मृतक हजारसम्म पुग्ने अनुमान, जाडोमा झन खतरा !

मृतक हजारसम्म पुग्ने अनुमान, जाडोमा झन खतरा !

समुदायस्तरमा फैलिएको कोभिड– १९ को महामारी नियन्त्रणमा सरकारी तदारुकतामाथि प्रश्न उठिरहेको बेला यसको डरलाग्दो खर्च विवरणले झनै अत्यासलाग्दो स्थिति देखाउँछ ।

पछिल्लो समय काठमाडौं उपत्यका कोरोनाको हटस्पट बनेको छ । उपत्यका बाहिरका मानिसहरु निर्वाध छिरेपछि काठमाडौंका स्वास्थ्य र सुरक्षाकर्मीमा बढी संक्रमण फैलिएको हो । पहिलो लकडाउनसम्म बाहिरबाट आएको संक्रमण कमजोर थियो । अहिले शुरु भएको संक्रमण पहिलाको तुलनामा खतरनाक छ । यो भाइरस हावापानीसँग मेल खाने हुन थाल्यो र मृत्युदर बढ्यो ।

विश्लेषकहरुको अनुमानअनुसार यहाँको संक्रमणको उच्चदर विदेशमा जस्तो हुँदैन । तर, अहिलेको भन्दा पक्कै बढ्छ । प्रधानमन्त्री कार्यालयमा बुझाइएको रिपोर्टअनुसार पहिला सयभन्दा मृत्युदर नजाला भन्ने सरकारी अनुमान थियो । तर, दुई सय नाघिसक्यो । अब हजारभन्दा माथि गएन भने नेपालमा मृत्युदर नियन्त्रणमा रहेको मान्न सकिन्छ । तर, त्यस्तो सम्भावना कम छ । त्यसमाथि विश्व स्वास्थ्य संगठनले असोजदेखि शुरु हुने जाडो याममा संक्रमण चुलिने अनुमान गरेको छ ।

सरकारले साउन मसान्तसम्म कोरोना नियन्त्रणका लागि ११ दशमलव ९८ अर्ब रकम खर्च गरिसकेको छ । तर, जनता अझै उपचार नपाएर मर्नुपर्ने अवस्थामा छन् । वा, निजी अस्पतालमा महंगो शुल्क तिर्न बाध्य छन् । यसरी खर्च भएको रकममध्ये स्थानीय तहमार्फत ६ अर्ब पाँच करोड र सातवटै प्रदेश सरकारमार्फत एक अर्ब ४९ गएको हो । त्यसबाहेकको बाँकी रकम संघीय, अर्थात् केन्द्रीय सरकारले गरेको हो । अत्यावश्यक स्वास्थ्य सामग्री, क्वारिन्टन व्यवस्थापन, पूर्वाधारलगायतका शीर्षकमा ती रकम खर्च भएका हुन् ।

पूर्वाधारतर्फ क्वारेन्टिनका शैया, भेन्टिलेटर, विविध उपकरण खरिदजस्ता काम भएको सरकारी विवरण छ । त्यहीभित्र सर्वसाधारणको क्वारिन्टिनमा बस्दाको खर्च, स्वास्थ्यकर्मीलाई दिने अतिरिक्त रकम तथा आवश्यक सामानमा खर्च भएको जनाइएको छ । यसबाहेक नेपाली सेनामार्फत चीनबाट आयात गरिएको २ अर्ब ३२ करोडको सामान पनि प्रयोग भइरहेको छ । तर, संक्रमण भने दिनदिनै नियन्त्रणबाहिर गइरहेको छ ।

उता, अख्तियार प्रमुख नविन घिमिरेमा देखिएको कोभिड– १९ पोजिटिभ अझै नियन्त्रणमा आउन सकेको छैन । मान्छेमार्फत् संक्रमित भएको तीन दिनदेखि स्वाब संकलन गरिँदै आएकोमा यो पंक्ति लेखिरहँदा १९ औँ दिनपछिको परीक्षण पनि पोजिटिभ आएपछि हिजो थप परीक्षण गरिएको छ ।

२८ गते कार्यकाल सिध्याएर बिदाई हुनुपर्ने र भण्डारखाल जंगलमुनीको आफ्नै घर फर्किनुपर्ने उनी अहिलेसम्म टंगालस्थित सरकारी निवासमा आराम गरिरहेका छन् । ज्वरो, रुघा र खोकी नभएका कारण उनको अवस्थालाई सामान्य मान्न सकिने चिकित्सकहरुले बताएका छन् ।

टिप्पणीहरू