चौधरीको होटेलमा स्वाद चाख्दै, पद बाँड्दै

चौधरीको होटेलमा स्वाद चाख्दै, पद बाँड्दै

देशका राजनीतिक दलहरु नेता र कार्यकर्ताले भन्दा व्यापारीले गलाउने अवस्थामा पुगेको कुरा नेकपा विवादका क्रममा राम्रैसँग पटाक्षेप भइसकेको छ । अहिले फेरि देशको सबभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसभित्र व्यापारीहरु सल्बलाउँदा हलचल मच्चिएको छ ।

धन्न कोरोना पोजिटिभ भएर डलर अर्बपति सांसद विनोद चौधरी सेल्फ आइसोलेसनमा गए,नत्र यतिबेलासम्म कांग्रेसको रडाको कोरोना महामारी बिर्साउने तहमा पुगिसकेको हुने थियो । काठमाडौं चर्को लकडाउनमै थियो । सानेपास्थित चौधरीको होटल भिभान्तमा अघिल्लो शुक्रबारदेखि मंगलबारसम्मको ब्रेकफास्ट,डिनर हुँदै लञ्चसम्मका घटनाक्रमले कांग्रेसभित्र तरंग मच्चियो । रामचन्द्रसहित कतिपय शीर्ष नेताहरु कस्तोसम्म भए भने, बोलौँ, जनताले कोरोना छोडेर आफ्नै रडाकोमा लागे भन्लान् भन्ने पीर । नबोलौँ,सहनै नसकिने स्तरको अनैतिक गठबन्धन ।

राष्ट्रपतिदेखि महामन्त्रीसम्म

पाँचमध्येको एक दिन बिहानैदेखि सभापति शेरबहादुर देउवा र महामन्त्री सशांक कोइरालाले ब्रेकफास्टदेखि डिनरसम्म भ्याए । यस्तो गठबन्धन थियो,शेरबहादुर र सशांक मिलाउने । सूत्रधार थिइन्, देउवापत्नी आरजु राणा ।

भिभान्त गठबन्धनमा शेरबहादुरको तर्फबाट लिट्टिल एजल्स स्कुलका साहु उमेश श्रेष्ठ,व्यापारी विनोद चौधरी,मकवानपुरे नेता इन्द्र बानियाँ थिए भने सशांकको तर्फबाट डा.मीनेन्द्र रिजाल,दीपक गिरी र दीपक खड्का देखिए । यी ६ भाइचाहिँ पाँचमा पाँचै दिन भिभान्तमा भेला भए । तर, बीचैमा बिनोद चौधरीमा कोरोना पोजिटिभ देखिएपछि सबै नेता होम क्वारिन्टिनमा छन् ।

यो गठबन्धनले गरेको सहमति यस्तो छ,अबको प्रधानमन्त्रीमा शेरबहादुर, राष्ट्रपति रामचन्द्र पौडेल,पार्टी महामन्त्री आरजु राणालाई बनाउने गरी सभापतिमा सशांक कोइरालालाई समर्थन गर्ने । र,रामचन्द्रलाई सभापतिको उम्मेदवार हुनबाट फिर्ता गर्ने काममा सशांक र डा.मीनेन्द्रले पहल गर्नेसम्म । तर, विमलेन्द्र निधी,शेखर कोइरालादेखि प्रकाशमान सिंहसम्मलाई त्यहाँ वास्ता गरिएन । उनीहरुलाई पनि त्यही सहमतिभित्र ल्याउन सकिने विश्वासका कारण वास्ता नगरिएको एक सहभागी नेताले सुनाए । यसबाहेक अर्जुननरसिंह केसी र कृष्ण सिटौलाका को–को मान्छे यो गठबन्धनमा आउलान् ? तिनका पद व्यवस्थापन कसरी गर्ने ? जस्ता प्राविधिक विषयहरु बुधबारदेखि सल्ट्याउँदै जाने भन्ने कुरा थियो । तर, चौधरीको कोरोनाले सबै कुरा रोकियो ।

यी ६ भाइ पाँचै दिन भिभान्तमा भेला भए । तर, बीचैमा बिनोद चौधरीमा कोरोना पोजिटिभ देखिएपछि सबै नेता होम क्वारिन्टिनमा छन् ।

देउवालाई क्षति

यो गठबन्धनले शेरबहादुरको कोटरीमा केही क्षति पुर्याजसकेको छ । उनी पक्षधर बालकृष्ण खाँण,सुरेन्द्र पाण्डे,भरत शाहहरुले त्यो समूह छाड्ने पक्कापक्की गरेका छन् । कारण हो,सशांकलाई सभापति मानेर जान नसकिने । त्यसो गरियो भने आफूहरुको राजनीति खत्तम हुने हिसाब । किनभने,शेरबहादुरपछि आफ्नो पालो आउला भनेर बसेका नेता हुन् यी । तर,अहिले सशांकको र त्यसपछि आरजुको पालो आउने भएपछि इतिहास, त्याग र भूमिकामा सशांक र आरजुभन्दा पुराना यी र यस्ता अरु थुप्रै मान्छेको राजनीति सहिद हुने भयो ।

सशांकमाथि शंका

भिभान्त गठबन्धनकै प्रभाव देखिएको छ,भुषण दाहालको फायर साइडमा । त्यहाँ सशांकले अघिल्लो महाधिवेशनको ‘थ्री एस गठबन्धन’ स्मरण गरे । त्यो भनेको,सभापतिमा शेरबहादुर,महामन्त्रीमा सशांक,कोषाध्यक्ष सीतादेवी यादव । सशांक पार्टी महामन्त्री निर्वाचित भएपछि आजभन्दा तीन महिनाअघिसम्म शेरबहादुरको विरोधमा उत्रिएनन् । उनका पिए भरत तिवारीनिकटकी सीता देवकोटा बेल्जियमस्थित जनसम्पर्क समितिकी अध्यक्ष थिइन् । शेरबहादुरले सीतालाई हटाएर किरण पौडेललाई केन्द्रीय प्रतिनिधि बनाएपछि बल्ल तीन महिनाअघि शेरबहादुरसँग लिखित असहमति राखे । त्यसबाहेक कुनै विमति राखेनन् । बरु,आफ्नो जिल्ला नवलपरासीमा पूर्वप्रजातान्त्रिकका सभापति सत्यनारायण खनाललाई सांसद नै बनाइदिए ।

अहिलेको भिभान्त गठबन्धनको सम्बन्ध अघिल्लो महाधिवेशनमा बूढानीलकण्ठस्थित पार्क भिलेज होटलमा भएको सहमतिसँग अन्तरसम्बन्धित छ । सुशील कोइरालाको निधनलगत्तै शेरबहादुरलाई सभापतिमा सहमति गरेर सशांक महामन्त्री बनेका थिए । त्यसबेला एकचोटि शेरबहादुरलाई सभापति बनाउने,अर्कोपालि आफू बन्ने भद्र सहमति थियो । शेरबहादुरका भित्रिया मानिने विमलेन्द्र निधी यही घटनाबाट भड्किएका हुन् । अहिलेसम्म देउवासँग कुरा मिल्न सकेको छैन । देउवा हराउनका लागि आफैँ सभापति उठ्ने घोषणा गरिसकेका छन् ।

बोलौँ, जनताले कोरोना छोडेर आफ्नै रडाकोमा लागे भन्लान् भन्ने पीर । नबोलौँ,सहनै नसकिने स्तरको अनैतिक गठबन्धन ।

पत्नी चम्किँदा…

शेरबहादुरको दुःखचाहिँ घरमै छ । आरजु भन्छिन्, ‘तिमी सभापति भए पनि,नभए पनि प्रधानमन्त्री बन्ने हौ । म अहिले महामन्त्री भइनँ भने कहिले हुने ?’ र, यही लाइनअनुसार आरजुका बिजनेश पार्टनरहरु विनोद चौधरी, उमेश श्रेष्ठ र इन्द्र बानियाँमार्फत यस्तो खेलो शुरु भएको बताइन्छ  । यसमा इन्द्र बानियाँबाहेक कोही पुराना कांग्रेस हैनन् । इन्द्र पनि पुरानो कांग्रेस भएर होइन,आरजुका व्यापारिक साझेदार भएरै विश्वासिला बनेका हुन् ।

यो भिभान्त गठबन्धनले कांग्रेसभित्र हलचल त मच्चाइसक्यो । तर, पटाक्षेप हुन बाँकी घटनाचाहिँ के हो भने, विमेलन्द्र निधी, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीहरुले सार्वजनिक रुपमा पार्टी नेतृत्वमा दावी गर्ने । यो तयारी चलिरहेको थियो । तर, भिभान्तमा कोरोना छिर्नाले तत्कालका लागि रोकिएको छ ।

रामचन्द्र रणनीति

सशांकलाई टेष्ट गर्न रामचन्द्रहरुले अहिले अर्को फण्डा झिकेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले विधानविपरित विभिन्न विभागमा गरेका मनोनयन, ज्येष्ठ परिषद् गठनविरुद्ध उत्रिने । अन्तिममा सामुहिक राजीनामासम्मको कुरा गरेका छन् । यसमा सशांक कति सक्रिय हुन्छन् ? रामचन्द्रहरु हेर्दैछन् । यदि उनले यो समूहसँगै राजीनामा दिए भने उनी त्यो गुटमा रहेछन् भन्ने बुझियो । नत्र,सशांकलाई व्यापारीले खाए भनेर बुझ्नुपर्छ भन्नेमा रामचन्द्रहरु छन् ।

टिप्पणीहरू