‘तपाईंहरूले फेरि घेराबन्दी गर्नुभयो’

‘तपाईंहरूले फेरि घेराबन्दी गर्नुभयो’

हिजो साँझ दुई घण्टा गोप्य छलफल गरेर आज बिहान बस्ने सचिवालय बैठकमा सबै समस्याको टुङ्गो लगाउने भन्दै नेकपाका दुई जना अध्यक्ष छुट्टिनुभएको थियो । तर आज बिहान १० बजे एकाएक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन थिच्नुभयो ।

प्रचण्डले ‘हेलो, अभिवादन’ नभन्दै प्रधानमन्त्रीले भन्नुभयो ‘तपाईंहरूले फेरि मेराबिरुद्ध घेराबन्दी गर्नुभयो । ठीकै छ, वामदेवजीलाई लैजाऔं । बरु, रामनारायण बिडारीलाई राजीनामा गर्न लगाएर भएपनि युवराज खतिवडालाई लैजानको लागि तपाईंले आवश्यक वातावरण बनाउन पर्यो । त्यसको लागि सचिवालय बैठक दिउँसो ३ बजेसम्म रोकौं ।’

प्रचण्डले थप कुरो भन्न नभ्याउँदै बालुवाटारको फोनमा लाइन काटिएको आवाज आइसकेको थियो । खतिवडा र प्रधानमन्त्रीको लाज जोगाउनैको निम्ति बिडारीको इज्जत फालिदिन पूर्व एमाओवादीहरू कुनै हालतमा पनि अग्रसर नहुने बताइएको छ ।

उता,पार्टीभित्र र बाहिरसमेत चर्को बिरोध र आलोचना भएपछि अर्थमन्त्री खतिवडाले प्रधानमन्त्रीलाई भेटेर आफूलाई राष्ट्रिय सभामा नलैजान अनुरोध गरेको बुझिएको छ । खतिवडाले आफूलाई नियुक्त गर्दा ‘संवैधानिक व्यवस्थाबिरुद्ध हुने आरोप सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा छ्याप्छ्याप्ती भएको,पार्टीका सबै नेता तथा कार्यकर्ताको मुख बोल्न छाडेको र अनेक विषय सार्वजनिक हुन थालेकाले’ यस्तो अवस्थामा पुनः मन्त्रीको कुर्सीमा बसेर काम गर्न गाह्रो हुने बताएका थिए ।

खतिवडाको कुरोले प्रधानमन्त्रीलाई नसोचेको अप्ठेरो मोडमा पुर्याएपछि बिहान एकाएक खुमलटारमा फोन थिचेर गौतमको सम्बन्धमा आफू तयार रहेको जानकारी दिनुभएको हो । हिजो बेलुकीको भेटमा प्रधानमन्त्रीले गौतमलाई राष्ट्रिय सभामा मनोनित हुने चाहना त्यागेर सहयोग गरिदिन हालसम्मकै धेरै अनुनय विनय गरेको बताइएको छ ।

टिप्पणीहरू