शीतल निवासमा नयाँ सुरक्षा सल्लाहकार
राष्ट्रपतिका सुरक्षा सल्लाहकार सेनाका अवकाशप्राप्त तीनतारे जर्नेल नेत्रबहादुर थापाले त्यहाँबाट पनि अवकाश पाएका छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाका साक्खे दाइ हुन् । थापाको अवकाशपछि रिक्त पदमा यहि १५ गते अवकाश हुन लागेका दुई तारे जर्नेल राजेन्द्र कार्कीलाई लैजाने तयारी छ ।
म्याद र लेफ्टिनेन्ट जर्नेलको यौटा दरवन्दी नथपिने भएपछि कार्कीको अवकाश पक्का भएको हो । यसअघि एकतारे हुँदा उनी एक बर्ष शीतल निवासमा समेत खटिएर लुम्बिनी गएका थिए । पहिले पनि खटिएको नाताले अब अवकाशपछि उनलाई नै राष्ट्रपतिको सल्लाहकार बनाउन उपयुक्त हुने निश्कर्ष जङ्गी अड्डाले निकालेको बताइन्छ ।
मेजर जर्नेल रघु भण्डारीले पनि आगामी कात्तिकमा अवकाश पाउँदैछन् । उनलाई युनिफर्म लगाएरै राष्ट्रिय सेवा दलको जिम्मा लगाउने तयारी छ । सेवा दलबाट साठी बर्ष लागेर रमिन्द्र क्षेत्रले अवकाश पाएका छन् । हालका प्रधान सेनापतिको गुड बुकमा अनन्त कार्की र प्रेम शाहीको पनि नाम छ ।
उता,सेनापतिका सैनिक सचिव विनयबिक्रम राणालाई पश्चिम पृतना पोखराको पृतनापति वा खरिद हेर्ने बिभाग सम्भारको रथी बनाइने सम्भावना बढेको छ । यसअघि रघु भण्डारीलाई पनि पृतनापतिमा नखटाई सम्भारमा राखिएको थियो । सम्भारमा राखेपछि हाकिमलाई सेनाको ठूलो परिमाणको खरिदमा प्रत्यक्ष संलग्न हुने अवसर मिल्छ । त्यसैगरी प्रेम शाहीले दुई तारे पाउनासाथ सेनापतिपछिको शक्तिशाली अपरेसन बिभाग डिजिएमओ सम्हाल्ने मौका पाएका थिए । प्रवन्ध रथी अशोक सिग्देललाई समेत पृतना जान परेको थिएन ।
टिप्पणीहरू