बेलायतका नेपालीबीच व्युँतियो चार करोडको काण्ड ! « Jana Aastha News Online
Logo
१२ मंसिर २०७८, आईतवार
|  Sun Nov 28 2021

बेलायतका नेपालीबीच व्युँतियो चार करोडको काण्ड !

प्रकाशित मिति :  १९ भाद्र २०७७, शुक्रबार १९:००


कोभिड– १९ को महामारीले सेलाएको गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको झण्डै चार करोड रुपैयाँ घोटाला काण्ड फेरि ब्युँतिएको छ । करिब ६ महिनापछि आइतबार लण्डनमा बसेको संघको कार्यसमिति बैठकमा योगकुमार फगामी नेतृत्वले करिब ४ करोड रुपैयाँ हिनामिना गरेको मुद्दाले प्राथमिकता पाएको हो ।

बैठकमा आर्थिक अनियमितता छानवीन गर्न बनाइएको समितिबारे भने मतमतान्तर भएको छ । एनआरएनए बेलायतका अध्यक्ष पुनम गुरुङले छानविन समितिमा प्रस्ताव गरेका नाममा दुई उपाध्यक्षले फरक मत राखेका छन् ।

अध्यक्ष गुरुङले लेखनाथ पाण्डेको संयोजकत्वमा सदस्यहरु बुद्धि गुरुङ, डा. मुकुन्द बास्तोला सम्मिलित एक छानविन समिति बनाउने प्रस्ताव गरेकी थिइन् । तर, उपाध्यक्षद्वय प्रेम गाहामगर र नारायण कँडेलले उक्त समिति विधानविपरित भन्दै फरक मत राखे ।

कार्यसमितिमा सल्लाह नै नगरी विधानविपरित केही व्यक्तिको नाम प्रस्तुत गरेको उपाध्यक्षद्वयको आरोप छ । उपाध्यक्ष गाहामगर विधानअनुसार लेखा समितिलाई नै छानविन गर्न दिनुपर्ने बताउँछन् ।

’छानविन विधानसम्मत, स्वतन्त्र व्यक्तिबाट र पारदर्शी रुपमा हुनुपर्छ भन्ने मेरो मान्यता हो’, गाहामगरले जनआस्थासँग भने, ’एनआरएनए बेलायत विधानको परिच्छेद १२ को ३३.६ मा लेखा समिति गठनको व्यवस्था छ । लेखा समितिमा अध्यक्ष पदमा पराजित उम्मेदवारसहित कोषाध्यक्ष, संरक्षक र सल्लाहकार एक–एक जना राख्ने व्यवस्था भएपनि त्यसअनुरुप गरिएन । हामीले विधान अनुसार जाऔँ भनेका हौँ ।’

एनआरएनए बेलायत इतिहासमा अघिल्लो कार्यसमितिले गरेको आर्थिक अनियमितता सबैभन्दा विवादित र कलंकित बनेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु