अस्पताल होइन, ब्यारेक पसेजस्तो प्रतिष्ठान

अस्पताल होइन, ब्यारेक पसेजस्तो प्रतिष्ठान

करिब तीन वर्षअघि तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रूपान्तरण हुँदा दंगाली जनताले दीपावली गरेका थिए । आफ्नै घर आँगनमा डाक्टर उत्पादन हुने भए भनेर खुशी भएका थिए ।

दाङवासीको खुशी त्यतिवेला दुःखमा परिणत भयो जतिवेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उपकुलपतिका रूपमा अत्यन्त विवादित डा. संगीता भण्डारीलाई पठाइदियो । उपकुलपतिका रूपमा भण्डारी आएपछि प्रतिष्ठानले गर्नुपर्ने काममा सिन्को बराबर प्रगति भएको छैन । बरु जिल्लावासीलाई तनाव दिने काम भएको छ । तीन वर्षसम्म कुनै पनि काम नगरेपछि केही दिनअघि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिष्ठानको नेतृत्व गरिरहेकी संगीता भण्डारीलाई चुनौती नै दिनुपरेको थियो । प्रतिष्ठान आएपछि जिल्लाको स्वास्थ्य अवस्थामा आमूल परिवर्तन आउने जुन अपेक्षा थियो त्यो एक रत्ती पूरा भएको छैन बरु भएका सेवा सुविधासमेत कटौती भइरहेका छन् । कोरोना महामारी परीक्षण गर्न सरकारले दुईवटा मेसिन प्रतिष्ठानलाई दियो तर किट नभएको भन्दै प्रतिष्ठानले जिल्लाका पालिकाबाट पठाएको स्वाब परीक्षण गर्न मानिरहेको छैन । कतिसम्म भने प्रतिष्ठानले जिल्लाका सबै पालिकालाई निर्देशन गरेर लाखदेखि करोड बढी रकम शोधभर्ना गर्न भनेको थियो ।

तीन वर्षअघि उपक्षेत्रीय अस्पताललाई प्रतिष्ठानमातहत पु¥याउन भूमिका खेलेको प्रतिष्ठान सरोकार समिति (जसको संयोजक उद्योग वाणिज्य संघका अध्यक्ष रहने व्यवस्था छ ।) हिजोआज पनि चलायमान छ । तर, उसको चलायमान पालिकाहरूलाई, प्रदेश सरकारलाई र पत्रकारलाई गाली गर्नका लागि भइरहेको छ । समितिमा तत्कालीन नेकपा एमाले र माओवादीबाट गएकाहरूलाई पार्टीले फिर्ता बोलाएको छ । पत्रकार महासंघ दाङले पनि समितिमा नबस्ने भनिसकेको छ । अन्य सदस्य नभए पनि प्रतिष्ठानकी उपकुलपतिले सरोकार समितिलाई देखाएर जिल्लामा राइँदाइँ गरिरहेको देखिएको छ । प्रतिष्ठानको गठनपछि डाक्टरको पढाइ हुनुपर्ने थियो । नभए नर्सिङ पढाइ हुनुपर्ने थियो । आफ्नै पाठ्यक्रम बनाउनुपर्ने थियो । भवन निर्माणका लागि जमिन खोज्नुपर्ने थियो तर त्यतातिरभन्दा भण्डारीको ध्यान कर्मचारीको मनोबल गिराउने, सरकारी डाक्टरलाई निकाल्ने, प्रसूति गराउन आएकाहरूलाई सरकारले दिने भनेको भत्ता नदिने, नाम दर्ताका लागि निर्धारित गरिएको शुल्क शतप्रतिशत भन्दा धेरै वृद्धि गर्ने काम भइरहेको छ । जसले गर्दा दाङबासीहरू मर्कामा परेका छन् ।

करिब सात वर्षअघि नायफ नेपाल नामक संस्थाले तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताललाई पोषण पुनःस्थापना गृह निर्माण गरिदिएको थियो । शुरुमा दाताले नै तलब दिने, विस्तारै अस्पतालमा हस्तान्तरण गर्ने नीतिअनुरूप तीन वर्षअघि अस्पतालमा हस्तान्तरण गरिएको थियो । प्रतिष्ठान गठनसँगै पोषण पुनःस्थापना गृह प्रतिष्ठानको मातहतमा आयो । सँगै पोषण पुनःस्थापना गृह बन्द गरियो । करिब एक हजारभन्दा धेरै साना शिशु जो जन्मँदा तौल कम थिए त्यस्तालाई राखेर उपचार गरिएको थियो । प्रतिष्ठान गठनसँगै संगीता भण्डारीको नेतृत्व भएपछि बन्द गराइयो । पोषण पुनःस्थापना गृह बन्द गरेर त्यहाँ डाक्टरका लागि आवास गृह बनाइयो । जसको विभिन्न निकायबाट विरोध भयो तर प्रतिष्ठान सरोकार समितिबाट विरोध भएन । कुरा यत्तिमा मात्रै सीमित भएन पोषण पुनःस्थापना गृह बन्द गरिएसँगै गत वर्ष सुत्केरीलाई दिने भत्तासमेत कटौती गरियो । यस्तै उपचारका लागि आउने बिरामीले नाम लेख्दा लिने शुल्कमा तीन सय प्रतिशतभन्दा बढीले वृद्धि गरियो ।

०५९ सालमा दाङ जिल्लामा पहिलो पटक रक्त सञ्चार केन्द्र सञ्चालन गरिएको थियो । शुरुमा तत्कालीन जिल्ला अस्पतालभित्र सञ्चालन गरिएको रक्तसञ्चार केन्द्र अस्पतालभन्दा बाहिर अस्पतालसँगै लिएको जमिनमा निर्माण गरियो । नेपाल रेडक्रस सोसाइटीको नाममा रहे पनि भवन निर्माणका लागि जिल्लाका विभिन्न निकायले सहयोग गरेका थिए । साबिक अस्पतालको स्वामित्वमा रहेको सबै जमिन प्रतिष्ठानमातहत आएपछि रक्त सञ्चार केन्द्रलाई हटाउन प्रतिष्ठानकी उपकुलपति भण्डारी न्वारानदेखिको बल लगाएर लागिरहेकी छन् । रक्त सञ्चार केन्द्र नहुने हो भने प्रतिष्ठानमा आउने बिरामीले रगत पाउन सक्दैनन् । तर, प्रतिष्ठान यही हटाउन लागिपरेको छ । प्रतिष्ठानको अर्को रमाइलो पक्ष के छ भने नेपाल सरकारको लगानीसमेत रहेको साझा स्वास्थ्य सेवालाई प्रतिष्ठानबाट निकाल्न केही महिनाअघि कोरानोको कहर भर्खरै शुरु हुँदा स्यानिटाइजर टर्नेल साझाको ढोकामै राख्ने काम गरियो । जसले गर्दा औषधि किन्नेहरू मर्कामा परे । दाङ जिल्लामा अन्यत्र नपाइने औषधि साझामा पाउन सकिन्थ्यो ।

अस्पताल भनेको कुनै ब्यारेक होइन । अस्पतालमा जो पनि जान पाउनुपर्छ । अस्पतालको वातावरण भनेको बिरामीमैत्री हुनुपर्छ । अस्पतालमा जाँदा डाक्टरले राम्रोसँग जाँच गरेपछि बिरामी ५० प्रतिशत निको हुन्छ भनिन्छ तर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहत रहेको साबिक राप्ती उपक्षेत्रीय अस्पतालमा जान भने कुनै ब्यारेकमा पसेजस्तो लाग्छ । प्रतिष्ठानका गेटपालेहरूले यति धेरै केरकार गर्छन् कि एकपटक गएको मानिस अर्को पटक उपचारका लागि जाँदैन । प्रतिष्ठानमा जाने सबैलाई गेटमा बसेकाहरूले आतंककारीजस्तो व्यवहार गर्छन् । प्रतिष्ठानमा कर्मचारी आउने र जानेको कुनै ठेगान हुँदैन । कुनै कारणले उपकुलपतिलाई नमस्कार गरेन वा देखेन वा बढी हाँस्यो वा गफ गरेर बस्यो वा अरु केही ग¥यो भने त्यसको जागिर गयो भन्ने जाने हुन्छ । प्रतिष्ठानमा केही मानिसको जागिर उपकुलपतिसम्म कुरा पु¥याउने भएको छ । कसले के ग¥यो वा कसले के गरेन भन्ने खालका कुरा पु¥याउन करिव दर्जन मानिस खटिएको बताइन्छ । जसले गर्दा प्रतिष्ठानमा काम गर्नेहरू खुला हृदयका साथमा काम गर्न सकिरहेका छैनन् ।

प्रतिष्ठानमा बेथिति व्याप्त भएको भन्ने रिपोर्ट संसद्को समितिले समेत दिएको थियो । जयपुरी घर्तीको नेतृत्वमा रहेको समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका अनेकन बेथितिबारे प्रतिवेदन नै सार्वजनिक गरेको थियो । यस्तै स्वास्थ्य मन्त्रालयका सहसचिव मधुसूदन बुर्लाकोटीको नेतृत्वमा पनि एउटा समिति जिल्लामा आएको थियो । त्यो समितिले त बुँदागत रूपमै उपकुलपति संगीता भण्डारीका कारणले गर्दा प्रतिष्ठान धराशयी भएको निश्कर्षसहित सुझाव दिएको थियो । तर, राजनीतिक पहुँच राख्न सफल उपकुलपतिले सिनेटको बैठकसमेत नराखी आफूखुशी काम गरिरहेको जो–केहीले पनि अनुभव गरिरहेको छ ।

– शरद अधिकारी

टिप्पणीहरू