प्रेस सम्मेलन कि कर्मचारी भेला ?

प्रेस सम्मेलन कि कर्मचारी भेला ?

पत्रकार, पत्रकारिता र आमसञ्चार माध्यमको पर्याप्त जानकारी नभएकालाई तालुक अड्डाको जिम्मेवारी दिएपछि त्यो मन्त्रालयको हालत कस्तो हुन्छ होला ? त्यसको उदाहरणका लागि अन्यत्र जानु पर्दैन, हाम्रै सञ्चार मन्त्रालयलाई हेरे पुग्छ । झण्डै छ महिनादेखि सञ्चारमन्त्रीको जिम्मेवारीमा रहेका युवराज खतिवडाले आयोजना गरेका यसअघिका पत्रकार सम्मेलनहरूलाई मात्र ध्यान दिँदा पर्याप्त हुन्छ ।

सरकारको तर्फबाट आयोजना गरिने औपचारिक पत्रकार सम्मेलनको व्यवस्थापन कस्तो हुनुपर्छ भन्ने विषयको सामान्य जानकारी लिन धेरै टाढा जानु पर्दैन । हाम्रै छिमेकका चीन र भारतका विदेश मन्त्रालयमा हुने नियमित पत्रकार सम्मेलनलाई हेरे पुग्छ । जापान,कोरिया,युरोप र अमेरिकाजस्ता विकसित देश र समाजको भन्नै पर्दैन ।

कोरोना र लकडाउनका कारण सबै क्षेत्र अस्तब्यस्त भएपनि सञ्चार क्षेत्र र सञ्चारकर्मीले यसबीच आफ्नो कर्तव्य र दायित्व पूरा गरिरहेका छन् । त्यसमा निजी, सार्वजनिक र सरकारी सञ्चारमाध्यमका सबै खटेका छन् । तर, सञ्चार मन्त्री युवराज खतिवडाले केही महिनादेखि सञ्चालन गर्दै आएको पत्रकार सम्मेलन पत्रकारको नाममा गरिएको नौटङ्की मात्रै हो भन्न हिच्किचाउन पर्दैन ।

उपसचिवले सँधै माननीय मन्त्रीदेखि प्रवक्तासम्मको उच्चारण गरेर औपचारिक
सम्बोधन गरेपछि मात्र खतिवडाले मुख खोल्ने गरेका छन् ।

सञ्चार मन्त्रालयमा आयोजना हुने पत्रकार सम्मेलनको शुभारम्भ र समापन सँधै औपचारिक सम्बोधनबाट हुन्छ । औपचारिकताका भोका अर्थ र सञ्चार तथा सूचनाप्रविधि मन्त्रीको उक्त मोह व्यावसायिकता र सूचना प्राप्तीमा जोड दिने सञ्चारकर्मीहरूको निम्ति  सँधै पेचिलो र बोझिलो हुँदै आएको छ । तरपनि मन्त्रालयका उपसचिवले सँधै माननीय मन्त्रीदेखि प्रवक्तासम्मको उच्चारण गरेर औपचारिक सम्बोधन गरेपछि मात्र खतिवडाले मुख खोल्ने गरेका छन् ।

पत्रकार सम्मेलनमा गैर पत्रकारहरूको मात्र उपस्थिति देखिन्छ । मन्त्रालयका उपसचिवदेखि माथिका सबैजसो अधिकृतहरूको उपस्थिति हुने पत्रकार सम्मेलनमा अधिकांश सरकारी सञ्चार माध्यमका एकाध प्रतिनिधि मात्र एउटा कुनामा बस्छन् । सरकारका प्रवक्ताले एकोहोरो विज्ञप्ति पढेपछि मुश्किलले दोहोरो प्रश्नोत्तरको लागि समय दिइन्छ । यस्तो मौका बिरलै दिइएकोमा सहभागी सरकारी पत्रकारहरू नै गुनासो गर्छन् ।

सञ्चार मन्त्रालयमा हुने पत्रकार सम्मेलन नयाँ शुरुआतको रूपमा तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्री बने लगत्तै थालेका हुन् । उनले नेपाल सरकार,मन्त्रीपरिषद्ले गरेका निर्णय सामान्यतयाः ७२ घण्टापछि मन्त्रालयमा नियमित पत्रकार सम्मलेनमार्फत् सार्वजनिक गर्न थालेका हुन् ।

ढिलै भएपनि उक्त व्यवस्थाले मुलुकको सूचना प्रवाह स्थल व्यवस्थित देखिएको थियो । घुस र कमिशन मोलमोलाईको आरोप लागेपछि बाँस्कोटा सञ्चार मन्त्रीबाट पदमुक्त भए । गत फागुनदेखि सरकारको प्रवक्ता र सञ्चार मन्त्रालयको समेत जिम्मेवारी दिइएपछि पत्रकार सम्मेलनमा उपस्थित हुने काम खतिवडाको भयो ।

तर, पत्रकार, पत्रकारिता र सञ्चारमाध्यमप्रति सँधै नकारात्मक धारणा बनाउँदै आएका खतिवडाले बाँस्कोटाले थालेको एउटा गतिलो कामलाई पनि ‘टेक्नोक्रयाट’ को हिसाबले सञ्चालन गरिदिए ।

टिप्पणीहरू