वामदेवद्वारा फेरि राजनीतिमा नयाँ तरङ्ग : जसोतसो राजा हटाइयो तर युवराज ?

वामदेवद्वारा फेरि राजनीतिमा नयाँ तरङ्ग : जसोतसो राजा हटाइयो तर युवराज ?

– श्रीकृष्ण खनाल

नेकपाका अधिकांश नेताले गणतन्त्रका लागि लडे,जेल र नेल पनि भोगे । तर दरबारबाट राजा हटाएपनि नेताको खल्तीभित्रैका युवराजको हकमा भने निरीह बन्दै आएका छन् । उनीहरुले न हिजो पार्टीका लागि कुनै राजनीतिक योगदान गरे न भोलि नै गर्ने सम्भावना छ । तरपनि त्यस्ता कमरेडको खटनपटनमा रहनुपर्दा नेकपाका दिग्गज नेता,मन्त्री तथा माननीयहरू नै बिरालोले दूधको कुँडे कोतरेझैँ भित्रभित्रै मुरमरिएर टुलुटुलु हेर्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेका छन् ।

शीतल निवास र बालुवाटारको मुश्किलले एक किलोमिटर दूरीको मात्र ‘प्यारा’ बनेका अर्थमन्त्री युवराज खतिवडा अर्को कुनै भवितव्य नआए पुनः भदौ २० गतेपछि अर्थमन्त्रीमा कायम रहने संकेत प्रधानमन्त्रीबाट बाहिरिएको छ । यद्यपि आजै वामदेव गौतमले रास्ट्रपतिद्वारा मनोनित गरिने उपल्लो सभाको माननीय पदमा छ महिनाअघि आफ्नो पक्षमा पार्टीले गरेको निर्णय कार्यान्वयन हुनुपर्ने माग हठात प्रस्तुत गरेसङ्गै राजनीति नयाँ ढंगले तरङ्गित हुन पुगेको छ ।

पञ्चायतदेखि बहुदल हुँदै सक्रिय राजतन्त्र र गणतन्त्रसम्मका मालिकको प्यारा बनेका खतिवडालाई दिइएको एकपछि अर्को जिम्मेवारी देखेर नेकपाकै अर्थविद्हरू समेत तीन छक परेका छन् । खतिवडा भने आफूबाहेक यो मुलुकमा अर्थतन्त्र बुझेको अरु कोही नभएको भ्रममा देखिन्छन् । त्यसैले होला शीर्ष नेतृत्वले दिने आर्शिवादका सामुन्ने अरु नेताको गुनासोको सुनुवाई नै नहुने अवस्था बनेको । सरकार गठनलगत्तै अर्थमन्त्रालय सम्हाल्न विद्वान अर्थमन्त्री आएपछि मुलुकको अर्थदिशा सहि बाटोमा जान्छ भन्ने अनुमान र आश सबैले गरेका थिए । तर ‘लङ्का बिग्रियोहनुमानले, नेपाल बिग्रियो अनुमानले’ भनेझैँ यसबीचमा न आर्थिक सूचकाङ्क राम्रा देखिए,न आर्थिक क्षेत्रसँग जोडिएका कुनै पनि पक्ष सन्तुष्ट देखिए ।

सन्तुष्ट शीतल निवास र र बालुवाटार मात्र हो कि भन्ने भानसमेत परेको छ । कुनै कार्यकारण परेको अवस्था आएर मुलुकमा अब योभन्दा माथि लाभको अवसर पाईंदैन भन्ने निश्कर्ष निस्किएमा उनको लागि युएनडीपी,विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको जागिर पक्का जस्तै छ । विगतमा पनि बेतलबी बिदामा युएनडीपीको जागिर खान श्रीलङ्का पुगेकै हुन् । यति हुँदाहुँदै पनि सम्पूर्ण पार्टी पङ्क्ति र जनविश्वास नै गुमाउने गरी किन प्रधानमन्त्री अघि बढ्नु भएको होला ? धेरैले जिज्ञासा राखेका छन् ।

हुनतः अर्थमन्त्री राष्ट्रियसभा सदस्यको पदावधिका लागि गोला थुत्दा दुई वर्षको कार्यकालमा परेका थिए । तर, कि दैव कि प्रधानमन्त्री भनेझैँ प्रधानमन्त्री नै दाहिना हुँदा उनले बोनसको रुपमा छ महिनादेखि अर्थ मन्त्रालयसहित सञ्चारको जिम्मेवारी पाएका छन् । त्यहि छ महिने बोनसरुपी कार्यकाल सकिनै लाग्दा पुनः भएभरको शक्ति र क्षमताको प्रयोग गरी फेरि दुई तिहाइको एकल स्वाद चाख्नु उनको पनि दोष होइन ।

आर्थिक सूचाकाङ्कहरूको ठेली बोक्दै समाजवादको व्याख्या गर्ने नेकपाका बडे बडे नेताहरू नै पार्टीमा योगदान विनाको सबैजसो लाभ लिएर राईंदाईं गरेको देखेपछि भन्न थालेका छन्, ‘राजा त जसोतसो हटाइयो, युवराज हटाउन सकिएन । नेकपामा कहिल्यै गणतन्त्र नआउने भयो ।’

टिप्पणीहरू