झापातिर मरेको धर्मनिरपेक्ष झमेला ! « janaaasthanews
३ आश्विन २०७७, शनिबार

झापातिर मरेको धर्मनिरपेक्ष झमेला !



भदौ १० गते झापा प्रहरीले गोरु काटेको आरोपमा दुई जनालाई गिरफ्तार गरेपछि भएको सामान्य तनाव र विवादमा गोली चलाउँदा झापा गापा–३ कामातोला गाउँमा घटनासँग सम्बन्ध नै नरहेका ३८ वर्षे रसिकुल आलमको हत्या भयो । सशस्त्र प्रहरीसहितको टोलीले काटेको भनिएको गोरुको टाउको र खुट्टासमेत बोकेर हिँडेको समाचार बाहिरियो ।

त्यसको भोलिपल्ट रौतहट जिल्लाको गरुडा नपा–८, जिगडियाका २० वर्षीय विजय रामलाई प्रहरी चौकीमा यातना दिएर मारियो । धनुषामा राजु सदालाई एकान्तबास नामको मृत्युशालामा जीवनजलसम्म नदिएर सुकाएर मारियो । झापाकी चर्चित एथलेटिक्स खेलाडी चन्द्रकलालाई दलित जातिमा जन्मेका कारण कुटपिट र अपमानित गरियो ।

समाजले सहानुभूति र सहयोग गर्नुपर्ने, त्यसको हकदार चन्द्रकलामाथि जातीय हिंसा भयो । दलित भएकै कारण खेलाडी नवराजको रुकुममा हत्या गरियो । चितवनको माडीमा केही वर्षअगाडि बोक्सीको आरोपमा छठनीदेवीलाई ज्यान बचाउन भाग्दै गर्दा लखेटेर घाइते बनाइयो र पिटीपिटी मारियो । त्यसपछि शवलाई आँगनमा पराल बालेर पोलियो । पोलेर चिन्न नसकिने अवस्थामा शव प्रहरीले नियन्त्रणमा लियो ।

धनुषाकै एक इप्रकामा शम्भु सदाको प्रहरीकै यातनाको कारण हत्या भयो । त्यसैगरी निराजन यादवको प्रहरी हिरासतमा यातनाको कारण मृत्यु भयो । यी सबै ‘अमूक रोगी भएकाले उपचारको क्रममा मृत्यु’ भन्ने पूर्वनियोजित समाचार राससलाई दिइयो । कपिलवस्तुमा हालै मुसहरहरू मारिए । यी केही उदाहरण मात्र हुन् । देशका पछिल्ला घटनाहरू, ब्राह्मण जाति नियन्त्रित पार्टीहरू र प्रहरीको रबैया हेर्दा लाग्छ– देशमा राज्य र दलित समुदायबीच गृहयुद्ध चलिरहेको छ । राज्यको तर्फबाट एकतर्फी घटनाहरू भइरहेका कारण यसलाई ‘जातीय सफाया अभियान’ भइरहेको भन्नु उपयुक्त होला ।

चितवनका नागरिकहरूको चेतनास्तर छठनीदेवीको हत्या र रत्ननगरका कोरोना संक्रमितविरुद्ध भएको असभ्य व्यवहारमा उदांगो भएको छ । त्यसैगरी चन्द्रकलामाथि भएको जातीय विभेदकारी व्यवहारले टाठाबाठा भनिएको झापाली समाजको चिरहरण गरेको छ । झापा र चितवनका यी घटनाहरूबाट सभ्य समाज र नागरिकले बुर्का लगाएर हिँड्नुपर्ने अवस्था आएको छ । जब सत्तारुढ पार्टी र त्यसका नेताहरू रामभक्त हनुमान बनेर उभिन्छन्, त्यसपछि पण्डावाद मौलाउनु र राज्यले पण्डावादलाई संरक्षण र प्रोत्साहित गर्नु अनिवार्य बन्दछ ।

झापामा गोरु संरक्षणको नाममा मान्छे मारिएको छ । नेपालको संविधानले सबै जाति र समुदायलाई आफ्नो धर्म र संस्कृति मान्ने अधिकार दिएको छ । गोरुको मासु खानु मुस्लिमको धर्म र हजारौं वर्षदेखि अवलम्बन गर्दै आएको संस्कृति हो । गाईगोरुको मासु खानबाट वञ्चित गर्नु भनेको नेपालको संविधान प्रतिकूल कार्य हो । संविधानसँग बाझिने कानुन खारेज गर्नुपर्छ र खारेज नहोउन्जेलको समयमा निस्क्रिय बनाउनुपर्छ । झापाकै जस्तो घटना २०६७ सालमा चितवनमा हुँदा प्रहरीसँग हामीले छलफल गरेका थियौं । प्रहरीले संविधानअनुसार कानुन नबनेका कारण पुरानै कानुन क्रियाशील भएको बताएका थिए तर आजसम्म पनि श्री ३ महाराजकालीन कानुन यथावत छ र गोरु बचाउन मान्छे मारिने क्रम जारी छ । नेपाल धर्मनिरपेक्ष राज्य भएको हुनाले बहुसंख्यक, अल्पसंख्यकमध्ये कसको पक्षमा राज्य भन्ने प्रश्न आउँदैन । राज्य निरपेक्ष वा तटस्थ रहनुपर्छ ।

व्यवहारमा नेपाल धर्म निरपेक्ष छैन । यो अझै पण्डावाल राज्य रहिरहेको छ । राममन्दिर बनाउँदै हिँड्ने रामभक्त हनुमान प्रधानमन्त्री र मन्दिर–मन्दिर चाहार्दै हिँड्ने धर्मभिरु राष्ट्रप्रमुख भएको देश धर्म निरपेक्ष हुनै सक्दैन । पश्चिमाहरूलाई खुशी पार्न र जनजातिहरूलाई धाप मार्न ल्याइएको धर्मनिरपेक्षताको मर्म ‘उचालेको…’ ले बुझ्ने कुरा पनि भएन । जहाँसम्म जनमतको प्रश्न छ, नेपालमा जनजाति, मुस्लिम र भौतिकवादीहरूको जनसंख्या बहुमतमा छ । यी तीनैथरी गाईको मासु खान्छन् वा खानेप्रति पूर्वाग्रह राख्दैनन् । त्यसैले गाईको मासु खान नदिनु बहुमतमाथि अल्पमतको शासन पनि हो । त्यसैले यो निरंकुश शासन व्यवस्था हो ।

झापाका मुसलमान समुदायले हिन्दूहरूको टोलमा, उनीहरूको आस्थामाथि प्रहार गर्ने गरी अथवा त्यस प्रकारको नियत राखेर गोरु काटेको पनि देखिन्न । कुखुरा र बकरी महँगो हुने तर गाई सस्तो पर्ने, आफ्नो परम्परा पनि भएकाले स्वाभाविक देखिन्छ । त्यसकारण झापाको हत्याकाण्ड गरिबको जिउने अधिकारको हनन पनि हो । झापामा धर्मनिरपेक्ष राज्यको मृत्यु भएको छ । रसिकुल आलमसँगै धर्म निरपेक्ष संविधान पनि मेची किनारमा मरेको छ ।

कांग्रेसका एकजना नेताले झापा हत्याकाण्डलगत्तै विज्ञप्ति जारी गर्दै ‘घटनापूर्वको व्यवहार सुसंस्कृत नभएको’ बताएका छन् । गाईको मासु खानु सुसंस्कृत विषय होइन ? हिन्दु धर्म मान्ने आर्यका पुर्खा (सबै आर्य हिन्दु हैनन् भनिरहनु नपर्ला) गाईको मासु र मदिरा सेवन गर्थे कि गर्दैनथे ? इसापूर्व ४२० मा भारतवर्षका ब्राह्मण संस्कृतिका क्षत्रीय राजा रन्तिदेव आफ्नो अतिथि संस्कारको निम्ति प्रसिद्ध थिए । उनलाई सत्ययुगका १६ जना महान् राजाहरूसरह मानिन्थ्यो । उनै रन्तिदेवको भान्साघरमा हरेक दिन दुई हजारवटा गाई काटिन्थ्यो । गाईको छाला भान्साघरमा राखिन्थ्यो । रगत र मासुको टुक्रा बगेर वरपर पानीका मुहानमा मिसिन्थे । त्यसरी रगतसहित बग्ने नदी (रगतको नदी भनिएको छ) भएको कारण त्यस नदीलाई चर्मन्वती भन्न थालियो । महाभारतको शान्तिपर्व २९–१२३ र वनपर्व २०८/८–१० मा सो कुरा उल्लेख छ । त्यसैगरी ब्राह्मणहरू गाईको मासु खान्थे भन्ने तथ्यलाई बुझ्न महाभारतकै द्रोणपर्व ६७/१–२, द्रोणपर्वकै ६६/१५–१६ र महाभारतकै शान्तिपर्व २७–२८ हेर्दा छर्लंग हुन्छ । रातदिन महाभारतको बखान गर्ने र पूजा गर्ने कांग्रेसी र हनुमानपन्थी वामपन्थी मनुवाहरूले गाईको मासु खाने कुरामा आपत्ति जनाउनु बुझिनसक्नु छ ।

झापा हत्याकाण्डलाई ‘सुसंस्कृत भएन’ भन्नेहरूले आफ्नै पुर्खालाई असभ्य आरोप लगाएर कुन आदर्श स्थापित गर्न खोजेका हुन् ? चुनावको बाकस हेरेर र सुकरातको अवस्था सम्झेर बोल्नेहरूको बुद्धिको बिर्को कहिले नहुने रहेछ ?

यहाँ संस्कृत भाषाका महान् कवि, विचारक (कुनै बेला हद दर्जाका मुख तथा चुल्ठेमुन्द्रे) कालिदास र उनका चेला सुपर्ण यौ धेय –इसापूर्व ४२०) बीचको बहस सान्दर्भिक छ । चेला सुपर्णलाई गुरुको विद्वताप्रति घमण्ड (गर्व) थियो तर राजाप्रतिको दास मनोवृत्तिप्रति घृणा लाग्थ्यो । एक दिन सुपर्णले गुरु कालिदासलाई हजुरले ‘मेघदूत १÷४५’ मा ब्राह्मण–क्षेत्रीयले गाईको मासु खाँदै आएको लेख्नुभएको छ तर आज आफ्नै विकृतिका विरुद्ध किन राजासमक्ष आत्मसर्पण गर्नुभएको ?’ भनी प्रश्न गरेका थिए । त्यसक्रममा कालिदासले ‘गणराज्य जनपरिषद् समय अनुकूल नभएको’ बताएर राजासमक्ष आत्मसर्मपण गरेको स्वीकार गरे ।

त्यसबेलासम्म ऋषि याज्ञवल्क्य, वशिष्ठ, विश्वामित्रलगायतले जनपरिषद्मा चुनाव लड्दै, जित्दै सारा गणराज्य कब्जा गरेपछि पूरै जनपरिषद् कब्जा गरे । त्यसपछि ब्राह्मणवाद लागू गरे । राजाले समेत उनीहरूले भनेको मानेनन् भने धर्मविरोधी आरोप लगाएर बर्खास्त गर्न थाले । ‘वादे वादे जायते तत्वबोध’ समाप्त भयो । आर्यहरू इन्द्र (इन्द्र उसबेला सेना कमाण्डलाई भनिन्थ्यो) भन्दा जनपरिषद्को निर्णय मान्थे । जनपरिषद्मा पूर्ण अभिव्यक्ति स्वतन्त्रता थियो । जनपरिषदले गणराज्य सञ्चालन गथ्र्यो। लोपा पितृ–कुकी युवती गार्गी ब्राह्मणवादरूपी प्रतिक्रान्ति रोक्न शास्त्रार्थमा लड्न तयार भइन् । अन्तिममा ऋषि याज्ञवल्क्य र ऋषिका

गार्गीको बीचमा संघर्ष भयो ।
गार्गी– धरती कसले रचना गरेको हो ?
याज्ञवल्क्य– ईश्वरले रचना गरेको हो ?
गार्गी– ईश्वरको रचना कसले ग-यो ?
याज्ञवल्क्य– सीमा ननाघ गार्गी, शिरोच्छेदन हुनुपर्ला ।

आर्य गणराज्यको जनपरिषदमा जसले बहसमा जित्न सक्छ, उसैलाई गणनायक मानिन्थ्यो तर हार्दै गएका याज्ञवल्क्यले गणराज्यको परम्पराविरोधी बल प्रयोग गर्ने धम्की दिएपछि ऋषिका गार्गी आफ्ना पितासमक्ष सल्लाह गर्न फर्किइन् । आजको हाम्रो समाजमा गार्गीको जस्तो विचार र बौद्धिक क्षमता भएका ऋषिहरूको अभाव छ । किताबी ज्ञान भएका कालिदासहरूले सुतुर्मुर्गले झैं बालुवामा टाउको घुसारेर सुरक्षित महसुस गरिरहेका छन् र देशले झापा हत्याकाण्डका नयाँ–नयाँ अवतारहरू व्यहोर्नु परिरहेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नियुक्ति पाउन समर्थन गर्नैपर्ने नियम : लेखेरै डेपुटी गभर्नरको लाइन
सेनाभित्र दिनकै सय
क्याबिनेटमा प्रधानमन्त्रीद्वारा मन्त्रीमाथि कटाक्ष
कुन कुन क्षेत्रमा अझै कोरोनाको सकस ?