सुनको सुई, भित्र अर्कै गाइँगुइँ

सुनको सुई, भित्र अर्कै गाइँगुइँ

सरकारी वकिलको १२ प्रश्न र डिएसपीको बयान– यी दुई कारणले दरबारमार्ग सुनकाण्डको सुई अन्यत्र मोडिन लागेको छ ।

साउन १३ गते दरबारमार्ग प्रहरी बृत्तले साढे १४ किलो नक्कली र आधा किलो सक्कली सुन सुन्धाराबाट बरामद गरेको थियो । तर, प्रहरीको कमजोरीका कारण अभियुक्त भागेको, फिल्डमा खटिएकै प्रहरीको मिलेमतो रहेको, बेलैमा घटनाबारे माथिल्लो तथा निकटस्थ निकायलाई जानकारी नगराएको र घटनास्थल परिवर्तन गरेकोजस्ता आरोप लागेपछि त्यहाँका डिएसपी रञ्जन दाहाल सरुवा भइसकेका छन् । कारोबारीसँग मिलेमतो देखिएका सिपाहीहरु प्रशान्त श्रेष्ठ र बहादुर कठायत अहिले प्रहरी हिरासतमा छन् ।

अहिले काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालयमा यससम्बन्धी छानवीनका कागजात पुगेको छ । तर, प्रहरीले केही जिम्मेवार व्यक्तिलाई जोगाउँदै र केही व्यक्तिलाई नियतवस फसाउने गरी मुद्दा अभियोजन गर्ने नियत राखेको भन्दै सरकारी वकिलको कार्यालयले प्रहरी परिसर, टेकुलाई १२ बुँदे प्रश्न लेखेर पठाएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयका तर्फबाट सुदीप दंगालले यो मुद्दा हेरिरहेका छन् ।
दरबारमार्ग बृत्तबाट तानिएका डिएसपी रञ्जन दाहालले बयानका क्रममा आफूले समयमै मजकुर कार्यालय (टेकु परिसर) लाई घटनाबारे सूचना दिएको बताएका छन् ।

जबकी, उनलाई माथिल्लो निकायसँग समन्वय नगरी काम गरेको आरोपमा त्यहाँबाट हटाइएको थियो ।
सुन ल्याएको बा ६ च ५५११ नम्बरको स्कोर्पियो गाडी कमलादीबाट भागेर सुन्धारातिर लागेछि दरबारमार्ग प्रहरीले सुन्धाराको आकाशेपुल मुनी नियन्त्रणमा लिन त खोज्यो, तर गाडीमा सवार मानिसहरु सुन र पेस्तोल आकाशे पुलमा फ्याँकेर भागे । परीक्षणका क्रममा आधा किलोमात्र सुन भएको प्रमाणित भयो ।

सुन प्रमाणित गराउन टेकु परिसरका प्रमुख एसएसपी श्याम ज्ञवाली आफैँ जानुको कारणसहित दरबारमार्गका डिएसपीले सूचना दिएको कुरालाई नदिएको भनी घटना अन्यत्र मोड्न खोजिएको जस्ता विषयमा सरकारी वकिलको कार्यालयले १२ बुँदे प्रश्नसहितका निर्देशन पठाएको छ ।
घटनामा संलग्न व्यक्तिमध्ये प्रहरीले हालसम्म दुई प्रहरी जवानसहित बाराको निजगढबाट इल्ताफ हुसेन अन्सारी, नवलपरासीबाट निशेश सखिया, देवान पटेल, विजय पटेल र सन्दीप गुरुङलाई पक्राउ गरेको छ ।

तर, मुद्दाको अनुसन्धान प्रक्रियामा प्रहरी संलग्नता र लापरवाही पुष्टि हुने अंगहरुको अभाव भएपछि अनुसन्धान डिएसपीभन्दा माथिल्लो तहका हाकिमतिर तानिने खतरा बढेको सरकारी वकिल कार्यालयस्रोतले जनाएको छ ।

टिप्पणीहरू