नबिल र सानिमाको व्यवहार : ठूलालाई चैन, सानामाथि अत्याचार

नबिल र सानिमाको व्यवहार : ठूलालाई चैन, सानामाथि अत्याचार

आफूलाई ठूलो र ‘हाई इन्टिग्रिटी’ बैंकको रुपमा विज्ञापन गर्दै आएका नबिल र सानिमा बैंकले साना र निमुखा ऋणीमाथि गरेको गम्भिर अत्याचारको सूचना बाहिर आएको छ । तर,समग्र बैंक तथा वित्तीय संस्थालाई नियमन गर्ने नेपाल राष्ट्र बैंक भने रमितेको भूमिकामा सीमित छ ।

केन्द्रीय बैंकद्वारा जारी धेरैवटा निर्देशनको प्रतिकूल हुनेगरी यदाकदा कामकारबाही गरेको धेरैवटा बैंकहरुले पुष्टि गरेका छन् । तर, नबिल र सानिमा बैंकले भने आफूलाई फाइदा नहुने देखेपछि त्यस्ता निर्देशनलाई बारम्बार लत्याउँदै आएका छन् ।

पछिल्लो पटक केन्द्रीय बैंकले गत बैशाखमा आफ्ना ऋणीहरुलाई २ प्रतिशत बिन्दूले ब्याजदर छुट दिन निर्देशन जारी गर्दा नबिल र सानिमा बैंकले ठूला व्यवसायी र  व्यापारिक घरानासँग जोडिएको ऋणमा उक्त सुविधा प्रदान गरेपनि साना र मझौला ऋणी कसैलाई पनि तोकिएको सुविधा नदिएको देखिन आएको छ ।

उक्त निर्देशनलाई विशेषगरी नबिल र सानिमा बैंकले लत्याएको उजुरी परेपछि राष्ट्र बैंकले पनि पटक पटक ती बैंकलाई २ प्रतिशत बिन्दू ब्याज छुट दिन लिखित तथा मौखिक आग्रह गरेको थियो । केन्द्रीय बैंकको आग्रहपछि खुशी हुँदै नबिल र सानिमा बैंकमा पुगेका ऋणीहरुलाई ब्याज छुट दिन उनीहरुले आलटाल गरेको बताइन्छ ।

दुबै बैंकका पीडित ऋणीहरुका अनुसार ‘ठूलालाई बैंकले उहिल्यै २ प्रतिशत ब्याज छुट दिइसक्यो । तर, हामीजस्ता साना र कतै पनि पहुँच नभएकालाई  सुको छुट दिएको छैन ।’

केन्द्रीय बैंकले सबै वाणिज्य बैंकलाई चैतदेखि असारसम्म सबै ऋणीलाई २ प्रतिशत ब्याज छुट दिन लिखित निर्देशन दिएकै हो । तर, ती दुई बैंकले चैतको ऋणमा २ प्रतिशत ब्याज छुट दिए पनि त्यसपछि नदिएको ऋणीहरुको गुनासो छ ।

उनीहरुका अनुसार बैशाखदेखि नै १० प्रतिशत ब्याज असुली जारी छ । ‘चैतको ऋणमा ८ प्रतिशत ब्याज लगाएको थियो’ एकजना ऋणीले भने ‘तर,बैशाखदेखि असारसम्मको ऋणमा पुरानै तरिकाले १० प्रतिशत ब्याज ठोकेर लिएको छ ।’

उक्त जानकारी पाउँदासमेत राष्ट्र बैंकले ती बैंकमाथि कारबाहीको सामान्य प्रक्रिया नै थाल्न सकेको छैन । बरु कागजी प्रक्रियामा केही कदम चालेको देखाएर घुमाउरो तरिकाले उनीहरुकै पक्षपोषण गर्न खोजेको आशंका गरिएको छ ।

ऋणीहरुले ‘बैंकर्स संघ र शक्ति केन्द्रको आडमा ती दुई बैंकका सीईओले निमुखामाथि अत्याचार गरेको’ आरोप लगाएका छन् । सानिमा बैंकका सीईओ भुवन दाहाल संघका अध्यक्ष हुन् भने नबिलका सीईओ अनिल शाह भूतपूर्व अध्यक्ष हुन् ।

टिप्पणीहरू