वामदेव भोलिसम्म जागा रहलान् ?

वामदेव भोलिसम्म जागा रहलान् ?

राजनीतिमा एउटा मान्यता छ ‘अर्काले चलाउने नेताको कुनै काम छैन’। कर्मचारीतन्त्रमा भने ठ्याक्कै त्यसको उल्टो ‘आफूले होइन अर्काले लाए अह्राएको मान्ने’ हुनुपर्छ । दुई दशक अघिसम्म वामदेव हकी स्वभावका र आत्मनिर्णयमा अडिग नेता थिए । त्यसैले उनी सँधै चर्चामा आएका हुन् ।

गौतमका समकालीन नेताहरुलाई सोधिएको थियो-हिजोका दिनमा वामदेव किन चर्चामा रहे ? किनभने, उनले सबैको मनमा पसेको र बिझेको विषयलाई जोडदार ढङ्गले उठाएका थिए । व्यक्तिगत होइन,समूहको नेतृत्व गरेर एक किसिमले विद्रोह नै गरे । त्यसबेला उनको छवि अन्यायमा परेका नेता, कार्यकर्ता र जनताको आवाजलाई बुलन्द पार्ने नेताको थियो । पार्टी विभाजनजस्तो गम्भीर विषयमा पनि तत्कालीन एमालेको ठूलो पंक्तिले उनलाई साथ दिँदै समर्थन गरेको थियो ।

तर, तिनै वामदेवको पछाडि देखिएको हिजोको भीड आज सीमित व्यक्तिमा रुपान्तरण भएको छ । किन ? उनै समकालीन नेताहरुका अनुसार उनी पछिल्लो केही समयदेखि प्रत्येक क्षण र वाक्यमा आफ्नो लागि मात्रै वकालत गर्दै हिँडिरहेको देखिन्छ । मुख्य कारण यहि हो । उनीसँग  नजिक रहेका भनिएका केही पनि बढारिन थालेका छन् । सरकारले आफू प्रतिकूलका र विगतमा वामदेवसँग नजिकिएका नेता तथा कार्यकर्तालाई बेलगाम पेल्दा पनि गौतम मुकदर्शक हुँदै आएका छन् ।

हुनपनि पछिल्लो दुई वर्षमा देखाएको अस्थीर प्रवृतिका कारण उनी निकै आलोचित भए । आफूसँग निकै घनिष्ठ सम्बन्धमा रहेका कतिपय नेता तथा कार्यकर्तासमेत यसबीचमा टाढिएको पत्तै पाएनन् । कतिपय अवस्थामा पाएर पनि वास्तै गरेनन् ।

उनीहरुका अनुसार गौतमले पछिल्लो समय समूहको वकालत छाडेर व्यक्तिगत स्वार्थको मात्र वकालत गर्नु नै उनको लागि ठूलो भूल बन्यो । हिजो समूहको वकालत गरेका कारण त्यहि व्यक्तिको उचाईले आकाश छोएको थियो । महाकाली सन्धिताका उनले समूह र पार्टीको नै वकालत गरेकाले विरासतको जग बस्यो । तर, गत निर्वाचनमा पराजित भएपछि एकाएक समूहलाई छाडेर व्यक्तिगत स्वार्थ र चाहनाको वकालतमा उत्रिएपछि एक्लिँदै गएको आरोप छ ।

टिप्पणीहरू