युरिया किन्दा फास्फेट मल र साबुन पनि भिडाउदै साल्ट ट्रेडिङ !

युरिया किन्दा फास्फेट मल र साबुन पनि भिडाउदै साल्ट ट्रेडिङ !

विराटनगर , १३ भदौ । खुला प्रतिस्पर्धात्मक बजारको बम्पर योजनामा भनिन्छ , ‘यो लिए त्यो सित्तैमा ।,’ तर समय घर्किसकेपछि बल्ल युरिया मल ल्याएको साल्ट ट्रेडिङ कम्पनीको विराटनगर स्थित कार्यालयले भने युरिया मल खरिद गर्दा सहकारीहरुलाई उल्टै थप नगद लिएर साबुन र माटोमा हाल्ने बेसिजनको ‘फास्फेट’ मल पनि किन्न बाध्य पारिरहेको छ ।

कृषी भूमी तथा सहकारीमन्त्रालयका प्रबक्त्ता राजेन्द्र उप्रेती

सल्ट ट्रेडिङ कम्पनीको विराटनगर स्थित कार्यालयले युरिया किन्दा सहकारीहरूलाई जबर्जस्ती सिंगल सुपर फास्फेट (एसएसपी) मल र भारतमा उत्पादन भएको महंगो मुल्यको सेन्थेटिक ‘सन्तोर’ नामको साबुन पनि किन्न बाध्य बनाइरहेको छ । अनि सहकारीहरुले पनि कृषकहरुलाई खुद्रा वितरण गर्दा जनही युरियासँगै उसैगरि ‘फास्फेट’ मल र साबुन किनाइरहेका छन । साल्ट ट्रेडिङकै कारण खुद्रामा कृषकहरुले प्रतिकेजी १४ रुपैयाको युरिया किन्दा २० रुपैया केजीको एसएसपी मल र ३५ रुपैया गोटा पर्ने दुई वा तीन थान साबुन पनि किन्नुपरिरहेको छ ।

एसएसपी मल र साबुन खरिद नगरे कम्पनीले सहकारीलाई यूरिया मल दिन आनाकानी गर्ने गरेको छ । मल खरिद गर्न आएका मोरङ बुढीगंगाका एक सहकारी सदस्यले भने , ‘ साबुन र फास्फेट मल खरिद नगरे निबेदनमा तोकै लाग्दैन।’

हाल सहकारीहरुले बाध्य भएर ७ सय रुपैया मुल्यको ५० केजीको एक सय बोरा युरिया मल खरिद गर्दा प्रति बोरा ९ सय ६० रुपैया पर्ने ५० केजीको २५ बोरा एसएसपी मल र ७२ पिस भएको प्रति काटुर्न १९ सय ३८ रुपैया पर्ने ५ कार्टुन साबुन पनि कम्पनीबाट किन्न बाध्य भैरहेका छन । एसएसपी मल र साबुन खरिद नगर्ने सहकारीे युरिया मल नै पाउदैनन ।

यता थोकमा खरिद गर्दा एसएपी मल र साबुन किन्न बाध्य भएका सहकारीहरुले खुद्रा वितरण गर्दा कृषकहरुलाई पनि उसैगरि एसएसपी मल र साबुन किन्न बाध्य पार्ने गरेका छन । मोरङको कानेपोखरी स्थित मातृभूमी सहकारीले मंगलबार जनही ११ केजी मल बिक्रि गर्दा प्रति मुल्य ३५ रुपैया लेखिएको दुई वटा साबुन र ४ केजी मुल्य वरावरको एसएसपी मल किन्न बाध्य पारेको थियो ।’

मल खरिद गरेको सहकारीको विल

एसएसपी मल विरगन्जको एक निजी कम्पनीले उत्पादन गरेको डिएपी मल हो । यो मल खनजोत गर्ने बेलामा हाल्नु उयपुक्त्त हुन्छ । साल्ट ट्रेडिङले कम्पनी सँग मिलेमेतो गरेर युरियासँगै एसएसपी मल पनि खरिद गर्न कृषकहरुलाई बाध्य पारेको हो । स्रोतका अनुसार एसएसपी मल विक्रि गरिदिए वापत कम्पनीका कर्मचारीहरुले निश्चित कमिसन पाउने गरेका छन । यसैले साल्ट्र ट्रेडिङ विराटनगरले हाल पुरानो स्टकमा रहेको प्रतिबोरा ९ सय ६०, एक हजार २० र १ हजार ४० रुपैयाँको एसएसपी मल सहकारीहरुलाई खरिद गराइरहेको छ ।

साल्ट ट्रेडिङ क्षेत्रिय कार्यालय विराटनगरका प्रमुख राधेश्याम चौधरीले एसएसपी मलमा सल्फर, क्याल्सियम, फसफोरस, जिंक र बोरोनको मात्रा मिलाइएकोले बाली पनि राम्रो हुने र माटो पनि राम्रो हुने बताउँछन । यसैले युरियासँगै एसएसपी मल पनि हालेमा सन्तुलन मिल्ने भएकोले ईच्छुक सहकारीहरुलाई मल र साबुन लिन आग्रह गर्ने गरेको तर कसैलाई बाध्य पार्ने नगरेको उनले बताए । भने , ‘हामीले कसैलाई पनि जर्बदस्ती एसएसपी मल र साबुन खरिद गर्न बाध्य पार्ने गरेका छैनौ इच्छा हुनेलाई मात्र लान भनेका हौ ।’,

उनका अनुसार साल्ट ट्रेडिङको केन्द्रि नीति अनुसार नै देशभरका कार्यालयहरुबाट युरियासँगै एसएसपी र साबुन बिक्रि भैरहेको हो ।
साल्ट टेडिङ क्षेत्रिय कार्यालय विराटनगर ले मोरङ, सुनसरी, धनकुटा, भोजपुर, संखवुवा र तेह्रथुमा गरि ६ वटा साल्ट ट्रडिङको डिपो र २ सय ६४ वटा सहकारीलाई मल वितरण गर्दै आएको छ ।

ढिलो गरि भदौ दोस्रो साता लागेपछि बल्ल साल्ट ट्रेडिङ विराटनगरमा ३ सय २९ मेक्ट्रिक टन मात्र युुरिया मल आएको छ । सबैलाई मल पर्याप्त नहुने भएकोले तराई क्षेत्रमा प्रति सहकारी १ सय वोराका दरले खटाएर युरिया वितरण गरिरहेको छ ।

मल खरिद गरेको साल्ट ट्रेडिङको विल

धानले गाँज हालिसकेपनि ढिलै भएपनि उत्पादन बढाउन सकिन्छ की भन्ने आशमा कृषकहरु घण्टौ टन्टला पुगेर घामा लाइन लागेर सहकारीले खटाएर दिएको जनही ११ केजी मल खरिद गर्न बाध्य छन । झन त्यही माथि उनिहरुले युरिया मलसँगै एसएसी मल र साबुन पनि पैसा तिरेर किन्नु परिरहेको छ । मंगलबार मातृभूमी कृषक सहकारीले वितरण गरिरहेको मल लिन आएका मोरङ कानेपोखरी ६ का कृषक लालबहादुर सुबेदीले भने , ‘खाए खा नखाए घिच भनेपछि युरिया किन्नकैलागि पनि साबुन र एसएसपी मल पनि किन्न बाध्य भयौ ।’

प्रदेश १ कृषी भूमी तथा सहकारी मन्त्रालयका प्रबक्त्ता राजेन्द्र उप्रेतीले महामारीको समयमा मारमा परेका कृषकलाई माटोमा हाल्ने मल थप मल र बिदेमा उत्पादन भएको साबुन पनि किनाउनु गलत नीति भएको बताए ।उप्रेतीले माटोमा हाल्ने मल पछि गहुँको सिजनमा बिक्रि गर्दा भैहाल्छ अहिलै नै साना कृषकलाई १० केजी युरिया किन्दा अर्को मल र साबुनमा २ सय रुपैयाको भार थप्नु हुदैन भने । उनले गुनासो आएकोले तुरुन्त एसएसपी मल र साबुन किन्न बाध्य नपार्न साल्ट ट्रेडिङ लाई आग्रह गरिसकेको बताए । प्रबक्त्ता उप्रेतीले भने , ‘आग्रह गरेर पनि रोकिएको रहेन छ भने म यसलाई मन्त्रालयको मिटिङमै कुरा उठाउने छु ।’

टिप्पणीहरू