सम्धीको साइनो र नेकपाको न्याय

सम्धीको साइनो र नेकपाको न्याय

हाम्रो समाजमा पहिलेदेखि सम्धी भेटलाई ठूलै सामाजिक इभेण्टको रूपमा लिइन्थ्यो । तर,सम्धी भेटलाई पार्टीभित्रको अवसर र आदान प्रदानमा अचेल वामपन्थी नेताहरूले राम्रै चलखेल गरिदिएपछि अरुले कुरीकुरी भन्न थालेका छन् ।
हिजो सोमबार राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त भएका डा.उपेन्द्रकुमार कोइराला एकजनाको मात्रै नभएर हिजोका दिनमा एमालेको र आज नेकपाकै सम्धी पो हो कि भन्ने भान पर्न थालेको छ । एकपछि अर्को ‘नन् स्टप’ नियुक्तीले कोइरालाई महाप्रबन्धक, क्याम्पस चीफ, उपकुलपति र कार्यकारी अध्यक्षभन्दा पनि ‘महान् सम्धी’ को रूपमा चिनाएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी कोइरालाले पछिल्लो साँढे दुई दशकमा मुश्किलले नौ महिना मात्र खालि हात बस्नु परेको छ । गत असोजदेखि अस्ति साँझसम्म सरकारी नियुक्ती नपाएपछि छटपटाएका कोइरालालाई वाणिज्य बैंकको अध्यक्ष बनाउने मन्त्री पोखेरलको चाहनालाई अर्का पोस्यपुत्र मन्त्री युवराज खतिवडाले प्रस्ताव गरेर सहजीकरण गरिदिएका हुन् ।

रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी कोइरालाले पछिल्लो साँढे दुई दशकमा मुश्किलले नौ महिना मात्र खालि हात बस्नु परेको छ ।

कोइरालाले सबैभन्दा पहिले एमालेको नौ महिने शासनकालमा खाद्य संस्थानको महाप्रबन्धक नियुक्तिबाट सरकारी स्वाद चाख्न थालेका हुन्  । नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले भनेझैँ पूर्वका यी कोइरालाले पनि त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।

त्यसपछि उनी महेन्द्र मोरङ्ग क्याम्पस,बिराटनगर र डिग्री क्याम्पस बिराटनगरको क्याम्पस चीफ बने । पछि मालदार भनेर चिनिएको नेपाल आयल निगमको कार्यकारी अध्यक्षको नियुक्ति उछिट्याए । ह्वाईट हाउस कलेजको सल्लाहकार रहेका उनलाई उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्ष बनाइयो । ह्वाइट हाउस कलेजका हर्ताकर्ता युवराज शर्मा स्वास्थ्य सामाग्री खरिदसम्बन्धी टेण्डरमा सर्वाधिक विवादित ओम्नी समूहसँग जोडिएका पात्र हुन्  ।

कोइरालाले सरकारी नियुक्ति लिने प्रक्रिया यत्तिमै सीमित बनेन । उनी गत असोजसम्म मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति थिए । मुलुकले प्रकाण्ड विद्धान डा. कोइरालाको सेवा गत असोजदेखि गुमाइरहेको थियो । यसबीचमा महान् सम्धीको इमेज बनाएका कोइराला असोजदेखि खाली हात बसेको देखेर पार्टीका नेता,कार्यकर्तादेखि टोलवासी र नातेदारसमेत चकित थिए । तर, ती सबैको कौतुहलतालाई असफल बनाउँदै हिजोदेखि उनी सरकारी राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त भएका छन् ।

मुलुकले प्रकाण्ड विद्धान डा. कोइरालाको सेवा गत असोजदेखि गुमाइरहेको थियो ।

यसखाले प्रधानमन्त्री र सरकारको पछिल्लो कार्यशैलिप्रति अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई चार घण्टाको निम्ति क्षुब्ध हुनुभएको बताइएको छ । खुमलटार स्रोतका अनुसार दाहालले यसबीच प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी, युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा कल्याण रोक्का र रेल्वे कम्पनीको जिएममा गुरु भट्टराईको नियुक्तिलाई गम्भीर रूपमा लिएको छु भन्नुभएको थियो ।

सरकारी नियुक्तिमा कस्ता नेता तथा कार्यकर्तालाई कुन ठाउँमा तोक्ने भन्ने कुनै मापदण्ड नहुनु  र एउटै मान्छेलाई लगातार सर्वत्र डुलाउनुले सरकारी नियुक्ति कसै कसैको लागि ‘लुटको धन फुपुको श्राद्ध’ झैँ भएको छ । कुनैपनि खाली पद देख्नै नहुने र एउटै व्यक्ति अझ पाएसम्म आफ्नैलाई लपक्क गराउने निरन्तरको क्रियाकलापलाई हेर्दा प्रधानमन्त्रीमा अंग्रेजी शब्द ‘लुक्रेटिभ’ को प्रभाव मज्जैले परेको हो कि भन्ने बताइन्छ ।

टिप्पणीहरू