कालो मृत्यु जसले जन्मायो क्वारेन्टिन « janaaasthanews
४ आश्विन २०७७, आइतबार

कालो मृत्यु जसले जन्मायो क्वारेन्टिन



‘सबैको अनुहारमा मृत्युको भय थियो । प्रत्येक घर शोकमा डुबेको थियो । मरिने पक्का भो भन्ने सबैले थाहा पाइसकेका थिए तर पनि सबै झाँक्री, वैद्यकोमा दौडिरहे । सबै यस्तो उपायको खोजीमा थिए ताकि निश्चित भइसकेको मृत्युलाई छल्न सकियोस् । यसक्रममा कतिले रोगबाट बचिन्छ कि भनेर पारो निले । यसरी पारो निल्नेहरुको मृत्यु तुरुन्तै भयो । धेरै जनाले झ्याल र छतबाट हाम्फालेर मृत्युवरण गरे । कतिपय महिलाले घाँटी थिचेर आफ्नै सन्तानको ज्यान लिए । धेरै जना रोगले मरिरहेका थिए भने कतिपयचाहिँ डरले ज्यान फालिरहेका थिए । शुरुमा त शव संकलन गर्ने नगरका कर्मचारीले घरघर, दैलोदैलोमा गएर लाश संकलन गरे, पछि रोग र रोगको भयले सताउन थालेपछि कर्मचारीको अभाव खट्किन थाल्यो । यसपछि नगरको दृश्य झन् भयावह बन्यो । लाश घरको कोठाकोठा र सडकमै कुहिन थाल्यो ।’

मृत्युले ताण्डव खेलेको यो दृश्य इंग्ल्याण्डको राजधानी लण्डनको हो । सन् १६६५ मा फैलिएको प्लेगको महामारीलाई आफ्नै आँखाले देखेका लेखक ड्यानियल डिफोले उक्त वर्णन गरेका हुन् । लण्डनमा यो ताण्डव १८ महिना चल्यो । एक लाखको ज्यान गयो । त्यसबेला लण्डनको जनसंख्या जम्माजम्मी ४ लाख थियो । मेमा देखापरेको यो रोगले सोही महिना ४३ जनाको ज्यान लियो । जुनमा ६ हजार १ सय ३७, जुलाइमा १७ हजार ३६, अगस्तमा ३१ हजार १ सय ५९ । यसरी नै महामारीको रुपमा फैलिँदै गयो । हरेक चार/पाँच दिनमा प्लेग नयाँ घर पस्थ्यो । पूरै परिवारलाई ग्रस्त पाथ्र्यो । तत्काल नगरपालिकाले उक्त घरलाई सिल गथ्र्यो । एक हप्ताभित्र त्यो घरका सबै मानिस लाशमा परिणत भइसक्थे । रातिको समय रेडक्रसको भ्यान लाश लिन पुग्थ्यो । भ्यानमा नअटेर गोरु गाडामा लादी प्लेगका रोगीहरुको लागि भनेर छुट्याइएको शमसानघाटमा लगेर गाडिन्थ्यो ।

त्यो बेला बेलायतमा चाल्र्स (द्वितीय) को शासन थियो । राजा चाल्र्स पनि परिवारलाई लिएर लण्डनबाट भागे । कुलिन घरानावालाले राजाको पछि लागेरस लण्डन छाडे तर गरिब जनता भागेर कहाँ जानु ? साधन कहाँ पाउनु ? अंग्रेज लेखक स्यामुयल पेपेले त्यो बेला लण्डनका सुनसान सडकहरुबारे सविस्तार वर्णन गरेका छन् । प्लेगको प्रकोप लण्डनमा मात्र सीमित भएन । बेलायतका अन्य क्षेत्रलाई पनि जकड्यो । योर्क शहर पनि नराम्रोसँग प्रभावित भयो । नगरका चिहानहरु भरिभराउ भएपछि लाश शहरबाहिर पठाउन थालियो ।

बेकवेलबाट ६ माइलउत्तरको गाउँ इयाम । त्यो बेलासम्म यो गाउँलाई प्लेगले छोइसकेको थिएन । एकदिन गाउँ प्रवेश गर्ने एकजना यात्रीले साथमा कपडा राखिएको बाकस ल्याए । बाकसमा प्लेग सार्ने उपियाँ (मुसामा लाग्ने उपियाँ) थियो । लगत्तै गाउँमा महामारी फैलियो । केही दिनमै ८० प्रतिशत मानिस सखाप भए । अन्त पनि यसरी नै फैलियो । जब लण्डनमा शरद ऋतु शुरु भयो, तब चिसोले रोग सार्ने उपियाँ बच्न सकेनन् । अनि मात्र मर्नबाट बचेका बेलायती जनताले शान्तिको सास फेर्न पाए ।

प्लेगको प्रकोप यसअघि युरोपमा सन् १३४७ मा फैलिएको थियो । यो प्रकोप सर्वप्रथम एशियाबाट शुरु भएर इटलीको सिसिलीस्थित मेसिना बन्दरगाहमा प्रवेश ग¥यो । ‘पेरसिनिया पेस्टिस’ नाउँको जीवाणुको कारण फैलिएको थियो । यो जीवाणु मुसाबाट उत्पत्ति भई झिंगामा र झिंगाबाट मानिसमा संक्रमण भएको थियो । सन् १३४७ को अक्टोबरमा मेसिना बन्दरगाहमा १२ वटा पानीजहाज आएर रोकिए । भित्र हेर्दा विभत्स दृश्य देखियो । अधिकांश यात्रुको मृत्यु भइसकेको थियो ।

मृत्युलाई झेलिरहेका जीवित यात्रु पनि रगत र पीपले बनेको कालो फिंजमा पुरिएका थिए । ती जहाजमा रहेका मुसा पछि शहरभित्र पसे । र, महामारीको रुप लियो । लण्डन, भियनालगायत युरोपका प्रायः शहरलाई यसले आफ्नो काबुमा पा¥यो । यो प्लेग सन् १३४७ देखि १३६५ को बीचमा ४० पटक महामारीको रुपमा युरोपभर फैलियो । यसले त्यो बेलाको युरोपको २० प्रतिशत जनसंख्याको ज्यान लियो । संसारभरिमा २० करोड मान्छे मरे । पछि यो महामारी युरोप पार गरी चीन र भारतसम्म र एशिया माइनर तथा उत्तरी अफ्रिकासम्म फैलियो ।

विश्वमा पटक–पटक यो रोगले प्रकोप फैलाइसकेको भए पनि रोगको उत्पत्ति कसरी भयो र रोकथामको उपाय के हो– कसैले थाहा पाएका थिएनन् । बल्ल कसैले रोगीको नजिक नगएमा रोग नसर्ने रहेछ भनिदिएपछि इटलीका भेनिसियन भाषा बोल्नेहरुको नियन्त्रणमा रहेको रसुगा शहरले पानीजहाजबाट शहर पस्ने यात्रुलाई बिरामी नभएको प्रमाणित नभएसम्म ३० दिन एकान्तमा बस्नुपर्ने नियम बनाइदियो । पछि ३० लाई बढाएर ४० दिन पारियो । अहिले नेपाललगायत विश्वमा फैलिरहेको कोरोना महामारीमा सबैको मुखमा झुण्डिएको ‘क्वारेन्टाइन’ शब्द यहींबाट प्रचलनमा आएको हो । भेनिस शहरका बासिन्दाको भाषामा ४० को अर्थ क्वारन्ट जोर्नी हो । ४० दिनलाई इटलियन भाषामा क्वारन्ता भनिन्छ । पछि यसलाई अंग्रेजीमा क्वारेन्टिन वा क्वारेन्टाइन भन्न थालियो । कालो मृत्युको रुपमा फैलिएको प्लेगको संक्रमणबाट बच्न पहिलोपटक इटलीले क्वारेन्टाइनको व्यवस्था गरेको हो भन्न सकिन्छ ।

युरोपमा त्यसबेला फैलिएको प्लेगको महामारीबारे विश्वप्रसिद्ध साहित्यकार अलबेयर कामुले पुस्तक नै लेखेका छन्, ‘दि प्लेग ।’ सन् १९४७ मा प्रकाशित यो पुस्तकमा उनले घटनाको केन्द्रविन्दु अल्जेरियाको शहर ओरानलाई बनाएका छन् । फ्रान्सेली भाषामा प्रकाशित यो कृति उनको लेखन कलाको अमूल्य निधि हो ।

मुसाको शरीरमा हुर्कने किटाणुबाट प्लेग रोग सर्छ । बिरामीको थुक र श्वासप्रश्वासमार्फत अर्को व्यक्तिमा संक्रमण हुन्छ । न्युमानिक प्लेगले स्वासप्रश्वासमा गाह्रो हुने र खोकी लाग्छ । बुबोनिक प्लेग लागेमा ‘लिम्फ’ ग्रन्थी सुन्निन्छ र ज्वरो आउँछ । विश्वमा प्लेगको महामारी जति पनि फैलियो, अधिकांश बुबोनिक हो । अस्ति जुलाइमा मात्र चीनको भित्री मंगोलियाअन्तर्गत बायान्नुरमा बस्ने दुई जनामा बुबोनिक प्लेग देखा परेको छ । एक जना १५ वर्षका हुन् । लगत्तै अमेरिकाको कोलोराडोस्थित लोखर्केमा पनि बुबोनिक प्लेग देखा परिसक्यो । आज पनि प्रतिवर्ष प्लेगका दुई हजार घटना विश्वमा घट्ने गरेका छन् ।

विश्वमा तीनपटक यसले महामारीको रुप लिइसकेको छ । पहिलोपटक सन् ५४३ मा सम्राट जस्टिनियन (प्रथम) को समयमा फैलिएको थियो । यसको उद्गम स्थल मिश्रको प्रसिद्ध व्यापारिक केन्द्र प्लसियम थियो । महामारी अफ्रिका हुँदै रोमन साम्राज्यमा फैलियो । सिरिया र कन्स्टान्टिनोपलबाट बिस्तारै एशिया र युरोपभरि फैलियो । यो महामारी ५० वर्षसम्म चल्यो । यस अवधिमा प्लेगकै कारण १० करोडले ज्यान गुमाए । दोस्रो महामारी सन् १३४७ देखि १३६५ सम्मको हो । र, तेस्रो सन् १८६६ मा दक्षिण चीनको युन नान्फु उद्गम स्थल बन्यो । सन् १८९४ मा चीनको क्वान्टोन र हङकङमा फैलियो । १८९५ मा भारत पुग्यो । १८९५ मा मुम्बई र १८९६ मा कोलकातामा मृत्युको ताण्डव मच्चायो । त्यसबेला मुम्बईको जनसंख्या ८ लाख थियो । मुम्बई त्यो बेलाको प्रमुख बन्दरगाह शहर ।

भारतमा ब्रिटिशको शासन थियो । बेलायतले १३ औं शताब्दी र १६ औं शताब्दीमा प्लेगको महामारी भोगिसकेको थियो । त्यसैले नगरपालिका स्तरमा रोकथाम समिति निर्माण गरियो । प्लेग रोगीको खोजी गरियो । तर पनि रोग नियन्त्रणमा आएन । शहरमा भयावह स्थिति सिर्जना भयो । नागरिक शहर छाडेर भागे । राजनीतिज्ञहरु पनि पलायन भए । बल्ल १८९८ मा रोगमाथि नियन्त्रण शुरु भयो । तर, पनि सन् १९२० सम्म प्लेगकै कारण १ करोडको ज्यान गयो । यसपछि पनि हरेक १०÷१५ वर्षमा भारतमा प्लेगको महामारी फैलिने गरेको छ । पछिल्लोपटक भारतको सुरतमा सन् १९९४ मा प्लेग महामारीको रुपमा फैलिएको थियो ।

आजभन्दा ५ हजार वर्षअघि अर्थात् इशापूर्व ३००० तिर दक्षिण चीनको हेमिन मंघा र मियाओजिगोयुमा महामारी फैलिएको इतिहास छ । सो महामारीले त्यस क्षेत्रको सम्पूर्ण बस्ती नाश पारेको थियो । महामारीको कारण चिहान बन्न पुगेको सो स्थान अहिले विश्व सम्पदा सूचीमा छ । तर, त्यो बेला फैलिएको महामारी प्लेग नै हो भन्ने यकिन नभए पनि इशापूर्व ४३० मा एथेन्समा ५ वर्षसम्म आतंक फैलाएको र एक लाख मानिसको ज्यान लिएको महामारी भने प्लेग नै थियो । सन् ५४२ मा युरोपमा जस्टिनियन प्लेग फैलिनुअघि सन् १६५ देखि सन् १८० सम्म रोमको एन्टोनाइमा पनि प्लेग फैलियो । यसमा पनि ५० लाखको मृत्यु भएको थियो ।

प्लेग संसारभरि फैलिसकेको छ । समयक्रममा यसबाट कुनै देश अछुतो रहेका छैनन् । यतिखेर भने संसारभरि कोरोना महामारी फैलिएको छ । ९ महिनाको अवधिमा यसले पनि ७ लाख ७० हजारको ज्यान लिइसकेको छ । रोगबाट संक्रमित हुनेको संख्या २ करोड १७ लाख पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नियुक्ति पाउन समर्थन गर्नैपर्ने नियम : लेखेरै डेपुटी गभर्नरको लाइन
सेनाभित्र दिनकै सय
क्याबिनेटमा प्रधानमन्त्रीद्वारा मन्त्रीमाथि कटाक्ष
कुन कुन क्षेत्रमा अझै कोरोनाको सकस ?