गणतन्त्र स्वीकारेका राष्ट्रकवि

गणतन्त्र स्वीकारेका राष्ट्रकवि

कहाँ गइन् रुँदै रुँदै यो गाउँकी नानी
आजभोलि आँशुआँशु त्रिशूलीको पानी (हिमफूल, घिमिरे)

माधव घिमिरे राष्ट्रकवि, हामी अराष्ट्रकविः यस्तो प्रतिक्रिया आएको थियो कविहरुबाट जतिबेला उनले राष्ट्रकविको उपाधि राजा ज्ञानेन्द्रबाट पाएका थिए । विसं २०६० को असोजतिरै हुनुपर्छ उनको राष्ट्रिय अभिनन्दन गर्न मदनमणि दीक्षितको अध्यक्षता समिति नै गठन गरिएको थियो । भूतपूर्व कम्युनिष्ट दीक्षित र घिमिरेको नजीकको साइनो कहाँनेर थियो थाहा छैन, तर दुवै साहित्यकार हुनाको वर्गीय नाता भने थियो । दीक्षित साम्यवाद छाडेर पञ्चायत नीति तथा जाँचबुझ समितिले आयोजना गर्ने प्रवचनमा पनि कुद्न थालिसकेका थिए । बहुदल आएपछि नेपाली काँग्रेसको सरकारका पालामा अर्थमन्त्री महेश आचार्यसँग नाता लगाई उपकुलपति खान गए पनि अवकाशपछि त्यो उपकुलपतित्वकालको सम्झनै गर्न चाहेनन्, अन्तर्वार्ताकारले प्रश्न सोधे पनि त्यो समयलाई बिर्सनोस् सम्म भन्न पुगिसकेका थिए ।

अभिनन्दनयात्रा गरिने भनिए पनि माओवादी जगजगीका बेला खतरा मोलेर कार्यक्रम गर्ने आँट आयोजकमा आएन र नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा थुप्रै सङ्घसंस्था सम्मिलित भएर अभिनन्दन गरियो । त्यसको केही दिनमै उनले राष्ट्रकवि उपाधि पाइहाले मासिक भत्तासहित । यसरी उनले प्रज्ञा–प्रतिष्ठानको आजीवन भत्ता र राष्ट्रकवि भत्ता दुवै पाउने भाग्यमानी साहित्यकार भए । त्यसपछि त झन् सम्मान र पुरस्कारका त ओइरो नै लाग्यो । उमेर सय पुगेपछि पनि पुरस्कार दिइयो । उनी मिडियामा छाइरहे । मिडिया पनि उनलाई खोजीखोजी प्रचारमा ल्याउँथ्यो जन्मदिन र अन्य गतिविधि ।

कहिले ‘ऋतम्भरा’ महाकाव्यको चर्चा चल्थ्यो त कहिले उनी बिरामी भएर अस्पताल भर्ना भएका कुरा । कहिले प्रधानमन्त्रीले त कहिले उपप्रधानमन्त्रीले भेट्थे उनलाई । पञ्चायतमा हुर्केकाले स्वाभाविक रुपले राजतन्त्रवादी हुने भइहाले । केशरजङ्ग रायमाझीदेखि राधाकृष्ण मैनाली को राजावादी भएनन् र ? त्यसकाल र पछि पनि राजारानीको जन्मोत्सवमा, शहीद दिवसमा, प्रजातन्त्र दिवसमा को सरिक भएनन् र? साहित्यकार भनाउँदा कसले भाग लिएन र त्यसकालका कविगोष्ठी, साहित्य सम्मेलन वा प्रतियोगितामा ? राजकीय प्रज्ञा–प्रतिष्ठान को गएन होला युद्धप्रसाद मिश्रबाहेक जो एकेडेमीलाई राजाको तबेला भन्थे ? साहित्यिक प्रतियोगिताका निर्णायक भए होलान् कति वरिष्ठ महानुभावहरु । चौतारीमा राजा भेट्ने क्षेत्रप्रताप अधिकारीको साझा प्रकाशनको नेतृत्वमा कसकसले कति पुस्तक छपाए होलान् ? पहिलेका कुरा गरेर के साध्य ? बिपीले राजा र मेरो घाँटी जोडिएको छ भनेकै हुन् । प्रचण्डले राजा वीरेन्द्रसँग कार्यगत एकता थियो भनेकै हुन् । मदन भण्डारी दरबार गएकै हुन् । नेताहरुले प्रधानमन्त्री बन्न बिन्तीपत्र हालेकै हुन् ।

घिमिरेले पञ्चायतकालमै धेरै वर्ष एकेडेमीको सदस्य, उपकुलपति र कुलपति पाए । कुलपति हुँदा छयालीस सालको आन्दोलनमा राजीनामा दिए । ‘मालती मङ्गले’ लेखेर मञ्चन गराएर रु ४० हजार पाएका थिए क्यारे(गीतिनाट्य टोलीलाई नै हो कि) जसमा राजाको गुणगान गरिएको थियो । घिमिरेले चौतारीमा राजा भेटियो मार्काका कविता र गीत चाहिँ लेखेनन् जस्तो लाग्छ । उनी राजाले विसं २०६१ माघ १९ गते शासन हात लिएकामा ‘निराज’को अन्त्य भएको भनी खुशी हुनेमध्येमा एक चाहिँ थिए ।

भानुभक्त आचार्यले ‘आदिकवि’ पाए नेपाली भाषामा कविताले लेखेकाले । मोतीराम भट्टले ‘युवककवि’ पाए अल्पायुमै गजल र काव्यमा ठूलो योगदान गरी अलप भएकाले । लक्ष्मीप्रसाद देवकोटाले ‘महाकवि’ उपाधि पाए मानिसहरुको हृदय जितेकाले, गोकुल जोशी र दुर्गालाल श्रेष्ठले ‘जनकवि’ पाए जनताका गीत र कविता गाउने भएकाले, सिद्धिचरण श्रेष्ठले ‘युगकवि’ पाए युगको प्रतिनिधित्व गरेका हुनाले । नारायणगोपालले ‘स्वर सम्राट् ‘पाए जनताबाटै । उस्ताद साहिँला, उस्ताद सेतुराम डबलीहरुले स्वतः दिए । धुस्वाँ सायमीले ‘उपन्याससम्राट्’ पाए, ध्रुवचन्द्र गौतमले ‘आख्यानपुरुष‘ पाए, उषा शेरचनले ‘मुक्तक साम्राज्ञी’ पाइन्–यी चाहिँ कतिलाई पच्ला, कतिलाई नपच्ला । लेखनाथ पौडेललाई ‘कविशिरोमणि’ र यज्ञराज शर्मालाई ‘सङ्गीतशिरोमणि’लाई पनि तत्कालीन सरकारहरुले नै उपाधि दिए । नेपाल सरकारले नै दिएको ‘वाङ्मय शताब्दी पुरुष’ सत्यमोहन जोशी सय वर्ष नाघेर अझै ठमठमी हिँड्दैछन् । गोपालप्रसाद रिमाल र भूपि शेरचनले त्यस्तो उपाधि नपाए पनि(रिमाल प्रथम गद्यकविसम्म भनिन्छन्) तिनलाई पाठकहरुले सधैँ सम्झिनै रहन्छन् ।

केही समूहले जबर्जस्ती दिएको उपाधि धेरै नटिक्ने रैछ । जसको क्रियाकलापले राजतन्त्र नै ढल्यो, उनीबाट बक्स भएको ‘राष्ट्रकवि’ चाहिँ अन्त्यसम्म रह्यो, भलै कतिले माने कतिले मानेनन् । जीवनको शतक समयसम्म बाँच्दा पनि उनले हाम्रो प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको प्राप्तिका लडाइँ, स्वतन्त्रता प्राप्तिका सङ्घर्ष, गरीब, किसान, मजदूर, भरिया, ज्यामीहरुका दुःखका सुस्केरा, दलित, महिला र आदिवासी जनजातिका आवाजलाई भने मुखरित गर्न नसकेको यथार्थ हो । अभाव, गरीबी, शोषण, भ्रष्टाचार र विकृतिविरुद्ध कलम चलाउन भने उनलाई गाह्रै प¥यो । बरु महाकवि बन्न ‘ऋतम्भरा’ लेख्नपट्टि लागे । शायद उनलाई लाग्यो होला, जनताका आवाज ओकल्नपट्टि लाग्दा आफूलाई राजनीति गरेको आरोप लाग्न सक्थ्यो, प्रजातन्त्रका पक्षमा बोल्न लागेका भए राजतन्त्रवादीले मान्न छाड्थे । मानौँ, दुई नाउमा खुट्टा राख्न उनलाई कठिन भयो । जे होस्, गणतन्त्र प्राप्तिपछि त्यसलाई सजिलै स्वीकारे, मनुजबाबु मिश्र जस्तो बहुदलीय व्यवस्थापछि गुफा पसेनन् ।

गाउँछ गीत नेपाली, नेपाली हामी रहौँला कहाँ नेपालै नरहे जस्ता राष्ट्रभक्तिका गीत र ‘राष्ट्रनिर्माता’ र ‘राजेश्वरी’जस्तो राष्ट्रिय अखण्डता र देशभक्तिलाई बल पु¥याउने खण्डकाव्य तथा प्रेमप्रणय र प्रकृतिका गीत एवं कविताले भने उनलाई अमर बनाउने भयो । विश्वशान्तिका पक्षमा ‘अश्वत्थामा’ लेखेर नेपाललाई नोबेल साहित्य पुरस्कार प्रवेश गर्ने बाटो खुलाइदिएका छन् । सबै मानिस जीवनमा सबै क्षेत्रमा पूर्ण हुन कहाँ सक्छ र ? बेत्रावती– गोसाइँकुण्डको जनजीवन समेटिएको ‘हिमफूल’ खण्डकाव्य र सत्यबाट विश्व एक हुन्छ भन्ने भाव बोकेको ‘ऋतम्भरा’ महाकाव्यको शीघ्र प्रकाशन बाँचिरहेकाहरुको काम हो ।

‘यो जिन्दगी जति बुझे पनि बुझ्न बाँकी
नौलो कुरा जति सुझे पनि सुझ्न बाँकी’

२०७७ भदौ ९

 

टिप्पणीहरू