भोटो विना मच्छिन्द्रनाथ जात्रा सम्पन्न गर्ने तयारी !

भोटो विना मच्छिन्द्रनाथ जात्रा सम्पन्न गर्ने तयारी !

यस पटक रातो मच्छिन्द्रनाथको भोटो जात्रा नगरिने भएको छ । रथ तानेपछि यस पटकको जात्रा समापन गरिने निर्णयसँगै भोटो जात्रा नहुने भएको हो ।

यस वर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्ष झैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएपछि रथलाई आज ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेको हो ।

मच्छिन्द्रनाथ रथयात्रा

आज बिहानैदेखि १९ औँ जातीय खलः पुचःका ५०१ स्वयं सेवक खटाएर रथको मर्मत सम्भार गरी रथ तान्ने व्यवस्थापन गरेको थियो । रथलाई पुल्चोकबाट १५ देखि २० मिटर पर सोह्रखुट्टे पाटीसम्म पुर्याएको छ । गाःबहालबाट ललितपुर महानगरपालिकाको गेटसम्म करिब ५०० मिटर मीननाथको रथ पनि तानेको छ ।

गत बिहिबार कुनै आधिकारिक सूचना बिना रथ तान्न निस्किएको भिडलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग झडप भएको थियो । स्थानीय युवाले निषेधाको अवज्ञा गर्दै जबर्जस्ती रथ तान्दा ललितपुरको पुल्चोक क्षेत्र दिनभर तनावग्रस्त भएको थियो।

कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा देखिएपछि १९ गते स्थानीय प्रशासनले ललितपुरको चत्रपथ भित्रको क्षेत्रमा कर्फ्यु लगाएको थियो ।

रथको विषयमा तनावग्रस्त भएपछि सरोकारवालाहरुको बैठकले १९ गते क्षमापूजा, २० गते महाबली पूजा र २१ गते पुल्चोकबाट रथ तान्ने निर्णय गरेको हो ।

 

टिप्पणीहरू