चौधरीको चर्तिकला र ओली सरकारको चकमन्नता

चौधरीको चर्तिकला र ओली सरकारको चकमन्नता

डलर अर्बपति तथा सभासद् विनोद चौधरी विश्वका सर्वाधिक धनाढ्यहरूको सूचीमा उक्लिएको एकाध वर्ष भइसकेको छ । तर, अहिलेसम्म पनि न व्यक्तिगत रूपमा न त संस्थागत रूपमा उनको चौधरी ग्रुपले मुलुकमा धेरै कर तिरेको छ । उनी र उनको ग्रुप धेरै कर तिर्नेहरूको सूचीमा सधैँ दर्जनभन्दा बढी उद्योगपति र व्यवसायीभन्दा पछाडि रहँदै आएको छ ।

चौधरीको आम्दानी र उनले मुलुकमा तिरेको दस्तुरलाई हेरेर निवर्तमान अर्थमन्त्रीले पनि कर फस्र्याेटको नालिबेली निकाल्न सक्दैनन् । किनकि उनले मुलुकमै सबैभन्दा बढी आम्दानी गरेर अर्बपति भएका हुन् भने कर किन थोरै तिरे ? होइन नियमसंगत तवरले नै सामान्य कारोबारको कर तिर्दै आएका हुन् भने उनी मुलुकको सबैभन्दा धनी र विश्वका डलर अर्बपतिको सूचीमा कसरी पुगे ?

उनकै आत्मकथामा लेखिएको वाक्यलाई सापट लिने हो भने सोझो औंलाले घ्यू नआएपछि औंलालाई बाङ्गो बनाइएको थियो । त्यसपछि कसैले हिसाब खोज्न नसक्ने गरी आम्दानी ओइरिन थाल्यो । त्यहि बाङ्गो औंलाले गरेको कारोबार र हरहिसाबका कारण अहिले अर्बौंको डलर आम्दानी र लाख, त्यो पनि रुपैयाँमा तिरिएको करको हिसाब नमिलेको पनि हुन सक्छ ।

अहिले चौधरीका पुराना बंगलादेशी मित्र तथा व्यावसायिक साझेदार अब्दुल आवल मिन्टु र उनका छोरा ताफ्सिरमाथि सम्पत्तिको स्रोत र विदेशमा पुँजी पलायन गरेको आरोपमा भ्रष्टाचार अनुसन्धान आयोग (एसीसी) ले गहिरो अनुसन्धान थालेको छ । त्यसको कम्पन काठमाडौं रविभवनस्थित चौधरी निवासमा समेत आइपुगेको छ ।

चौधरी र मिन्टुको ट्याक्स हेभन मुलुकमा विभिन्न कम्पनी रहेको र ‘अफसोर बिजनेश’ मा सक्रिय रहेको समाचार यसअघि नै आएका थिए । हाल बर्मुडामा रहेको भनिएको मिन्टुको एउटा ऊर्जा कम्पनीलाई जोइन्ट भेञ्चर कम्पनीको रूपमा सिंगापुरमा समेत दर्ता गरिएपछि बङ्गलादेशले विदेशमा सञ्चालित उनको व्यवसायको स्रोत र आम्दानीको नालीबेली खोजेको हो ।

यसअघि धेरै पटक नबिल बैंकको आधा हिस्साको लगानीकर्ता ढाकास्थित एनबी इन्टरनेशनलसँग जोडिएको डलर लाभांशको समाचार श्रृंखलाबद्ध ढङ्गले सार्वजनिक भइसकेको छ । पछिल्लो पटक एनबीसँग जोडिएको चौधरीको सिनोभेसन इँक पनि त्यसमा मुछिएको प्रष्टै छ । उता, विनोदको नामको ५० हजार कित्ता सेयरको डलर लाभांशको थोरै अंश हालैमात्र फिर्ता भएको विषय यतिखेर रहस्यमय बन्न पुगेको छ ।

फिर्ता भएको उक्त डलर ढाकाबाट काठमाडौं ल्याइएको थियो वा अन्यत्रबाट भन्ने विषयले नयाँ रूप लिने सम्भावना बढेको छ । अहिले ढाकामा भइरहेको मिन्टु परिवारको सम्पत्तिको स्रोत छानबिनसँग सिनोभेसन र नबिल बैंक जोडिँदा राष्ट्र बैंक र वित्तीय जानकारी इकाईको निम्ति फिर्ता भएको ९५ हजार अमेरिकी डलर महत्वपूर्ण छानबिनको प्रारम्भिक विन्दूको रूपमा अगाडि आएको छ ।

ढाकामा भइरहेको अनुसन्धानमा मिन्टुले नेपालको नबिल बैंकमा लगानी गरेवापत हरेक वर्ष डलरमा प्राप्त नगद लाभांश मुलुक नल्याएको आशंका गरिएको छ । अर्कोतर्फ, अढाई दशकअघि नबिल बैंकमा गरिएको करोडौं लगानीको स्रोत पनि खोजिएको छ । यसबाट एनबी इन्टरनेशनल, बङ्गलादेश र सिनोभेसन इँकको अन्यत्र हुनसक्ने ‘डलर चेन’ को रहस्य खुुल्ने अनुमान गरिएको छ ।

यसअघि नेपालबाट एनबीका नामको डलर लाभांश ढाका नलगी आयरल्याण्ड वा अन्यत्र पु¥याएको आशंकामा ढाकामा थप अनुसन्धान थालिएको हो । यसले लाभांश रकम रकमान्तर गर्ने नबिलसमेत शङ्काको घेरामा तानिएको छ । कानुनतः जुन देशको कम्पनीले लगानी गरेको हो त्यसको लाभांश पनि सोही मुलुकमा मात्र लैजान पाइन्छ । अन्यत्र पठाउँदा संलग्न सबैजनाले सजायँको भागीदार बन्नुपर्ने हुन्छ ।

तर, बंगलादेशको एसीसीले बर्मुडास्थित मिन्टुको एनएफएम इनर्जी कम्पनीको कारोबार खोतल्न थालेपछि नबिलबाट यसअघि पठाइएका सबै डलर लाभांशको ट्रयाकिङ्ग हुने निश्चितझैँ छ । डलर लाभांशको ट्रयाकिङ्ग भएमा नेपालबाट कहाँ लगिएको थियो भन्ने देखिन्छ । त्यसबाट सोझै एनबी, सिनोभेसन, चौधरी र नबिल बैंकमाथि प्रश्नचिन्ह तेर्सिने पक्का छ ।

नबिलको लाभांश लैजाने क्रममा एनबी इन्टरनेशनलको नामबाट दुईजना डलर अर्बपतिले कतै ढाकाको सट्टा अन्यत्र पु¥याउने प्रपञ्च मिलाएका थिए वा थिएनन् यकिन गर्नुपर्ने नयाँ दायित्व देखापरेको छ । अब उक्त दायित्व यकिन गर्ने जिम्मेवारी नेपालका केन्द्रीय बैंक र वित्तीय जानकारी इकाइको सामुन्ने पनि आइपुगेको हो ।

यसबाट नेपालका डलर अर्बपतिले विश्वका विभिन्न मुलुक र महादेशमा सञ्चालन गरेको होटल, रिसोर्ट र अन्य व्यवसायको स्रोतसमेत खुल्ने सम्भावना बढेको छ । मिन्टुको अनुसन्धानबाट दुईजना डलर अर्बपतिको गोप्य कारोबारका सबै यथार्थ छिट्टै खुल्नसक्ने अर्थ मन्त्रालयका एकजना अधिकारीले बताएका छन् ।

टिप्पणीहरू