खतिवडा जसरी छिरे, त्यसैगरी निस्के

खतिवडा जसरी छिरे, त्यसैगरी निस्के

अर्थमन्त्री युवराज खतिवडा ठुस्स हिजो दिउँसो ४ बजेपछि अर्थ मन्त्रालयको मूल ढोकाबाट निस्किए । ढोकैमा रहेको झण्डावाल गाडी चढेर सोझै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयतर्फ हान्निए । त्यहाँ पनि सोझै पत्रकार सम्मेलन हुने चौथो तलाको हलतिर गए ।

उपस्थित कर्मचारीले गरेको नमस्कार र औपचारिक अभिवादनलाई खासै मतलब नगरी सोझै मञ्चतिर लम्किए । अनि पोडियममा रहेको माइक समातेर फटाफट बोल्न थाले । यसअघि सँधै पत्रकार सम्मेलनमा औपचारिक सम्बोधनमा अभ्यस्त खतिवडालाई हिजो भने अनौपचारिक कार्यक्रम नै मन परेको देखिन्थ्यो ।

निषेधाज्ञावीच मन्त्रालयका सबैजसो अफिसर हलमा त्यसअघि नै आइसकेका थिए । बीस मिनेटजति बोलेर सबैलाई धन्यवादको औपचारिकता निभाए । फेरि कसैसँग दोहोरो सम्वाद नगरी फटाफट हलबाट निस्किए । मन्त्रालयको मूल ढोका अगाडि रोकिराखेको गाडी चढे । अंगरक्षकले छोपेको खोल निकालेपछि झण्डा हल्लाउँदै बाटो लागे ।

सूचना विभागका महानिर्देशक किरणराज शर्माले मन्त्रीलाई प्रदान गर्न ल्याएको उपहार पनि त्यत्तिकै थन्कियो । मन्त्रालयले भने कुनैपनि उपहार र बिदाइ पत्रको जोहो गरेको थिएन । ‘कार्यक्रम तालिका र कार्यक्रमको बारेमा सोधखोजै नगरी हान्ने गोरुझैँ सरासर आएर दुई शब्द बोलेपछि त्यसैगरी बाटो लाग्नुभयो । हामीले केही भन्न नै पाएनौं । वहाँले पनि केही सोध्नु भएन’ मन्त्रालयका एकजना अधिकारीले यसरी बताए ।

आफ्नो कार्यकालको प्रगति संक्षेपमा चर्चा गरेका खतिवडाले सचिवलाई समेत बोल्ने मौका दिएनन् । ‘अरुको कुरै नसुन्ने, आफ्नो मात्र सुनाउने आरोप लागेका खतिवडाको आजको व्यवहार ठ्याक्कै मेल खाएको’ भनेर हलमा उपस्थित कर्मचारीले बताए ।

टिप्पणीहरू