वामदेव र योगेशका बाधा « Jana Aastha News Online
Logo
१४ मंसिर २०७८, मंगलवार
|  Tue Nov 30 2021

वामदेव र योगेशका बाधा

प्रकाशित मिति :  २१ भाद्र २०७७, आईतवार १८:३७


मन्त्री बनेर केही नयाँ काम गर्ने उत्साहका साथ गतवर्ष पहिलो चोटी क्याबिनेटमा पुगेका संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई निराश झैँ देखिएका छन् । झण्डै वर्ष दिन हुन लाग्यो तर, मन्त्रीको तर्फबाट योचाँहि गतिलो काम गर्न पाइयो भन्ने केही नदेखिएपछि उक्त अवस्था आएको बताइन्छ ।

स्रोतका अनुसार ‘उहाँलाई केही पनि गर्न पाइएन भन्ने लाग्दैछ ।’ मुलुकले नेपाल भ्रमण वर्ष २०२० को तयारी गरिरहँदा उनी मन्त्री बनेका थिए । त्यहि मेसोमा पर्यटन क्षेत्रमा केही उल्लेख्य काम गर्ने सपना देखेका थिए । तर, नयाँ वर्ष २०२० शुरु हुँदा नहुँदै विश्वव्यापी कोरोना महामारीले उनका ती सबै सपना चकनाचुर बनाइदियो ।

मन्त्री भट्टराई उकुसमुकुस हुनुमा मन्त्रालय मातहतका निकायमा रिक्त धेरैवटा राजनीतिक नियुक्तिको सुरसार गर्न नपाउनु पनि एउटा कारण हुनसक्छ । महत्वपूर्ण निकायमा नियुक्ति हुन नसकेपछि त्यहाँबाट सोचेको परिणाम आउने कुरो पनि भएन ।

लुम्बिनी विकास कोषमा सदस्य सचिवलगायतका सदस्यहरूको पद लामो समयदेखि रिक्त छ । नेपाल वायुसेवा निगमको सञ्चालक समिति पनि अझै अपुरो छ । तर, ती ठाउँमा नियुक्त गर्न स्वयम् बालुवाटार बाधक बनेपछि भट्टराई बिलखबन्दमा परेका हुन् ।

बालुवाटार महत्वपूर्ण ठाउँ जति सबैमा आफू निकटका मान्छे भर्ति गर्न चाहन्छ । तर, पर्यटन मन्त्रालयको एकतर्फी सिफारिशले क्याबिनेटमा नै महत्व पाउने गरेको छैन । शुरुका दिनमा प्रधानमन्त्रीसँग आवश्यकताभन्दा बढी निकटता देखाएका मन्त्री भट्टराईमा अहिले सबै काम ठप्प भएपछि लगभग निराशा छाएजस्तो देखिन्छ ।

उता, वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने नेकपा सचिवालयको निर्णय सितिमिति कार्यान्वयन नगर्ने पक्षमा प्रधानमन्त्री देखिनुभएको छ । बालुवाटार स्रोतका अनुसार पार्टीका सबै बैठक सम्पन्न भएपछि र विवाद सकिएको घोषणापछि मात्र मन्त्रीमण्डल हेरफेरको प्रक्रिया शुरु हुनेछ ।

सचिवालय, स्थायी र केन्द्रीय समितिको बैठकहरू बाँकी नै छन् । भोलि ती बैठकमा पुनः विवाद उठेको अवस्थामा आफ्नो हात तल पर्ने भएकाले प्रधानमन्त्री हाललाई मन्त्री फेर्न रोकिनु भएको हो । बालुवाटारले गौतमको प्रक्रिया अघि बढाउनेबित्तिक्कै खुमलटार समूहले एकपछि अर्को माग तेर्साउने सम्भावना रहने निश्कर्ष निकालेपछि उक्त अवस्था आएको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस !