अशोकका सेनाले बन्दी बनाए । सम्पूर्ण कलिंग राज्यमा आगो लगाइदिए । लाखौं स्त्री विधवा र लाखौं केटाकेटी अनाथ बनेपछि बल्ल अशोकको मन बदलियो । त्यसपछि हिंसा त्यागे । अहिंसा, त्याग, सत्य, प्रेम, दान, परोपकारको मार्गतर्फ अग्रसर बने । बुद्धको उपदेश पालना गरे । बुद्ध धर्मलाई एसियामा फैलाउने काम गरे । यसक्रममा उनले ८४ हजारवटा बिहार निर्माण गर्न लगाए । उनले पछि पद्मावती र तिस्यारक्षासँग पनि बिहे गरेका थिए । उनीपछि उनका नाति दशरथ मौर्य सम्राट बने ।

टिप्पणीहरू