बिदाइको बेला प्रतिवेदन काटकुट !

बिदाइको बेला प्रतिवेदन काटकुट !

आज शुक्रबार नै अर्थ मन्त्रालयबाट बिदा हुने गरी बिहिबार दिनभर डा. युवराज खतिवडाको व्यस्तता रह्यो । काम थियो, फागुनमै बिदा हुनुपर्ला भनी तयार पारिएको प्रगति प्रतिवेदन काँटछाँट ।

संघीय संसदको सदस्य नरहेको व्यक्ति बढीमा ६ महिनासम्म मन्त्री पदमा बहाल हुन पाउने र त्यसअवधिमा संघीय संसदको सदस्यका रुपमा उपस्थित हुन नसके पद स्वतः निष्कृय हुने संविधानको व्यवस्था छ । डा.खतिवडाको हकमा यही व्यवस्था आकर्षित हुने भएको हो ।

तर,शुक्रबार राति १२ बजेसम्म संविधानतः जीवित रहने उनको पद स्वतः समाप्त हुनुपूर्व नै शुक्रबार कार्यालय समयभित्रै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने तयारी छ ।

राजीनामा दिएलगत्तै आफ्नो कार्यकालभरि भएका कामहरुको प्रगति विवरण सार्वजनिक गर्न बिहीबार दिनभर व्यस्त भएका हुन् ।

हिजो अपरान्ह सत्तारुढ नेकपाको बैठकले राष्ट्रियसभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्न सरकारलाई निर्देशन दिएपछि र उक्त निर्देशन पालना गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता आएपछि डा. खतिवडा पुनः राष्ट्रियसभा सदस्य हुने सम्भावना समाप्त भएको छ ।

फागुनमा राष्ट्रियसभा सदस्यको पदावधि सकिएकै दिन उनले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसबेला उपचारार्थ अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्रीले अस्पतालबाटै उनलाई पुनः अर्थमन्त्रीमा नियुक्त गर्नुभएको थियो । आफू पुनः नियुक्त नभएमा कार्यकालभरिका प्रगतिहरु समावेश गरेर तयार पारिएको एउटा प्रतिवेदन पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने उनको तयारी थियो । तर, मन्त्री पदमा पुनः बहाल भएपछि त्यो प्रगति प्रतिवेदन त्यसै थन्कियो ।

अब भने पद रहने गुञ्जायस समाप्त भएपछि हिजो बिहीबार मन्त्रालयका सचिव, सहसचिव, विभिन्न निकायका महानिर्देशक तथा मन्त्रालयका विभागीय प्रमुखलाई दिनभरि आफ्नै कार्यकक्षमा राखेर फागुनको त्यही प्रगति प्रतिवेदन केरमेट गर्दै मिलाइएको छ ।

सम्भवतः आजै राजीनामाको घोषणासँगै उक्त प्रतिवेदन सार्वजनिक हुँदैछ ।

 

सञ्चारको सल्लाह

उता, माघदेखि सम्हाल्दै आएको सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले पनि डा.खतिवडालाई आजै शुक्रबार बिदा गर्ने गरी बिहीबार दिनभरि विभिन्न तयारी तथा छलफल गरेको छ ।

सञ्चारले बिदाईका क्रममा उनलाई के–कस्तो उपहार दिने ? बिदाईका क्रममा दिइने फ्रेमयुक्त बपत्रमा कस्तो भाषा राख्नेजस्ता विषयमा बिहीबार दिनभर छलफल भएको हो ।

यसअघि सञ्चारबाट बिदा भएका मन्त्रीहरु मोहन बस्नेत, राम कार्की (पार्थ) र गोकुल बास्कोटाहरुको बिदाईमा दिइएका पत्रका भाषाहरु रुजु भइरहेको थियो ।

दोष दिँदै प्रधानमन्त्रीको उत्कट चाहना हुँदाहुँदै पनि पार्टी दबाबका कारण डा.खतिवडाको सांसद पद कायम नहुने भएको हो । तर, डा.खतिवडाको बुझाई भने फरक रहेछ ।

उनले विभिन्न सञ्चारमाध्यमलाई निकटस्थहरुसँग गरेको कुराकानी भन्दै सार्वजनिक गरेको बुझाई कस्तो छ भने, दीपक भट्टलगायतका व्यापारीहरुले आफूलाई अर्थमन्त्रीबाट जसरी पनि हटाउन चाहेका थिए, उनीहरु सफल भए । त्यससँगै उनले दोष लगाएका छन्, पार्टी महासचिव विष्णु पौडेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालहरुलाई ।

तर, प्रधानमन्त्रीको चाहनाका अगाडि यी कुनै पनि पात्रको कुनै भूमिकाले काममा बाधा पुग्ने अवस्था भने छैन ।

टिप्पणीहरू