रत्नराज ग्लोबलमा, गभर्नर तनावमा

रत्नराज ग्लोबलमा, गभर्नर तनावमा

६८ बर्षका रत्नराज बज्राचार्य ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिको अप्रत्याशित समाचारले होम क्वारेण्टिनमा बस्दै आएका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई नसोचेको तनाव दिएको छ । अधिकारीले गत बैशाखमा बज्राचार्यलाई ठूला बैंकहरूमा रहेको क्रस होल्डिङ्ग (एउटै व्यक्ति वा व्यापारिक समूहको लगानी रहेको) सम्बन्धमा सुक्ष्म अध्ययन गरिदिन अनुरोध गरेको उच्च स्रोतको दाबी छ ।

उनले गभर्नर बनेलगत्तै जतिसक्दो छिटो पहिलो चरणमा बैंकहरूबीच बीग मर्जर प्रक्रियालाई टुङ्गोमा पुर्याउने उद्देश्य राखेका थिए । त्यसको लागि लामो समयदेखि गुरुसरह पुज्दै आएका बज्राचार्यलाई आफ्नै कार्यालयमा भेटेर क्रस होल्डिङ्गको बारेमा सुक्ष्म र गोप्य अध्ययनका लागि अनुरोध गरे ।

यसअघि वाणिज्य बैंकहरूबाट प्राप्त विवरण र बज्राचार्यले तयार गर्ने अनौपचारिक प्रतिवेदनको आधारमा बीग मर्जर सम्बन्धमा नयाँ नीति बनाउने गभर्नरको सोच थियो भन्न सकिन्छ । सोहीअनुरूप चालु आर्थिक वर्षको मौद्रिक नीतिमा उनले बीग मर्जरको बारेमा स्पष्ट धारणा उल्लेख गरेका छन् । जसमा एक कार्यकालको लागि सीईओको तोकिएको उमेरहद लाग्ने छैन ।

उक्त व्यवस्था पहिलो प्राथमिकताको रूपमा रणनीतिक दृष्टिकोणले रत्नराज र नेपाल बैंकप्रति नै लक्षित थियो । तर, अन्य वाणिज्य बैंकमा जो कोहीलाई गैह्रकानुनी तवरले सीईओ बन्नको लागि नभएको स्रोतले बताएको छ । बजारमा उमेर नाघेका तर बैंकको सीईओ बन्न लायक स्वतन्त्र बैंकर यतिखेर कोहिपनि देखिँदैनन् ।

गभर्नरले मर्जरपछि मुलुकमा वाणिज्य बैंकहरूको संख्या १२ देखि १५ मा झार्ने लक्ष्य लिएको देखिन्छ । त्यस्तो अवस्थामा आगामी पुसभित्र नेपाल बैंकमा ‘आक्रामक’ सीईओको रूपमा बज्राचार्यलाई नियुक्त गराउने योजना गभर्नरले नै बुनेको स्रोतको दाबी छ । त्यसैले उनको बुढ्यौली उमेरलाई ध्यानमा राख्दै गभर्नर अधिकारीले मौद्रिक नीतिबमोजिम साउन १२ गते जारी गरिएको निर्देशनमा ‘छुट्टै व्यवस्था’ गरिदिएका हुन् ।

निर्देशनको छुट्टै व्यवस्थामा ‘..२०७८ असार मसान्तभित्र गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरू एकापसमा गाभ्ने वा गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा एक पटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त वा पुनः नियुक्त हुन बाधा पर्ने छैन’ भनिएको छ ।

विगतमा डेपुटी गभर्नर हुँदा बैंकको नियमन विभागमा रहेर सहयोग पुर्याएका तत्कालीन निर्देशक वासुदेव अधिकारी यतिखेर नेपाल बैंकको अध्यक्ष छन् । बज्राचार्यलाई गत वर्ष नेपाल बैंकको सीईओ बनाउन उनले निकै पहल गरेका थिए । उनको पहलको बारेमा गभर्नर पनि अनभिज्ञ थिएनन् । बिग मर्जरपछि बज्राचार्यलाई नेपाल बैंकको सीईओ बनाउने गभर्नरको मनसाय पनि अर्का अधिकारीले पहिल्यै थाहा पाएको अड्कल लगाइएको छ ।

‘आफू ताक्छ मुढो, बञ्चरो ताक्छ घुँडो’ भनेभैँ बज्राचार्य गभर्नरको चाहना, अपेक्षा र राष्ट्र बैंकको पछिल्लो निर्देशन विपरित हुनेगरी एकाएक ग्लोबल आईएमई बैंकको सीईओमा नियुक्त भएको खबर सार्वजनिक भयो । ‘नेपाल बैंकले वर्षभरि दिने तलब, भत्ता र सुविधा उता एक महिनामै पाइने भएपछि उनी ग्लोबल जानु कुनै नौलो विषय नभएको बज्राचार्यसँग ठूलो अपेक्षा राखेकाहरूले बुझ्नुपर्ने’ एकजना पूर्व गभर्नर बताउँछन् । उनी भन्छन् ‘थोरै तलब, धेरै लफडा, राजनीतिक दबाब र कर्मचारी युनियनको दबदबा भएको संस्थामा बज्राचार्यले अरुचि राख्नु स्वाभाविक हो ।’

सबैभन्दा पहिले नेपाल बैंकमा अन्य दुईवटा वाणिज्य बैंक मर्ज गराउने र त्यसपछि सरकारको स्वामित्व क्रमशः कम गर्दै सकेसम्म शून्यमा झार्ने योजनामा छन् ।

सरकारी बैंकहरूबाट थप प्रभावकारी सेवा प्रदान गर्न गभर्नरले छुट्टा छुट्टै कार्यक्रमको घोषणा पनि गरेका छन् । कृषि विकास बैंकलाई कृषिमा लगानीको निम्ति मुख्य बैंक (लिड बैंक) बनाउने बताइएको छ । गभर्नर सबैभन्दा पहिले नेपाल बैंकमा अन्य दुईवटा वाणिज्य बैंक मर्ज गराउने र त्यसपछि सरकारको स्वामित्व क्रमशः कम गर्दै सकेसम्म शून्यमा झार्ने योजनामा छन् । त्यसपछि सरकार नियन्त्रित वाणिज्य बैंकको रूपमा राष्ट्रिय वाणिज्य बैंक र कृषिको लिड बैंकमा कृषि विकास बैंक बनाउने सरकारको झैँ गभर्नरको पनि चाहना हो ।

गभर्नरलाई बधाई दिन चैत अन्तिम साता कृषि विकास बैंकका अध्यक्ष तथा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला आफनो गाडीमा नेपाल बैंकका अध्यक्षलाई समेत राखेर भैंसेपाटी पुगेका थिए । कृषि विकास बैंकलाई लिड कृषि बैंक र नेपाल बैंकलाई बीग मर्जरमा लगेर रत्नराजलाई सीईओ बनाउने विषय त्यहि भेटमा चुहिएको बताइन्छ ।

ग्लोबल बैंकमा बज्राचार्यको गैरकानुनी प्रवेशले सरकारी बैंक र पब्लिक बैंकमा देखिने व्यावसायिकताको ठूलो अन्तरलाई पनि उदाङ्गो पारेको छ । अध्यक्ष अधिकारी पहिलेदेखि नै नेपाल बैंकको लागि प्रभावकारी र काबिल सीईओको खोजीमा थिए । त्यहि क्रममा गत वर्ष सीईओ बनाउन अधिकारीले गरेको पहल रत्नराजको उमेरले तुहिएको थियो । मर्जरपछि उनैलाई नेपाल बैंकमा लैजान गभर्नरले गरेको नीतिगत व्यवस्थाको बारेमा अधिकारी अनभिज्ञ थिए भनेर विश्वास गर्न सकिँदैन ।

तिनै बज्राचार्य एकाएक गैह्रकानुनी तरिकाले ग्लोबल बैंकको सीईओ बनेलगत्तै उनै अधिकारीले सामाजिक सञ्जालमा बधाई दिँदै खँदिलो स्टाटस् लेखे । अधिकारीले सामाजिक सञ्जालमा लेखेको स्टाटसमा भनिएको छ ‘हामी सबैका गुरु, बैंकिङ्ग क्षेत्रका अगुवा, नित्य ऊर्जाशील व्यक्तित्व रत्नराज बज्राचार्यज्यूलाई ग्लोबल आईएमई बैंकको सीईओको नयाँ जिम्मेवारीका लागि हार्दिक बधाई तथा शुभकामना ।’

एक वर्षअघि आफूले आग्रह गरेको व्यक्ति प्रतिस्पर्धी बैंकमा गैह्रकानुनी तरिकाले सीईओ बनेपछि सामाजिक सञ्जालमा लेखिएको शालिन शब्द र वाक्यले अधिकारीको महानतालाई झल्काउँछ । तर, उनको बैंकमा नियुक्त सीईओलाई ग्लोबललगायत अरु २५ वटा प्रतिस्पर्धी बैंकका अध्यक्ष वा सीईओले त्यसैगरी बधाई दिए वा भविश्यमा देलान् ? पक्कै पनि दिँदैनन् । किनकि त्यहाँनेर उनीहरूको संस्थागत र अरबौंको व्यावसायिक स्वार्थले रोक्छ ।

–  द्रव्य शाह

टिप्पणीहरू