नेपाली मूलका भारतीय शासकहरू

नेपाली मूलका भारतीय शासकहरू

उदयपुरको इतिहास (प्राग ऐतिहासिक कालदेखि वि.स. १९०० सम्म) नामको प्रकाशोन्मुख पुस्तकका केही उदृत अंशहरु :

कौशल चेम्जोङ

पौराणिक ग्रन्थहरूलाई इतिहाससँग तादाम्य मिलाउँदै जाँदा नेपालीले गर्व गर्नुपर्ने कतिपय विषयहरू भारतीयहरूले आफ्नो गौरवको विषय बनाइरहेको देखिन्छ । करिब ७ दशक अघिसम्म विभिन्न राजारजौटाले शासन गरेको राज्यहरूको वर्तमान जोड भारत हो । गोराहरूले गुलामीबाट मुक्ति दिएपछि भारतीयमा राष्ट्रिय भावनाको जग बस्दै गएको हो । जुन पूरा र बलियो भएको छैन । पाकिस्तानदेखि शुरु भएको विखण्डनको शृंखला रोक्दै भारतीयले खालिस्तान र काश्मिरलाई जोगाएका छन् । बोडोल्यान्ड र आसामसम्मका कुरा घरि न घरि उब्जिरहेका देखिन्छन् । र, भारतीय राष्ट्रियताको भावना अहिले क्षेत्रीयवादमा पुगेको अनुभव गर्न सकिन्छ । दक्षिण भारतीयले उत्तर भारतीयलाई हेर्ने दृष्टिकोण, पूर्वीय भारतीयले पश्चिमी भारतीयलाई गर्ने व्यवहारले थोर बहुत यसैतर्फ संकेत गर्छ । यस्तो समस्या झेलिरहेको भारतको पहिचान पनि अरूले नै दिएका छन् । इण्डिया नामले यसैतर्फ संकेत गर्छ । जे होस् इतिहासलाई अध्ययन गर्ने हो भने अहिलेको भारत प्राचीनकालदेखि नै विदेशीको रजगज थलो हो । र, भारतमा नेपालीमूलका पहाडी जातिले पनि शासन गरेका थिए भन्ने देखिन्छ । नन्दवंशी अथवा मौर्यवंशी हुन वा शूङ्गवंशी, यी दुवै प्रख्यात जाति नेपालीमूलका थिए भन्ने पुरातात्विक प्रमाणले संकेत गरेका छन् । र, यो आलेखमा शूङ्गवंशीहरू नेपाली हुन् भन्ने विषयमा चर्चा गरिएको छ ।

कतिपय भारतीय अतिवादी लेखकहरूले तथ्यलाई बंग्याएर प्राचीन भारतको कहलिएका राजवंश र शासक नन्द, मौर्य, शूङवंशीहरू नेपालीमूलका पहाडी (किराती) शासकहरू हुन् भन्ने कुरालाई लुकाउन सक्षम छन् । हजारौं सालदेखि गुलामीको भार बोक्दै हिँडेका इण्डियनले पछिल्लो पटक साम्राज्यवादी गोराहरूको चाललाई विरासतमा लिएर आएको देखिन्छ । त्यसैले मौर्यवंशीलाई भारतीय, बुद्ध भारतमा जन्मेको तथ्यहिन असत्य कुराको पक्षपोषण गरिरहेका छन् । त्यस्तै एकमध्ये हो शूङ्गवंशी भारतीय हुन् भन्ने कुरा ।

शूङ्गकालीन उदयपुर :

भारतको इतिहासमा मौर्यवंशीको पतनसँगै मगधको इतिहासमा शूङ्गवंशी शासकहरू विराजमान भए । शूङ्गवंशीहरूले १८५––७३ इशापूर्वसम्म राज्य गरे । शूङ्गवंशलाई प्रमाणित गर्ने आधिकारिक श्रोतहरूका रूपमा मत्स्य, वायु र ब्रम्हाण्ड पुराण उल्लेखनीय मानिन्छ । त्यसैगरी वाण भट्टको कृति हर्षचरित –जसमा शूङ्गवंशलाई अनार्य र निम्न जाति मानिएको छ), पतञ्जलीको महाभाष्य –जहाँ पुष्यमित्रले यवनहरूलाई पराजित गरेको कथन छ), कालिदासको मालविकाग्निमित्रम् र गार्गी संहितालगायतका कृति हुन् । तेसैगरी पुरातात्विक प्रमाणहरूङ्गले पनि शूङ्गवंशलाई नेपालीमूलको भारतीय शासकको रूपमा प्रमाणित गर्छ । ती मध्ये अयोध्याको लेख एक हो जहाँ पुष्यमित्रले दुई पटक अश्वमेध यज्ञ गरेको उल्लेख छ । त्यसैगरी बेसनगरको गरुड स्तम्भ र भरहुतको लेख हुन् । जसबाट शूङ्गवंशका शासकहरूको बारेमा विभिन्न गतिविधिहरूबारे जानकारी प्राप्त हुन्छन् । र शूङ्गकालका मुद्राहरू पनि कौशाम्वी, अयोध्या, अहिच्छत्र र मथुराबाट प्राप्त भएका छन् ।

किराती हुन् शूङ्गवंशीहरू :
भारतको इतिहासमा विवादित राजवंशमध्ये एक हो शूङ्गवंश । आर्य र अनार्य, हिन्दू र अहिन्दू राजाका रूपमा दावी गरिएको शूङ्गवंशको वास्तविकता चैं के हो ? इतिहासकारबीच मतैक्यता पाइन्न । कसैले शूङ्ग् उज्जैनका हुन र मौर्यवंशको सेवामा थिए भनेका छन् । कसैले इरानी हुन भनेर दावी गरेका छन् । त्यसैगरी कतिपयले आर्य ब्राह्मण त कतिपयले अनार्य भनेका छन् । यो विवादबीच सबैको मतैक्यता के हो भने सम्राट् अशोकको पालादेखि बौद्ध धर्मबाट दीक्षित मौर्यवंशी अन्तिम सम्राट् बृहद्रथको हत्या गरी राजा बनेका सेनापति पुष्यमित्रले घोषित गरेको वंश हो शूङ्गवंश ।

शूङ्गवंशको स्थापना गर्ने श्रेय पुष्यमित्रलाई जान्छ । उनी मौर्यवंशी सम्राट् बृहद्रथको हत्या गरी मगधका राजा भएका हुन् । उनी १८५ इशापूर्वमा राजा भएका हुन् । सम्राट् बृहद्रथको हत्यामा उनलाई तेसबेलाका अन्य भारदारहरूले पनि पूर्ण समर्थन गरेको देखिन्छ । किनकि सम्राट् बृहद्रथको हत्या गर्न सफल भए पनि राजा हुन निकै गाह्रो हुन्थ्यो । मेगस्थनीजका अनुसार मौर्यकालमा समाजलाई सात भागमा वर्गिकरण गरिएको थियो । ती हुन्, एक) ब्राह्मण; दुई) कृषक; तीन) पशुपालक; चार) व्यापारी, मजदूर र कालीगढ; पाँच) सैनिक; छ) निरीक्षक र गुप्तचर; सातौं) मन्त्री तथा सल्लाहकार परिषद । यी सबै तह र तप्कामा मानिसको सहमति बिना एक्लो सेनापति पुष्यमित्रले सम्राट् बृहद्रथको हत्या गरी राज्य सञ्चालन गर्न सहज थिएन । सम्भवतः जैन तथा हिन्दूमतलाई उपेक्षित गर्दै बौद्ध मतले राज्यधर्मको रूपमा मान्यता प्राप्त गर्नु, सम्राट् बृहद्रथमा राजकीय गुणहरूको अभाव हुनु र मगधवासीमा बढ्दो असन्तोषबीच पुष्यमित्रले शूङवंशको जग हालेका हुन् । जसरी आधुनिक कालमा कर्णेल गद्दाफी, जनरल जियाउल हक, इदिअमिन जस्ताले शासन हत्याए । त्यसैगरी पुष्यमित्रले पनि शासनको डोर सम्हालेर शूङवंशको स्थापना गर्न पुगे । र, यो राजवंशको अधीनमा वर्तमान उदयपुरसमेत रहेको अनुमान गर्न सकिन्छ ।

वाणभट्टले आफ्नो कृति हर्षचरितमा शूङ्गहरूलाई अनार्य म्लेच्छ भनेका छन् । दिव्यावदानमा शूङ्गवंशीलाई मौर्यसँग सम्वन्धित मानिएको छ । यहाँ मौर्यहरूलाई पनि अनार्य नैं मानिन्थ्यो भन्ने कुरालाई हेक्का राख्दा राम्रो हुन्छ र मौर्य सम्राट् चन्द्रगुप्तलाई सहयोग गर्ने सूचीमा किराती राजा पर्वतको भूमिकालाई पनि ख्याल गर्न आवश्यक छ । मत्स्य तथा वायु पुराण केवल शूङ्गमात्रै भन्छ । तर पाणिनीले भारद्वाज गोत्रको ब्राह्मण, मालविाग्निमित्रम् ग्रन्थमा बैम्बिक कुलको, हरिवंश पुराणमा कश्यप गोत्रीय द्विज भनिएको छ । करिब करिब त्यसैबेला लेखिएको पुराणमा शूङ्ग मात्रै किन लेखियो ? विचार्नु पर्ने भएको छ । तर, त्यसपछिका अवधिमा तारानाथ, पाणिनीलगायत विद्वान्हरूले किन ब्राह्मण कुलमा जोडे ? गहिरिनुपर्ने हुन्छ । पुराणमा भनिएको शूङ्ग शब्दलाई विश्लेषण गर्दा;

एक) सम्राट् चन्द्रगुप्त मौर्यकैं पालादेखि किरातीहरू मौर्यवंशीको सम्पर्क र सेवामा थिए । किराती राजा पर्वतकले –जसले उदयपुरलगायतका पूर्वी पहाड भेगमा शासन जमाएका थिए ।) नन्दवंशी धनानन्द र मेसोडोनियाका राजा सेक्यूलसविरुद्ध पञ्जावको लडाइसम्म साथ दिए । त्यसैले किरातीहरूको पहुँच मौर्य दरवारमा सहज थियो भन्न सकिन्छ । अर्को कुरा सम्राट् चन्द्रगुप्त मौर्यका गुरु चाणक्यले लेखेको भनिएको कौटलीय अर्थशास्त्रले किरातीहरूलाई सैनिक सेवामा लिनु पर्ने भरपर्दो जातिको रूपमा लिएको देखिन्छ ।१ त्यसैले गर्दा मौर्य सम्राट् बृहद्रथको पालामा किराती पुष्यमित्र सेनापतिको कार्यभार सम्हाल्न पुगे । किराती पुष्यमित्रको वंशजले त्यसबेलासम्म मुन्धुम मतलाई त्यागेर हिन्दूमत ग्रहण गरे । जसले गर्दा अन्य हिन्दू मतालम्वी भन्दा आफूलाई उम्दा सावित गर्न बौद्धधर्मप्रति असहिष्णु व्यवहार दर्शाए । बौद्ध ग्रन्थ दिव्यावदानअनुसार शूङ्गवंशी भएको दावी ठोकेका पुष्यमित्रले बौद्धमतका मौर्य सम्राट् बृहद्रथको हत्या गरेपछि एक जना भिक्षुको टाउको बराबर एक सय दिनारको पुरस्कारको घोषणासमेत गर्न पुगे ।२ तर यो घोषणा सम्पूर्ण बौद्धलाई नभएर राज्यद्रोहको आरोप लागेका वा त्यस्तो कृयाकलापमा संग्लन विद्रोहीलाई मात्रै भएको दावी केही इतिहासकारले गरेका छन् ।

पुष्यमित्रले किन शूङ्गवंशी दावी गरे ? भन्ने प्रश्न र शूङ्गशब्दको उत्पतिबारे चर्चा गर्नुपर्ने हुन्छ । सैनिक सेवामा हुँदा शूङ् नभएका र राजाभएपछि शूङ्गवंशीको रूपमा पुराणमा चर्चा गरिएका पुष्यमित्रको वंश शब्दावलीका आधारमा किराती हुन । आजपर्यन्त किरातीहरूले आफूलाई राजाको रूपमा दावी गर्दा ‘हाङ्’ भन्ने शब्द प्रयोग गर्दै आएका छन् । किराती भाषामा ‘हाङ्’को अर्थ राजा हुन्छ । समयान्तरसँगै ‘हाङ्’ शब्द उच्चारण भेदका कारण ‘शूङ्ग’भएको हुनुपर्छ । त्यसबेला भाषिक आधारमा उच्चारण भेदका कारण हिन्दूलाई सिन्धु, हप्तालाई सप्ताह, होमलाई सोम शब्दका रूपमा उच्चारण गरेको प्रमाणित भई सकेको छ । तसर्थ हाङ शब्द नैं उच्चारणका कारण अपभ्रंश भइ शूङ्ग भनिन थालिएको हो ।

दोस्रो कुरा) आजसम्म ब्राह्मणक्षेत्रीहरूले आफूलाई कुल वा गोत्रको रूपमा चिनाउने गरेका छन् । यसरी हेर्दा शूङ्गजात, वंश, कुल वा गोत्र वा थरको रूपमा कुनै ब्राह्मण देखिदैंनन् । हिन्दू समाजमा गोत्र शब्दले एक प्राचिन पुरुषको अविरल वंश परम्परालाई जनाउँछ, जुन माथिबाट तलतिर क्रमशः अटुट रूपमा बढ्दै जान्छ । अर्थात एक पुरुषको छोरा, नाति, पनाति, खनाति हुँदै हजारौंहजार वर्षसम्म चल्ने वंश पद्धति भन्ने बुझाउँछ । ….एक मुल ऋषिबाट आरम्भ भएर बाजे, बाबु, छोरा, नाति, पनाति हुँदै अघि बढ्ने ऋषिवंश नै गोत्र हो । ३ ४) विद्वानहरूले व्यक्त गरेका र व्यावहारिक रूपमा अस्तित्वमा रहेका मुख्य आठ गोत्रहरूको रूपमा विश्वामित्र, अत्री,आत्रेय, कश्यप, गौतम, जमदग्नि, भारद्वाज र वशिष्ठ देखिन्छ । जहाँ ङ्ग –ङ्ग, लन) अक्षर देखिन्न । त्यसैगरी पछि वंश विस्तारसँगै वृद्धि भएका अन्य गोत्रहरू जस्तै कौशिक, बालिसेट्ला, मिथुनाकुल, इनाकला, अङ्गिरस, धनञ्जय, नागेश्वर, पराशर, वशिष्ठ, हरिनामा, शिवाल, विष्णु, गौतमश्य, मिना, भार्गव, हरितक्ष्य, कौडिण्य, कुत्सास, उप्रेती, गर्ग, गंगाहर, गंगाघर, उपमन्यू, विल्भांगा, मुडिनोला, रोहिल्लास, कामास, पद्माशाली, कुरिया, नइर, विश्वाम्बराहमिन, मुदालिहार, भृगु, मौदगल्य, वत्स र साण्डिल्य देखिन्छन् ।४ ५) यी थप गोत्रमा पनि शूङ्गको कतै भनक पाइदैंन् । त्यसैगरी जात वा थरका आधार हेर्दा पनि ङ्ग जोडिएको जात पाइन्न । बरु मंगोल्वाइड प्रजातिका मानिसहरूमा भने अझै पनि ङ्ग –ङ्) ले नै स्थान पाएको छ । मंगोल्वाइड सूमहका जातिहरूको बाहुल्यता भएको चीन र कोरियालगायत देशका कतिपय जातहरूको अन्त्यमा पनि ‘ङ्’ देखिन्छ । जस्तै किम इल शूङ्ग्, सोङ जोङ्, चीनियाँ याङ् याङ, दासिङ् आदी । नेपाली किरातीहरूको धेरै जसो जातथरमा अन्तिम अक्षर ङ् –ङ्ग) रहदैं आएको छ ।

तेस्रो) पछिल्लो चरणमा एकाएक सम्राट् बनेका किराती सम्राट् पुष्यमित्रलाई आआफ्नो कुल वा गोत्रको दावी गर्न ब्राह्मण विद्वान महर्षिहरूबीच तछाँडमछाड चलेको देखिन्छ । यो तछाँडमछाँडले उनी अनार्य किराती हुन भन्ने कुरालाई नै बल पु-याउँछ । शूङ्वंशी राजाहरूलाई पाणिनीले भारद्वाज गोत्रको ब्राह्मण, मालविकाग्निमित्रम् ग्रन्थमा महाकवि कालिदासले बैम्बिक कुलको, हरिवंश पुराणमा कश्यप गोत्रीय द्विज भनेर दावी गरिएको छ । तेसबेला सभ्य भनिएका ब्राह्मण विद्वानहरूबीच सम्राट् भएका कुलको गोत्रबारे विवाद नहुनु पर्ने हो । राय बाझिएको हिसावमा महर्षिहरूवीच पनि अनार्य किराती सम्राट्लाई आर्य बनाउन र आफ्नो अनुकुल बनाउने होडबाजी चल्यो । तर सेनापति पुष्यमित्रले मौर्यवंशी सम्राट्को हत्यापछि मगधको गद्दी सम्हालेर शूङ्ग–हाङ, जसको अर्थ राजा हुन्छ) दावी गरेपछि पुराणमा शूङमात्रै उल्लेख गरियो । जवकी संस्कृतिका शब्दहरू हेर्दा पनि शूङ्गआयातित शब्दकैं रूपमा देखिन्छ । र किरातीहरूको आज पर्यन्त बोल्ने शब्दहरूको अधिकांश अक्षर ङ्ग हुन्छ । जस्तै हाङ्, पारुहाङ्, लुङ, चोङ, लिवाङ्, निप्शूङ्गआदी ।

पाँचौ) त्यसैगरी किरातीहरूको वंश, पाछा वा थरको अन्त्यमा पनि ङ् अक्षर जोडिएको पाइन्छ । जस्तै चेमजोङ्, बायुङ्, तिलुङ्, जेरुङ, खालिङ, कुलुङ, चाम्लिङ, थुलुङ, वालिङ, तुम्याङ, तुम्वाहाङ, सोताङ, साङपाङ, खेसाङ, छुलुङ, मेवाहाङ, लोहोरोङ, याकक्थुङ, चोङ, नेम्वाङ, मुकारुङ, लाबुङ, बाहिङ, नाछिरिङ, माङपाहाङ, रुङमाङ, रुच्छेनबुङ, आङबुहाङ, अरूमहाङ, आङबुङ, चोङबाङ, छितुङ, इफेङ, हाङबाङ, हाङसेरुङ, तुलुङ, इवाहाङ, जीम्वुकाङ, काङमाङ, कावापुङ, योत्नेहाङ, केरुङ, केयुङ, कुरुम्वाङ, सुहाङ यस्तै मध्ये एक हुनुपर्छ शूङ्ग। आजपर्यन्त किरातीहरूको धेरैजसो थर वा पाछाको अन्तिम अक्षर ङ मा नैं टुंगिदैं आएको पाइन्छ ।

छैठौं) मत्स्य तथा वायु पुराण –जसको आधारमा शूङवंशको जानकारी हुन्छ) मा शूङ्गलाई केबल शूङ्गमात्र उल्लेख गरेकोले पनि किरातीहरूकैं कुनै थरघरभित्रका पाछा हुन भनेर बुझ्न कठिन हुँदैन् ।

सातौं) वाण भट्टले पनि पुष्यमित्रलाई अनार्य वा निम्न जातकै मानेका छन् ।

आठौं) कतिपय विद्वानले शूङ्गवंशीहरू सूर्यपूजक भएकोले इरानी भएको दावी गरे पनि इरानीहरूले तेसबेला मगधको दरवारको प्रमुख पदहरूमा त के, कुनै पनि सेवामा प्रवेश पाएको देखिन्न । र, सेनापति जस्तो पदमा वरपरका रैथाने बाहेक निकै टाढाका इरानीहरू पुग्न सक्षम भएको कुरा पत्यार गर्न ज्यादै कठिन छ । उदयपुरको शीत्तलपाटी–गढी)बाट प्राप्त एउटा इँट पनि सूर्य आकारमा देखिन्छन् । उदयपुरमा महाभारत, रामायण, मुन्धुमलगायतका पौराणिक ग्रथका आधारमा पनि किरातीहरू देखिन्छन् । यस ठाउँबाट प्राप्त इँटले पनि सूर्यपूजक हुने वित्तिक्कै इरानीहरू भएको दावी झुठो ठहर्छ । र, यो इँटले किरातीहरू पनि हिन्दूमततर्फ ढल्किएको संकेत गर्छ ।

नवौं) मगध राज्यको उत्तरतर्फ मिथिला –विदेह, तिरहुत) अनि मिथिलाको उत्तरतर्फ सात किराती राजाहरूको महाभारतकालदेखिकैं राज्य रहेको देखिन्छ । र पछिल्लो समयमा मौर्यवंशलाई स्थापित गर्दै राज्य विस्तार र सुरक्षाको लागि किराती राजा पर्वतकले सहयोग गरेको पनि देखिन्छ । कौटलीयले आफ्नो महŒवपूर्ण ग्रन्थमा किरातीहरूलाई राजाको विशेष सुरक्षाको जिम्मा दिन योग्य र विश्वासिलो सेनाको रूपमा वयान गरेको देखिन्छ । यसले पनि शूङ्गवंशी राजा पुष्यमित्र किराती नै भएको प्रस्ट देखिन्छ । यसको निवारणसँगै शूङ्गवंशीहरूले किन मित्र थर वा जातलाई स्वीकार गरे भन्ने प्रश्नको निरूपण पनि गर्नुपर्ने हुन्छ । त्यसबेला राज्यसत्ता हत्याउनकोलागि सेनापति पुष्यमित्रले हिन्दूमतलाई ग्रहण गरे । राजधर्मको रूपमा रहेको बौद्धमतका विरुद्ध मौर्यकालमा उपेक्षित हिन्दूमतलाई ग्रहण गरेकोले ‘मित्र’ को उपाधिधारण गर्न पुगे वा दिए; जसले गर्दा मित्र शब्द शूङवंशीहरूको थर जस्तै बन्न पुग्यो । उनलाई हिन्दूमतका पक्षधर सबैले सम्राट् बृहद्रथको हत्यामा साथ दिएर मित्रको रूपमा लिए वा व्याख्या गरे ।

शूङवंशीहरू किराती नैं थिए भन्ने कुरालाई पुष्टाइँ गर्नका लागि तल उल्लेखित कुराहरूलाई पनि आधारका रूपमा लिन सकिन्छ ।
एक) आजसम्म ब्राह्मणक्षेत्रीको जात थर, कुल वा गोत्रको अन्तिम अक्षरमा ‘ङ्ग’ अक्षर भेटिन्न् ।

दुई) ब्राह्मणहरू युद्धप्रिय हुँदैनन् । पर्शुराम र कौटिल्यलगायतका एकादुई ऐतिहासिक ब्राम्हण पात्रलाई छोड्दा महर्षि बन्न रुचाउने ब्राह्मणहरूले आफ्नो कर्मलाई अध्ययन, होमादी र पूजापाठमा गर्व गर्दै अन्य जाति र क्षेत्री राजाको गुरुको रूपमा स्थापित गरिसकेका देखिन्छन् । त्यसैले पनि शूङ्गब्राह्मण हुँदै होइनन् । र, भारतीय हुन वा अन्य कुनै देशमा रहेका ब्राह्मणहरू उनीहरूको गोत्र, जाति वा थरपछि शूङ्को ‘ङ्’ झुन्डिएको पाइन्न ।

तीन) ब्राह्मणहरूकैं मिलोमतोमा लागेर हिन्दूमतको संरक्षण गर्नको लागि किराती पुष्यमित्र अघि सरेको बुझिन्छ । उनले त्यसबेला हिन्दूमत ग्रहण गरिसकेका थिए । यदी त्यसो नगरेका भए वा बौद्धमतलाई स्वीकारेका भए उनले सम्राट् बृहद्रथको खुलेयाम रूपमा हत्या गर्न असम्भव प्रतीत हुन्छ । किनकि उनी सेनापति मात्र थिए, मौर्यकालमा देखिएका अमात्यलगायतका अनेकौं शासकीय प्रवन्धले यो कुरालाई स्पष्ट गर्छ । एउटा सेनापतिले मात्रै यो काम गर्न सम्भव देखिदैंन् ।

चौथो) दिव्यावदानमा उल्लेखित मौर्यवंशी नैं मान्ने हो भने पनि उनी अनार्य नै हुन् । ब्राह्मण हुँदै होइनन् । भारतका प्रसिद्ध लेखक विश्वनाथ सत्यनारायणले आफ्नो पुस्तक चन्द्रगुप्तनु स्वप्नमु नामक पुस्तकमा मौर्यवंशीहरूलाई किराती दावी गरेका छन् । यसले पनि एउटा किरातीको दरवारमा अर्को किरातीले पैठ जमाउनु कुनै आश्चर्यको विषय रहेन । र यो भेगमा अनार्य त्यसमा पनि सैन्य जातिको रूपमा किरातीहरू भएको कुरा मगधका लागि तत्कालीन यूनानी राजदूत मेगस्थनीजले इन्डिकामा उल्लेख गरेका छन् ।

पाँचौ) पौराणिक ग्रन्थहरूको अध्ययन गर्दा वा संस्कृत शब्दकोषलाई टटोल्दा केही शब्दहरूमात्रै ‘ङ्ग’ अन्तिममा जोडिएका देखिन्छन् । संस्कृत भाषामा ‘ङ्ग’ पूछारमा आएका शब्दहरू जस्तै श्रृङ्ग, भुजुङ्ग, साङ्ग, लिङ्ग, चतुरङ्ग, षड्ङ्, उत्तङ्ग, मत्सङ्ग, सुराङ्ग, शाङ्ग, गंङ्गा, दिहाङ्ग, स्वङ्ग, भिजङ्ग, उपाङ्ग, बङ्ग, कलिङ्ग, भृङ्ग, द्रङ्ग, भङ्ग, तरङ्गल, मृदङ्ग, अङ्ग, मातङ्ग, भृगुतुङ्गगायतका जस्ता केही संस्कृति शब्दहरू भए पनि कुल, जात, थर, वंश, गोत्रका रूपमा प्रयुक्त भएका शब्द छँदै छैनन् । यीमध्ये केही संज्ञावाचक देखिए पनि जाति वा गोत्रवाचक संज्ञा देखिदैंन् ।

छैठों) कतिपय भारतीय विद्धानहरूले मौर्यकालमा पुरोत्याइको कामले वृति नचल्ने भएपछि ब्राह्मणहरूले सैनिक पेशा गरेका थिए र उनै मध्ये एक पुष्यमित्र शूङ्गभएको दावी गरेका छन् । तेसो हुँदो हो त उनले ब्राह्मण कुल वा गोत्र नैं दावी गर्थे । शूङवंशी उल्लेख गर्नु पर्ने खास कारण देखिदैंन् । किनकि उनी शक्तिशाली शासकको रूपमा देखिन्छन् । जसले बौद्धभिक्षुहरूको एक टाउको बराबर एक सय स्वर्ण मुद्रा दिने घोषणासमेत गरेको दावी वौद्ध ग्रन्थ दिव्यावदानमा गरिएको छ ।

सातौं) मगधको ऋग्वेदकालीन प्राचीन नाम कीकट –किरात) हो र कीकटको राजवंशको रूपमा बलि राजा र उनकै छोराहरूले राज्य बाँड्दा बनेका राज्यहरूको नाम जस्तै अङ्ग, बङ्ग र कलिङ्ग देखिन्छ । यसले पनि मगधवंशीहरू शूङ्गहरू किराती वंशजनैं हुन भन्ने प्रस्ट हुन्छ ।

आठौं) ब्राह्मण समाजमा राजाको पदवी हराए पनि त्यस्तै गोत्र,थर,जात लेख्नेहरू अहिले पनि भेटिनु पर्ने हो । त्यस्तो दावी देखिन्न र लेख्ने चलन पनि छैन् । गौरवका लागि भए पनि शूङ्ग दावी गर्नेहरू निस्किनु पर्ने हो । त्यस्तो केही पनि प्रत्यक्ष प्रमाण ब्राह्मण समाजमा देखिन्न । यसले पनि शूङ्गवंशी पहाडीवासी अर्थात् किरात नैं हुन भन्ने देखिन्छ ।

नवौं) शूङ्ग किराती हुन भन्ने प्रमाणको रूपमा लिच्छविकालीन नेपालको इतिहासलाई पनि लिन सकिन्छ । प्राचीनकालमा वैशालीबाट पलायन भइ आएका लिच्छवि –किरातका सन्तान)हरू केहीको अभिलेख महŒवपूर्ण देखिन्छ । प्रा.डा.जगदीशचन्द्र रेग्मीले ‘लिच्छविकालका तीन अभिलेखहरूमा व्यक्तिनामका अगाडि ‘हूँ’ लेखिएको…हूँ धुवशील र हूँ अणङ्गशील नामका व्यक्ति, हूँ धर्मजीव तथा हूँ हारलम्भहरूलाई पूर्वकालीन ‘किरात’ वंशका परवर्ती उत्तराधिकारीका रूपमा लिन सकिने’ ५ राय व्यक्त गर्नु भएको छ । मेरो ठनाइमा यो हूँ –वा शूङ्ग) अहिलेको हाङ्ग शब्द नैं हो । जसको अर्थ लिम्बू भाषामा राजा हुन्छ । पौराणिक साहित्य र पुरातात्विक लेखनहरूमा ‘ह’ को उच्चारणगत भेद ‘स’ भएबाट पनि यो कुरा नैं पुष्टि हुन्छ । जस्तै हिन्दूको सिन्धु, ह्रह्ृतीको सरस्वती आदि ।
तसर्थ भारतीय इतिहासमा देखिएका शूङ्गवंशीहरू वर्तमान नेपालकैं पूर्वी भेगका किरातीको एक वंश हुन भनेर बुझ्न सकिन्छ । किरातीहरूले सम्पर्क आर्य, द्रविड, यवन, पल्लवलगायतका अन्य समुदायहरूसँग भइसकेको अवस्था थियो ।

राजा पुष्यमित्रको राज्यभित्र पाटलिपुत्र, अयोध्या विदिशा जना महŒवपूर्ण सहरी क्षेत्रहरू थिए भने गंगा र चम्वलका घाटीसमेत सम्मिलित थिए । उनले यवनहरूको आक्रमणको सामना गर्नु परेको थियो । र, उनकै समकालीन महर्षि पतञ्जलीले पुष्यमित्रको निम्ति अश्वमेध यज्ञ समेत गरेका थिए ।६ शूङ्गराजाहरू लडन्तभिड्न्तमा सबैलाई तयार राख्ने, तन्दुरुस्त राख्नु पर्ने मान्यता बोकेकोले गर्दा योगले त्यसबेला उचाइ लिएको देखिन्छ । गार्गी संहिताको हवाला दिएर कतिपय इतिहासकारहरूले यवनहरूले साकेत, पञ्चाल र मथुरासमेत कब्जामा लिएका थिए । तर पछि ढृढतापूर्वक शूङ्गवंशीले पराजित गरेका थिए ।

बौद्धग्रन्थ दिव्यावदानमा उनलाई बौद्धधर्मप्रति अनुदार राजाको रूपमा वर्णन गरिएको छ । एक जना बौद्ध भिक्षुको टाउको काटेर ल्याउनेलाई एक सय दिनार दिने घोषणासमेत गरेको उल्लेख छ । तर कतिपय इतिहासकारहरूले राज्य विप्लवको आरोप लागेका वौद्ध भिक्षु र त्यस्तो भिक्षुको विहारप्रति मात्रै उनी असहिष्णु देखिएको दावी गरेका छन् । यसले पनि त्यो बेला बौद्ध मतमाथि निकै ठूलो आक्रमण भएको देखिन्छ । बौद्धविहारहरू तहसनहस गरे । कतिपय इतिहासकारहरूले शूङ्गवंशको पालामा हिन्दू –वैदिक) धर्म र संस्कृतिको पुरुत्थान भएको दावी समेत गरेका छन् । राज्य धर्मको रूपमा मानिएको वौद्ध धर्मलाई पाखा लगाउँदै हिन्दू धर्मको पुनर्उत्थान गर्न शूङ्वंशी किराती राजाहरूले राम्रो आधारभूमि खडा गरेको भन्न सकिने आधारहरू प्रशस्त छन् । र, उनले पुनः पशुबलीको सुरुवात गरे । उनले करिब ३६ वर्ष राज्य गरे । पुष्यमित्रले इशापूर्व १८५ मा मौर्य सम्राट् बृहद्रथको हत्या गरेका हुन् ।

शूङ्गवंशीय राजाहरूमा पुष्यमित्रले १८५––१४९ इशा पूर्व, अग्निमित्रले १४९ –– १४१ इशा पूर्व, बसुज्येष्ठ १४१––१३१ इशा पूर्व, बसुमित्र १३१––१२४ इशा पूर्व, अन्धक १२४––१२२ इशा पूर्व, पुलिन्दक १२२––११९ इशा पूर्व र घोष, बज्रमित्र र भगभद्र र देवभू–हू)तिले ८३––७३ इशा पूर्वसम्म राजा भए । ‘शूङ्ग साम्राज्यको मुख्य राजधानी पाटलिपुत्र मैं थियो । तर कहिलेकाँही उनीहरू साकेत र विदिशामा बस्दथे । यसको अलावा भरहुत –बघेलखंडको सतना नजिकै), कौशाम्बी, मथुरा र अहिच्छत्रा –उत्तर पञ्चाल देशको राजधानी, बरेली जिल्लाको आधुनिक रामनगर) मा पनि यो वंश शाखाहरूको अथवा उनीहरूको अधीनस्थ स्वतन्त्र राज्यको अस्तित्व देखिन्छ –मेहता,सन् १९४०ः११७)।’

शूङको शासनकालमा उत्तरभारतमा यवनहरूले गरेको आक्रमणको विवरण समकालीन साहित्यमा पाइन्छ ।७ डिमेट्रियस –दिमित) नामका यवन राजा जो पुष्यमित्रका समकालीन थिए । उनले सम्भवतः मथुरा, मध्यमिका –नगरी, चितौडको नजिक) र साकेत –अयोध्या?) माथि आक्रमण गरेका थिए । गार्गीसंहिताकाअनुसार आक्रमणकारी यवनहरूले साकेत –अयोध्या), पञ्चाल र मथुरामाथि अधिकार जमाउँदै पाटलिपुत्रसम्म पुगेका थिए । चारैतिर फैलिएको यवनी आक्रमणले सारा भारतमा भय व्याप्त भएको थियो ।८ तर यवनहरूलाई शूङवंशी राजाहरूले पराजित गरेरै छाडे । नयाँ भूगोल शक्तिशाली सैन्य सामु आक्रमणकारीहरू यवनहरू धेरै दिन टिक्न सकेनन् । महाकवि कालिदासले पनि मालविकाग्निमित्रम्मा शूङ्गवंशी र दिमित –डिमेट्रियस) बीचको लडाइबारे वर्णन गरिएको छ । वास्तवमा शूङ्गवंशीले कुनै उल्लेखनीय काम गर्न नसके पनि यवनी आक्रमणकारीहरूको चंगुलबाट तत्कालीन मगध साम्राज्यलाई अर्थात् पूर्वोतरदेखि पश्चिोत्तर भारतका भूभागहरूलाई जोगाउने सफलता पाए । यो नैं सबैभन्दा ठूलो उपलव्धिको रूपमा इतिहासकारहरूले लिएको देखिन्छ । आक्रमणकारी यवनी सैनिकको नेतृत्व मिनेन्डर –मिलिन्द) र डिमेट्रियस –दिमित) ले गरेका थिए । ‘पुष्यमित्रले आफ्ना छोराहरूलाई साम्राज्यको विभिन्न भागहरूमा सह––प्रशासक –क्षत्रप)को रूपमा नियुक्त गरेका थिए । उनको छोरा अग्निमित्र विदिशाको राजा थिए । धनदेव कौशलको राज्यपाल थिए । राजकुमार सेनाका सञ्चालक थिए । यो समयमा स्थानीय शासन –ग्रामीण भेगको शासन) को लागि साना साना इकाइहरू थिए । यो कालसम्ममा मौर्यकालीन केन्द्रीय नियन्त्रणको नीतिमा शिथिलता आएको थियो भने सामन्तवादी प्रवृति हावी हुन थालेको थियो ।’

‘शूङ्ग साम्राज्यको शासकहरूमा पुष्यमित्रका छोराहरू सरिक देखिन्छन् । यस्तो लाग्छ कि शूङ्गवंशीहरूले मौर्यवंशीको एक राज्य नीतिलाई छोडेका थिए । यो वंशको प्राचीन शाखाहरू प्राचीन जनपदहरूको राजधानीकारूपमा स्थापित थिए जहाँ स्वतन्त्र रूपमा शासन गर्दथे । र, पुष्यमित्रको वंशलाई मुख्य आधार मानेर चलेको थियो –उही)।’ केन्द्रीकृत शासन प्रणालीलाई अस्वीकार गर्दै संघात्मक वा गणतन्त्रात्मक राज्य ढाँचामा शासन गर्ने प्रणाली पुनः स्थापित हुन पुगेको थियो । र यस्तो शासन प्रणाली पूर्वी नेपालमा राजा पृथ्वीनारायण शाहको एकीकरण पूर्वको अवस्थासम्म पनि देख्न सकिन्छ । पूर्वका किरातीहरू आपुङ्गी राजाका रूपमा देखिए पनि चुम्लुङ्गमार्फत् राज्य व्यवस्था चलाइरहेको देख्न सकिन्छ ।

त्यसैगरी उदयपुरलगायतका पहाडी भेगमा पनि स्थानीय किराती हाङहरूलाई शासकीय अधिकार दिएको हुनुपर्छ । यी राजाहरूको पालामा उदयपुरमा शूङ्गवंशी राजाहरूको प्रभाव खासै देखिन्न । आपुङ्गी राजाले नै शासन गरेको हुनुपर्छ ।

किंपुरुष वा यलाखोम –यकृल्लोम) वा काठमाडौं केन्द्रीत तेसबेलाका नेपाली शासकहरूले पूर्वतिर पैठ जमाउन सकेका थिएनन् । इशापूर्वको त्यो समयमा पूर्वतिर किरातीहरूकैं बोलबाला थियो भन्ने प्रमाण भेटिन्छ । अर्कोतर्फ वर्तमान उदयपुर र यसका आसपासका क्षेत्रमा भेटिएका मौर्यकालीन मुद्रा र इँट निर्मित भग्नावशेषहरूको अध्ययनबाट पनि प्राचीन कालमा यो क्षेत्र आवाद रहेको प्रस्ट हुनुको साथै मौर्यवंशको प्रत्यक्ष सम्पर्कमा रहेको थियो भन्न सकिन्छ । पाटलिपुत्र –पटना) वा कुसुमपुरसम्मको दुरीलाई ख्याल गर्ने हो भने पनि त्यसबेला मौर्यकालपछि शूङ्गवंशले अपनाएको शासन व्यवस्थालाई हेर्दा उदयपुरमा सामन्तबाट शासित थियो भन्न सकिन्छ । उदयपुर आजसम्म पनि माझकिरातकैं रूपमा चिनिदैं आएको छ ।

मौर्यवंशको शासनकालमा उदयपुरमा बौद्धधर्मको प्रचार प्रसार भए पनि शूङवंशमा यसले राज्यबाट संरक्षण पाएन । जसलेगर्दा एशिया महादेशभरीनैं फैलिएको बौद्धधर्मको प्रभाव उदयपुरका किरातीहरूमा पर्न सकेन् । बरु विस्तारै वैदिकमतले प्रभावित गर्दै लगेको प्रमाणहरू भेट्न शुरु भएको छ ।

शूङ्गवंशको उत्थान
शूङ्गवंशको बारेमा महŒवपूर्ण जानकारी दिने ऐतिहासिक एवं पौराणिक स्रोतका रूपमा मत्स्य, वायु र ब्रम्हाण्ड पुराणहरू हुन । यसबाहेक महाकवि बाणभट्टको हर्षचरित, पतञ्जलिको महााभाष्य, गार्गी संहिता, मालविकाग्निमित्र, हरिवंश पुराण, दिव्यावदान र थेरावलीलगायतका ऐतिहासिक ग्रन्थहरू हुन् । पुराणहरूलाई आधारमान्दा पुष्यमित्रले शूङ्गवंशको स्थापना गरेको देखिन्छ । उनले मौर्यवंशी राजा बृहद्रथको हत्या गरी सत्ता हत्याएका थिए । यस बाहेक पुरातात्विक रूपमा शूङ्गवंशको अस्तित्वलाई प्रमाणित गर्ने ऐतिहासिक सामग्रीहरूको रूपमा अयोध्याको अभिलेख हो, जहाँ पुष्यमित्रले दुई पटकसम्म अश्वमेघ यज्ञ सम्पन्न गरेको उल्लेख छ । यसैगरी बेसनगरको गरुडस्तम्भको लेखमा शूङ्गवंशको प्रशंसा गरेको पाइन्छ । यसको अलावा पुरातत्वविद्हरूले शूङ्गकालीन मुद्राहरू र मूर्तिकलाहरूको आधारमा यो राजवंशको अस्तित्वलाई प्रमाणित गरेका छन् ।

शूङ्गहरूले यवन आक्रमणकारीसित कडा मुकावला गरी राजधानी पाटलिपुत्र –कुसुमध्वज वर्तमान विहारको राजधानी पटना) लाई जोगाएका थिए । मौर्य साम्राज्यको पतनपछि हिन्दू वा वैदिक संस्कृतिलाई पुनस्र्थापित गर्ने कार्य शूङ्गवंशीहरूले गरेको मानिन्छ । भारतीय इतिहासकाररुले शूङ्गको शासनकाललाई वैदिक पुनर्जागरणको कालको रूपमा लिने गरेका छन् । किनभने जैन तथा वौद्ध मतालम्वीहरूको प्रभावबाट उनले वैदिक संस्कृतिलाई जोगाएको मानिन्छ ।

शूङ्गवंशको पतन :
भारतको पूर्वोत्तर राज्य मगधका शूङवंशका राजा देवभूतिलाई उनकै अमात्य वसुदेवले षड्यन्त्र रचेर हत्यागरेपछि कण्व राजवंशको सुरुवात भयो । कथनअनुसार राजा देवभूति अन्यन्तै विलासी र स्त्रीलम्पट थिए । त्यसैले कामवासनाको जालो फ्याँकेर उनलाई उनकै अमात्यले हत्या गरे । कण्ववंशमा बसुदेवपछि भूमिमित्र, नारायण र सुशर्मा नामका चार जना राजा भए । उनीहरूले इशापूर्व ७५ देखि ३० इशापूर्वसम्म शासन गरे । कण्ववंशलाई कतिपय पुराणमा ‘शूंङ्भृत्य’१० पनि भनिएको छ । यो वंशको समयमा उदयपुरमा राजनीतिक परिपाटी र उदयपुरेहरूको सामाजिक जीवन कस्तो थियो भन्न सकिन्न । तर पनि स्थानीय सामन्तहरू माण्डलिक राजाको रूपमा शासन गर्दथे । किनभने तेसबेला मगध राज्य खुम्चिएर सानो भएको कुरामा इतिहासकारहरूले एकमत व्यक्त गर्दै आइरहेका छन् ।

नेपाली मूलका भारतीय शासकहरू :

 

 

टिप्पणीहरू