मल माफिया मरक्कै

मल माफिया मरक्कै

असार, साउनको रोपाईं र सोलगत्तै कृषि बालीलाई आवश्यक पर्ने मलखाद आपूर्तिको जिम्मा लिएर पनि लापरबाही गरेका दुईवटा कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले कारबाही गरेको छ ।

उनै सडक ठेकेदार शारदा अधिकारी स्वामित्वको ललितपुरको शैलुङ्ग इन्टरप्राइजेज र काठमाडौंको होनिको मल्टिपल प्रा.लि.ले हिजोसम्म ल्याइसक्नुपर्ने ५० हजार मेट्रिक टन युरिया मल एक गेडो पनि नल्याएपछि लिमिटेडले जमानतवापत राखेको रकम जफत गरी आज सम्झौता रद्ध गरेको हो ।

साथै उनीहरूसँग प्रचलित कानुन एवम् सार्वजनिक खरिद ऐन तथा नियमावलीबमोजिम क्षतिपूर्तिसमेत दाबी गर्ने बताइएको छ । कृषि सामग्रीले ती दुबै कम्पनीलाई कालोसूचीमा राख्न आवश्यक प्रक्रियासमेत अघि बढाइसकेको जनाएको छ । दुबै सप्लायर्सले हिजोसम्म सबै मल ल्याइसक्ने गरी गत वैशाख दोस्रो साता सम्झौता गरेका थिए ।

पहिलो सिपमेण्ट ४२ दिनभित्र र दोस्रो सिपमेण्ट ७२ दिनभित्र गरिसक्नुपर्ने सम्झौतामा सहीछाप गरेका उनीहरू दायित्वलाई पूर्ण बेवास्ता गरी टाप कसेका थिए । उनीहरूले आफूहरू विदेशबाट मल ल्याउन अन्तिम अवस्थामा रहेको बताउँदै सिपमेण्टको समय बढाउन अनुरोध गरेका थिए ।

कृषि सामग्रीले पनि उनीहरूको अनुरोधबमोजिम २५ दिनको म्याद थपिदियो तर मल ल्याएनन् । कतिसम्म भने उनीहरूले मल बोकेको जहाज समुद्रमा रहेको झुठो विवरण दिए पनि जहाजको विवरणसमेत दिएनन् ।

टिप्पणीहरू