महाभारतमा के लेखिएको छ महाशय ?

महाभारतमा के लेखिएको छ महाशय ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने भन्ने विषयमा रस्साकस्सी शुरु भयो । अश्वत्थामा, दुर्योधन, कर्ण, शकुनी र दुशासन कौरव पक्षका होनहार लडाकु थिए । उनीहरूले नायक रोज्दा शूरवीर, धैर्यवान र परेका बखत तत्काल निर्णय दिनसक्ने क्षमता भएको व्यक्ति भावी सेनापति हुनुपर्ने राय दिए । यसैबीच अश्वत्थामाको महावीर कर्ण सेनापति बने । यो निर्णयबाट सबैभन्दा दुर्योधन दंग देखिन्थे ।

सबै बिदावारी भएपछि कर्णलाई अंगालो हाल्दै एकान्तमा लगेर भने– ‘मित्र, वास्तवमा मलाई पितामह र गुरु द्रोणाचार्य कसैको विश्वास थिएन । उहाँहरू पाण्डवलाई बढी माया गर्नुहुन्थ्यो । त्यसैले हामी क्षमता भएर पनि सफल हुन सकेनौं । म त तिमै्र भरमा थिएँ । सेनापति बन्ने योग्यता तिमीबाहेक कसैमा छैन । अब हामी सफल हुन्छौं ।’

दुर्योधनको प्रशंसाबाट हौसिएका कर्ण भन्छन्– ‘अब म पाण्डवहरूलाई युद्धमा टिक्नै दिन्न । भोलि नै अर्जुनलाई खत्तम गरी सबै पाण्डवलाई आफ्नो शिविरमा ल्याएर थुन्छु । यो मेरो प्रतिज्ञा हो ।’ कर्णको संकल्पले दुर्योधनलाई हुनसम्मको ढाढस दियो । यी पात्र बाहिरबाट अत्यन्तै मिलेको जस्तो देखिएपनि शंकाको लाभ लिन चुक्दैनथे । उनीहरू सहयोगीका नाममा एकले अर्कालाई राम्रैसंग ठग्दथे । यिनीहरूको सम्बन्ध नङ् मासुजस्तो त थियो तर नङ काटिँदा मासुले कुनै प्रतिवाद गर्दैनथ्यो ।

आवरणमा नेपाल कम्युनिष्ट पार्टी भनिए पनि यथार्थमा तेलपानी घुलन पार्टीका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाललाई प्रारब्धले दुर्योधन र कर्णको ठाउँमा ल्याइदिएको छ । महाभारत त्यस्तो श्रृंखला हो, जसका पात्रहरूले राज्य जितेर पनि कीर्तिमानी हुने सुअवसर पाएका थिएनन् । राज्यभोगको साइत अन्ततः श्राप र आँसुको दुर्दान्त रुझानमा लपक्कै भिजेको छ । युद्धका नायक श्रीकृष्ण व्याधाको प्रहारबाट नासिएका छन् ।

राज्यभोग गर्नुपर्ने पाण्डव एक एक गर्दै सुमेरु पर्वतमा बिलाएका छन् । कूटनीतिज्ञ विदुरलाई वैराग्यले छोएको छ । जिन्दगीभर शत्रु ठानेर युद्ध गरिएका कर्ण सहोदर दाजु भएको खुलासा आमा कुन्तीले गरेपछि पाण्डवहरू यति व्यथित भए कि जीवनको उत्तरार्ध निस्सार सावित भयो । युद्धवीरहरू किंकर्तव्यविमूढ बने ।

महाभारतका पात्रलाई जस्तै नेकपाका कार्यकर्ताहरूमा उत्कर्षको वैराग्य छाएको छ । प्रतिवाद गरौं जिन्दगीभरको रगत, पसिनाको मूल्य खोसिने, नगरौं कुण्ठाले जीवन सत्यानाश हुने । भाषणमा दुई तिहाईको सरकार भनेर के गर्नु ? नेकपा भित्रभित्रै चिनियाँ कम्युनिष्ट पार्टी, भारतीय कम्युनिष्ट पार्टी, अमेरिकी कम्युनिष्ट पार्टी, कांग्रेस– कम्युनिष्ट पार्टी, राजावादी कम्युनिष्ट पार्टी हुँदै होली वाईन कम्युनिष्ट पार्टीमा विभाजित छ ।

कुन शक्तिले नेतालाई भुट्ने सामथ्र्य राख्छ, त्यही एजेण्डाले देशको राष्ट्रिय माग धारण गर्छ । संघीय गणतन्त्र भन्नु मात्र हो, यो कस्तो व्यवस्था हो ? ल्याउनेलाई थाहा छैन् । गणतन्त्रको जमिनलाई पैसाको सुनामीले सिध्याएको छ । जतिसुकै मेहनत गरेपनि कहिल्यै नेता हुन नसक्ने युवराज खतिवडा, मोती दुगड, नवराज सिलवाल, कोमल ओली, विनोद चौधरी, उमेश श्रेष्ठजस्ता पात्रहरू पार्टीको फ्रन्ट डेस्कमा देखिन थालेका छन् । द्रव्यमोहले क्रान्तिको इतिहास लुलो बन्दै गएको छ । यत्र, तत्र, सर्वत्र चाकरी र सलामीको भोक जागेको छ ।

जिन्दगीभर गरिब र जनताका नाममा सती जान खोज्ने नेताहरू एकाध दशकमै कम्पनी प्रालिको महाप्रबन्धक भएका छन् । यस्तो व्यवस्था संसारमा कहाँ होला, जहाँ राजनीति गर्नेहरू सबैले सत्तापक्ष हुने मौका पाउँछन् । घरमा नोकर चाहियो– पुलिस हाजिर । उपचार खर्च चाहियो– राजश्वबाट कति चाहिन्छ ? छिमेकी, मामा चेला, फुपू चेलालाई शान देखाउनुप¥यो– आफैंले भर्ती गरेका सिपाही नामै किटेर घर सरुवा गर्दा कानुनले छेकवार लगाउँदैन । एकाध वर्षपछि माल असुल्ने ठाउँमा बक्सिसस्वरूप सरुवा गरिदियो कर्तव्य तमाम । सबै कर्म, कुकर्म हेर्दा लाग्छ– यो व्यवस्थाको पहिलो र अन्तिम विशेषता भनेकै नेताहरूको रहर र लहडको तामेली हो । सरकारी श्रम र शक्ति यसरी व्यक्तिगत बनाउन पाइने शासन व्यवस्थामाथि प्रश्नचिह्न जसले उठाउँछ, त्यो गणतन्त्रविरुद्धको कालोबादल करार हुन्छ ।

हाइड्रोपावरदेखि बालुवाखानीसम्मका कमिसन तलदेखि माथिका नेताको खातामा जम्मा भएपछि विरोध कुन चरीको नाम हो पत्तै हुन्न । नातागोता, हुक्के, ढोके, छाते कसलाई के बनाउनु पर्छ ? कुनै नियम कानुनले छेक्दैन । कसैलाई सिध्याउन र कसैलाई बनाउन कानुनी रबर बनाउने छूट नेतृत्वलाई छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजदूत बनाएकी शेरबहादुर देउवाकी सासु प्रतिभा राणाको जागिर सुरक्षित गर्नेबित्तिकै कांग्रेस मौसमी प्रतिपक्ष हुन तयार छ ।

कांग्रेसको खुट्टी हेरेरै प्रष्ट हुन्छ, कांग्रेस भनेको देउवा र देउवा भनेकै कांग्रेस हो । देउवालाई खुसी पार्न के के गर्नुपर्छ, त्यो ओली–प्रचण्डलाई घाँटीघाँटीसम्म कण्ठ छ । आम्दानीको कुलोमा अवरोध नगरेपछि सरकारका जालसाजी कागजमै किन नहोस्, देउवाले दशऔंलाको ल्याप्चे लगाइदिए भने आश्चर्य नमाने हुन्छ ।

नेपाल त्यस्तो देश हो, जहाँ दिउँसो हैन राती काम हुन्छ । अफिसभित्र नभएर अफिस बाहिर फाइलका कर्म तमाम गरिन्छ । कार्यालय समय त काम नगर्नेहरूले बहाना बनाउने मेलो मात्र हो । सरकारी समय गुजारेपछि रातोमसीका अख्तियारवालाहरूको सुर लाग्छ । यही भएर नै त कर्मचारीका मुखियाले राजनीतिका मुखियाको टाइसीट तयार गरिदिन्छन् ।

एउटाको हनुमानगिरी गरेपछि पट्यारलाग्दो अवकाश जीवन बिताउनु पर्दैन भन्ने मन्त्रले हाकिमी समाजमा राम्रै काम गरेको छ । सिक्वेन्स कस्तो मिलेको छ भने सरकार झैं सचिवको करार पनि पाँच वर्षकै तोकिएको छ । रसायन मिलाउन सक्ने बहादुर हाकिमहरू अवकाश नभई नै फरक अवतारमा अर्को राजा भएर उदाउन थालेका छन् ।

राजनीतिभित्रको पानी कति बेइमानी छ भने बाबुराम अर्को गुठी खोलेर आफू कुनै समय माओवादी दलको शीर्ष नेता भएको स्मरणसम्म पनि गर्न चाहँदैनन् । नारायणकाजीलाई पार्टी नखाऊँ दिनभरिको शिकार, खाउँ कान्छाबाउको अनुहार जस्तै भएको छ । एकथरि माओवादी काठमाडौंको सम्भ्रान्त परिवारमा रूपान्तरण भइसकेका छन् ।

उनीहरू रक्तरञ्जित विगतलाई ‘नराम्रो सपना’ भन्ने अवस्थामा पुगेका छन् । अर्काथरि अरबका डोरीलाउरे र बाँकी रहेकाहरू युरोप, अमेरिकामा ‘तोरीलाउरे’ बन्ने धूनमा छन् । यी खाले बुज्रुकहरू उल्टो माओवादी पीडितको कागज बनाएर विदेशी बन्ने क्रममा अदालती बयान दिइरहेका छन् । अचम्म त के भने अमेरिकी, युरोपेली बन्न उनीहरूले खाँटी कांग्रेसको परिचयपत्र बनाइसकेका छन् । पहिला पहिला कम्युनिष्ट र काँग्रेस अलग दल हुन्थे । दलका शीर्ष नेता हुन्थे । नेताले भनेको माथिदेखि तलसम्म अक्षरशः पालना हुन्थ्यो । अहिले त एमालेभित्र काँग्रेस–माओवादी, माओवादीभित्र काँग्रेस–एमाले, यी सवै दलभित्र लोकमानसिंह कार्कीका चेलाचपेटाको बिगबिगी छ ।

लोकमान त झारले छोपिएको पिपलजस्तै हुन् । जब झारपात घामको ताप र बर्खाको भेल थेग्न नसकेर पराल हुन्छ, त्यसपछि पिपलरूपी लोकमान लहलह भएर उदाउने छन् । केही समयका लागि अस्ताए पनि उनले छरेका सलाईका काँटी देशभर फिँजिएका छन् । फेरि जयजयकार शुरु हुनेछ । राजा ज्ञानेन्द्रको सत्ता पल्टिँदा सबैभन्दा घृणा गरिने पात्र कमल थापा समकालीन राजनीतिमा म्यारिजको मालजस्तो भइसकेका छन् । उनी हातमा घडी फेरेर समय आफ्नो कब्जामा रहेको भ्रम दशकौंदेखि छर्न सफल छन् ।

केपी ओलीले चराको चुचोजस्तो रेल र चुलोचुलोमा ग्यास ल्याउने सपना देखाउँदा उनका कार्यकर्ताले राजनेताको पखेटा लगाएर फेसबुक भरेको दृश्य देखेको पूर्वमाओवादी नेतृत्व उपत्यका उज्यालो बनाएको जशमा बर्बराउने गर्छ । तिललाई पहाडमा अनुवाद गर्न सक्ने कम्युनिष्ट मनोविज्ञानबाट माओवादी स्वयं चुकेको बुझ्न कठिन छैन । बाटो बढाएका बाबुराम बैरी भएर निस्किए ।

पार्टी एक गराएपछिका अध्यक्ष ओली कुरै खाने, कुरै ओढ्ने, कुरै ओछ्याउने रोगबाट मुक्त भएनन् । ओलीको बोली माओवादीका लागि निल्नु न ओकल्नु भएको छ । संसारका मानिसले बुझ्ने समान भाषा हो– हाँसो । अन्धकार नासिएपछि सम्भवतः यही भाषा सर्वसाधारणको अनुहारमा भेटिनु पर्छ । हाम्रो भूधरातल र सामाजिक सन्तुलन यस्तो अवस्थाको छ कि औंलामा गनिने मानिसले थोरै लोभ त्यागिदिने हो भने सवैथोक आपैंm मिलेर जान्छ । यहाँ राजनीतिक दलले जित्ने, देश हार्ने प्रतिस्पर्धाले घर गरेको छ ।

राजा ज्ञानेन्द्रको जिउमा टाँसिएका सवै परजीवी किर्नो अहिले ओली, प्रचण्ड, शेरबहादुरको दरबारमा सरेका छन् । किर्नो त आखिर किर्नो हो । उसलाई न गणतन्त्र चाहिएको छ, न लोकतन्त्र । किर्नोको स्वार्थ हो– रगत चुस्नु । रगत नआउनेसंग उसको संगतै हुँदैन । सत्यचाहिँ के हो भने यदि राजनीति पनि लोकसेवा पास गरेर आउनुपर्ने भएको भए निश्चित छ– अहिलेका अधिकांश नेता जग्गा दलाल हुन्थे । बाँदरले हाँगा लच्काउने मात्र हो, रुख भाँच्ने होइन । यो तागत ऊसंग हुँदैन । समाज बिग्रन नागरिकबीचको सम्बन्ध पो बिग्रनु पर्छ ।

थोरै त्यो सम्बन्ध नेताले तामो तुलसो छोएर गाँसिदिएको हो र ? नेता नामको पेपर टाइगरलाई साँच्चैको बाघ ठानेर तर्सनु आफनै मूर्खता सिवाय केही होइन । जो खुसी रहन चाहन्छ, उसलाई कसैले पनि दुखी बनाउन सक्दैन । जो दुखी रहन चाहन्छ, सुखमा पनि दुःख खोजिरहन्छ । गुण एकान्तमा विकास हुन्छ भने चरित्र निर्माण संसारको कोलाहलमा हुन्छ । समाजमा देश जल्यो भनेर कुर्लिनेहरूको जमात बढ्यो । आफू आगो निभाउनु त कता हो कता बाल्टिनमा पानी लिएर जानेको बाटो छेक्ने र पेट्रोल खन्याउनेहरूको धुइरो लाग्दै गयो ।

समाज यस्तै अनियन्त्रित र अनुशासनहीन बन्दै गएपछि धमिलो खोलामा माछा मार्नेहरूको अनपेक्षित प्रवेश हुने हो । पर्खालको इँटा कसैले चोर्दैन, चलाउँदैन । जब इँटा बाटोमा छरिन्छ, त्यसलाई जसले पनि टिपेर घुयँत्रो हान्छन् । जनतामा पनि त्यही एकता र संकल्प जरुरी छ ।

टिप्पणीहरू