सिमानामा कडाइको सर्कुलर

सिमानामा कडाइको सर्कुलर

गृह मन्त्रालयले भारत र चीनसँग सीमा जोडिएका हुम्लादेखि ताप्लेजुुङसम्मका ४० वटा जिल्लाका सीमामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट तत्काल स्थापनाका लागि ताकेता गरेको छ ।

सबै प्रजिअलाई हालै पठाइएको पत्रमा तत्काल जग्गा खोजी, पहिचान र प्राप्तिका लागि प्रभावकारी समन्वय गर्न निर्देशन दिइएको छ । विभिन्न स्थानमा राख्ने तय भइसकेका बिओपीका लागि गृहले स्थलगत अवलोकन र प्रदेश सरकारसँग समन्वय गरी आवश्यक घर-जग्गा प्राप्तिको निम्ति प्रशासनिक र कानुनी प्रक्रिया अघि बढाउन भनेको हो । पाँचथर जिल्लाको वाङवरक गाउँपालिकाले वडा नं.१ स्थित तोरी फुल्ने (भाले ढुुंगा) स्थानमा रहेको ७ रोपनी ऐलानी जग्गामा बिओपी राख्न दिन आवश्यक सिफारिस गरेको छ । उक्त स्थानबाट पूर्वमा भारतको सिक्किम राज्यको करिब तीन सय मिटर दूरी र पश्चिममा फेदी खोला, उत्तरमा गैरीगाउँ र दक्षिणमा तोरी फुले ठाडोभीर पर्ने बताइएको छ । त्यसैगरी, फालेलुङ गाउँपालिकाले पनि सिक्किम र दार्जिलिङ राज्यसँग जोडिएको सीमा नजिकैको ४ र ५ नं. वडाको क्रमशः माथिल्लो फोक्टे र सुर्केथाम चौैंरीपालक कबुलियती वनभित्रको ६ रोपनी जग्गामा बिओपी स्थापना गर्न दिन सिफारिस गरेको छ ।

यसैबीच, जिल्ला सुरक्षा समिति पाँचथरले जिल्लामा बढेको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाको गतिविधिलाई गम्भीर रूपमा लिँदै सबै सुरक्षा निकायलाई सतर्क अवस्थामा रहन निर्देशन दिएको छ । समितिले लकडाउन र कोरोना महामारीमा समेत मोर्चाले जिल्लामा सुशासन, राष्ट्रियता, जनजीविका, सीमालगायत समस्या मुलुकमा जनगणतान्त्रिक व्यवस्था नआएसम्म समाधान नहुने धारणा व्यक्त गर्दै सञ्चालन गर्ने सबै खालका गतिविधिमाथि निगरानी राख्न भने को हो । मोर्चाले अघिल्लो साता जिल्लामा केन्द्रीय प्रशिक्षणलगायत गतिविधि गरेको जनाएको छ ।

टिप्पणीहरू