छाउनीले भ्याएन, संक्रमित सैनिकहरु खरिपाटी सारिए !

छाउनीले भ्याएन, संक्रमित सैनिकहरु खरिपाटी सारिए !

कोभिड–१९ को महामारीबाट चिकित्सकसहित विभिन्न दर्जाका नेपाली सेना झन आक्रान्त भई छाउनीस्थित अस्पतालले नधानेपछि खरिपाटीको आइसोलेसन सेन्टरमा सारिएका छन् । लक्षणबिनाको संक्रमण, अर्थात् पिसिआर पोजिटिभ भएका कारण छाउनीस्थित सैनिक अस्पतालको कोभिड आइसोलेसन वार्डमा राखिएका ७० देखि ७५ जना सैनिक भक्तपुर लगिएका हुन् ।

आज कोभिड नेगेटिभ आएकालाई भोलि जाच्दा पोजिटिभ आउने,पोजिटिभवालाको तुरुन्तै नेगेटिभ देखिने समस्या पनि उस्तै छ । त्यहाँ राखिएकामध्ये कसैमा पनि लक्षणसहितको संक्रमण भने छैन । शुरुमा भद्रकालीस्थित सैनिक मुख्यालयमा कार्यरत सानो दर्जाका केही सैनिकमा कोभिड पोजिटिभ देखिएको थियो । विशेषतः चिठीपत्र लिएर जाने,चियापानीको प्रबन्ध गर्ने तहका सैनिकहरु संक्रमित थिए ।

उनीहरु लुकीछिपी घर जाने, साथीभाइसँग भेट्ने कारण संक्रमण भएको सूचना मुख्यालय प्रशासनले पाएपछि कडाइ गरिएको थियो । त्यसपछि १४ दिन काम,१४ दिन क्वारिन्टिन र १४ दिन घर बस्ने नीति आयो, फलस्वरुप कोरोनाको महामारी खासै जंगी अड्डा भित्रिन पाएन ।

कोभिड महामारीकै कारण प्रधानसेनापतिको दुई वर्षे कार्यकाल पुग्ने भदौ २४ को कार्यक्रम पनि प्रभावित भएको छ । हिजो र आजको निम्ति निर्धारित पृतनापति सम्मेलन रोकिएको छ । २४ गते प्रधानसेनापतिले कुनै न कुनै माध्यमबाट आफ्नो दुई वर्षे कार्यकाल पुगेको सन्दर्भमा सम्बोधन गर्ने कार्यक्रम भने रद्द भएको छैन ।

‘मान्छेहरु भेला, जम्मा नगरी कसरी सम्बोधन गराउन सम्भव हुन्छ, हामी त्यो विधिको तयारीमा छौँ’, सैनिक जनसम्पर्क स्रोतले जनआस्थालाई बतायो ।

टिप्पणीहरू