गणतन्त्रको गलगाँड, खै त मुखमा माड !

मानिसको धोखाधडीमा आजित जंगली जनावरले जंगलमै विद्यालय खोल्ने निर्णय गरेछन् । चरो, माछा, खरायो, कुकुर, लोखर्के र मन्द मस्तिष्क भएको इल (सर्प आकारको माछा) विद्यार्थी थिए । पाठ्यक्रम बनाउन एउटा कमिटी गठन गरियो । उड्ने, रुख चढ्ने, पौडी खेल्ने, खन्ने जस्ता विषय सबैका लागि अनिवार्य गरियो । जब चरो खन्नका लागि अग्रसर भयो, उसको चुच्चो र पखेटा भाँचियो । अन्तत ः फेल भयो । रुख चढ्न र पौडी खेल्न त्यसै पनि दुर्लभ छँदै थियो । लोखर्के रुख चढ्न उत्कृष्ट खायो । अरू विषयमा गोलखाडी गयो । माछा पौडिन सफल भए पनि पानीबाट बाहिर निस्कन नसकेकाले सबै विषयमा निष्फल भयो ।

कुकुर स्कुल नै भर्ना भएन । तोकिएको फी पनि तिरेन । बरु भुक्ने कला पनि कोर्समा समावेश हुनुपर्ने माग गर्दै विद्यालय प्रशासनसँग झगडा गर्न थाल्यो । खरायो रूख चढ्ने कोसिसमा पछारिँदा पछारिँदा दिमागी सन्तुलन गुमाउन पुग्यो । आफू निपुण रहेको खन्ने कामबाट समेत हात धुनुप¥यो । ऊ कुनै विषयमा पनि सफल भएन । विधिको विडम्बना, सबै कुरा गरेजस्तो गर्ने तर प्रोफाइलमै नरहेको मानसिक रूपमा कमजोर इल कक्षाकै उत्कृष्ट विद्यार्थी ठहरियो । विद्यालय व्यवस्थापन आफ्नो ऐतिहासिक निर्णयमा मख्ख प-यो ।

बैंक भनेको त्यस्तो ठाउँ हो, जहाँ बादल लागेको बेला छाता दिइन्छ र पानी पर्दा फिर्ता मागिन्छ ।समस्याको जड पढे लेखेका सभ्य, शिक्षित मानिसबीच छ तर हामी राउटे र चेपाङ बस्तीतिर कुद्न छोड्दैनौं ।

तन, मन, जन टुटेको नेपाल कम्युनिष्ट पार्टीलाई फेभिकोल लगाउन बनाइएको कमिटीले केपी ओलीलाई यो शताब्दीकै युगपुरुष घोषणा गर्दै उनकै छत्रछायाँमा पार्टीका सम्पूर्ण तह र तप्कालाई बिन्तीपत्र भई पूर्ववत सेवाभावमा लाग्न निर्देश ग-यो भने आश्चर्य नमाने हुन्छ । निर्णयको त्यो पुर्जामा दश औंला मात्र नभई आवश्यक परे बीसै औंलाको छाप लगाउन प्रचण्ड, माधव नेपाल र झलनाथ तयार भए भने त्यो समाचारले पानीको फोका बराबरको महत्व राख्ने छैन ।

प्रतिस्पर्धा समान योग्यता, दक्षता र क्षमताको हुन्छ । जब ओलीले दिएको हात थापेर खाने हैसियत अरू नेताको बन्छ भने त्यो प्रतिस्पर्धा नभएर बर्बराहट हो । समकालिन नेताहरूमा प्रतिशोध साँध्न नामी कहलिएका ओलीसँग अहिले साम, दाम, दण्ड, भेद चलाउने हैसियत छ भन्ने बिर्सनु हुँदैन । उनीसँग विधिको सन्दर्भ उठाउनु भैंसीलाई बिन बजाएर आकर्षित गर्न खोज्नुजस्तै हो । प्रचण्ड, माधव नेपाल, झलनाथ खनालहरूका लागि भोलि पाउने मुजुरभन्दा आज आफूसँग रहेको परेवा जोगाउनु नै बुद्धिमानी हो । बर्दी खोसिएको एउटा सिपाहीले भोग्ने सामाजिक अपमान कति अत्यासलाग्दो हुन्छ भने यो त हिमालदेखि फेदीसम्म शासन जमाएको पार्टीमा नेता हुनुको रस अर्कै हुन्छ । सूर्यबहादुर थापाजस्तो घाघडान नेता एउटा क्लबजस्तो पार्टीमा सीमित हुँदा उनले कमाएको राजनीतिक उचाई नै पुड्को देखिएको इतिहास यी नेताको नाममा नजोडिएकै बेश होला ।

भागवत गीताले खबरदारी लगाउँदै भनेको छ– ‘मैले आज यति पाएँ, पछि यति पाउनेछु, अहिले मसँग यति छ पछि अरू थपिन्छ, मैले यो शत्रु मारें, अरू पछि मार्छु भन्ने, मै मालिक हुँ, मै भोग गर्ने हुँ, सिद्ध पनि मै हुँ, बलवान मै हुँ, सुखी पनि म नै छु, कुलीन धनवान मै हुँ, मेरो बराबर को छ र ? पुज्छु, दिन्छु, मोज गर्छु भन्ठान्ने मूर्खहरू राक्षसी श्रेणीमा जन्मेका नीच हुन् ।’ नेताहरूले बुझ्नुपर्छ– संसारको सर्वाधिक ठूलो औषधि सन्तुष्टि, ठूलो सम्पत्ति बुद्धि, शक्तिशाली हतियार धैर्य र उत्तम सुरक्षा विश्वास हो । यो कुनै पार्टी कार्यालय, सिंहदरबारमा नभएर प्रकृतिमा निशुल्क पाइन्छ । तर शक्ति, सत्ता र द्रव्य आर्जनका लागि प्रदूषणसँग सम्झौता गर्नुपर्छ ।

विश्वविख्यात हलिउड अभिनेत्री मर्लिन मुनरोले भनेकी थिइन्– ‘आत्मा साक्षी राखेर भन्ने हो भने म कयौं फिल्मी निर्माताहरूसँग सुतेकी छु । यदि यो कुरा इन्कार गरें भने भूटो हुनेछ । अभिनेत्री बन्न अभिनय, कौशल, प्रतिभा र परिश्रम त हुनैपर्छ तर निर्माताहरूसँग रात बिताउनाले फिल्ममा प्रमुख भूमिका पाउन मद्दत मिल्नेछ । जब मैले मोडलिङको काम शुरु गरें, यौनसम्बन्ध मेरो पेशाको अभिन्न अंग बन्यो । सबै केटीले त्यो गर्नुपथ्र्यो । नत्र अन्य पच्चिसौं केटी त्यो ठाउँ लिन तयार हुन्थे । निर्माताले फिल्मको कुरा गर्न बोलाउँदा फिल्मबाहेक अरू पनि स्वार्थ हुन्छ ।’ मुनरोको यो अभिव्यक्ति मन, मुटु र मस्तिष्कको आर्तनाद हो । होइन भने आफ्नो समयमा विश्व हल्लाउने यी सुन्दरी निद्रा लाग्ने औषधि खाएर अर्को लोकमा पक्कै प्रस्थान गर्ने थिइनन् ।

सन् १८५३ मा रुसका जारले तात्कालिन ब्रिटिश राजदूतसँग भनेका थिए– ‘हाम्रो छिमेकमा एउटा सा-है रोगी र गरिब मान्छे छ । विचरा कुनै बेला अकस्मात मर्न सक्छ ।’ टर्कीलाई युरोपको रोगी मान्छे भनिन्थ्यो । सन् १८७७ रुसले टर्कीमा आक्रमण ग¥यो । तर त्यहाँका जनताले देशको स्वाधीनता मर्न दिएनन् । राजनीतिज्ञहरूले अमर हुने काम गर्नुपर्छ । न्यायका लागि बोल्न प्रत्येक समय उपयुक्त हुन्छ । रुसमा अन्तिम जारको शासनकाल थियो । बाहिरबाट त रुस शान्त देखिन्थ्यो । तर भित्र भित्र नागरिक असन्तोषको आगो दन्किरहेको थियो । एकपटक सर जर्जले जारलाई सल्लाह दिए– ‘महामहिम, संसार फेरिएको छ । विशेष कोशिस गरेरै भए पनि यहाँले अब आफ्ना प्रजाहरूको विश्वास जित्नु आवश्यक छ ।’ जारले मुसुक्क हाँसेर प्रतिप्रश्न गरे– ‘जर्ज, तर के यो उचित होइन कि मेरा प्रजा आपैंm मेरो विश्वासको लायक बनुन ।’ दम्भको यो आगो हाम्रो परिवेशमा पनि सल्किन शुरु भइसकेको छ ।

देश नबन्नुमा तीन करोडकै धेरथोर हिस्सा लाग्छ । कुरै खाने, कुरै सुत्ने, कुरै उठ्ने, कुरै ओढ्ने कुरौटे संस्कृतिलाई समाजले मलजल गरिरहेको छ । समाज नामको नर्सरीमा जुन बिरुवा हुर्किन्छ, सिंहदरबारमा गएर त्यही फल्ने, फुल्ने हो । आफू बस्ने घर बैंकमा धितो राख्नुप¥यो भने पाँच करोड मोलिन्छ । त्यही घर राज्यलाई कर तिर्नुपर्ने भए ५० लाखमा झर्छ । भाडाको गाडीमा पाँच रुपियाँ बचाउन हजुरबा नातिपुस्ताको कार्ड बोकेर निर्लज्ज हिँड्छन् । मुलुकको सर्वोच्च न्यायालय दोहोरो सुविधा लिन नपाउने सरकारी नियमको बर्खिलापमा फैसला सुनाउँछ ।

पूर्व प्रशासकहरूलाई यत्र, तत्र, सर्वत्र नियुक्ति दिइएको अवस्थामा मुलुकको ढुकुटी पेन्सन र तलव सकिने अवस्थामा आउनु मुलुक धुत्ने संगठित अपराधमा मुखियाहरू लाग्नु नै हो । मुलुक चलाउनेले कम्तिमा ५० वर्षपछि आउने समयलाई हेरेर निर्णय गर्नुपर्छ । कल्पना गरौं त हाम्रा बा, हजुरबाले कागती, सुन्तला, नासपाती नरोपिदिएको भए हामी ती सबै चीज ट्रकमा फल्छ भन्ने अवस्थामा पुगिसकेका हुन्थ्यौं । पितापुर्खाले चौतारो, हिटीधारो, बनजंगल, गुरुकूल संरक्षण गरिदिएकै कारण राजनीतिको सतहमा रहेको पुस्ता चेतना र प्रज्ञामा धेरथोर पूर्ण भयो । यही नेतृत्वले विगतबाट सिकेर, वर्तमानमा इमान नगुमाई निर्णय गरी भविष्य सबैका लागि सुनिश्चित बनाउन सक्नुपर्छ । हैन भने विशुद्ध जनताका लागि गणतन्त्र, लोकतन्त्र यी सबै छालाको थैलाभित्रको गंगाजल सिवाय केही होइन ।

एकातिर प्रत्येक छानोमा तीनपुस्ताको मिलन दुर्लभ बन्दै गएको छ भने अर्कातिर घरलौरी तीनवटा टीभी सेटको जरुरी बढ्नुले पनि सामञ्जस्य, समन्वय, सल्लाह र सम्मानका डोरीहरू चँुडिदै गएका छन् । हरेक पुस्ता आफ्नो समयको बखानमा मस्त छ । पहिलो पुस्ता आफ्नै स्वाभिमान र पुर्खाको वर्चस्वमा घमण्ड गर्छ । नयाँपुस्ता जन्मभूमिलाई ट्रान्जिटको रूपमा हेर्छ । जनै लाउने र गुन्यूचोलीबाहेक उसका हरेक योजना युरोप, अमेरिका केन्द्रित छन् । घरव्यवहार, पाहुनापासा, आफन्त उसका नजरमा आँखाका कसिँगर हुन् ।

दाँत देखाएर ङिच्च हाँस्नु तिनका लागि असभ्य कर्म हो । बरु मोबाइलको किबोर्ड थिच्दै अक्षरको निर्जीव हिहीमा रमाउँदै गएको छ टीनएज पुस्ता । हजुरबा, हजुरआमा पुस्तासँगको संगत यो उमेरलाई बिझाउँछ । यी दुई सम्बन्धमा फेभिकोल बन्नुपर्ने बा–आमा पुस्ता मरिच चाउरिएभैंm चाउरिएको छ । ७६ जिल्लामध्ये कुनै जिल्लामा भएको आफ्नो भौतिक सम्पत्ति ऐश्वर्य नठान्ने तर जसरी हुन्छ, काठमाडौंमा एउटा टहरो ठड्याउन र सन्तान विदेश पठाउन सके जीवन सार्थक ठान्ने यो पुस्ता न बाउआमा, न सन्तानको प्यारो हुन सकेको छ । बरु घरव्यवहारको भ्वाङ टाल्दाटाल्दै शरीरमा रोगले राष्ट्रिय सहमति गरिसक्दा पनि दुख्न पाएको छैन । घरजग्गा जोड्ने र सन्तानको सपना पूरा गर्नेतिर लाग्दा माखामुन्द्रो, कमाइ सबै बैंकमा बुझाउन बाध्य यो पुस्ता भीरको फर्सी बन्न बाध्य छ । सबैलाई थाहा छ– बैंक भनेको त्यस्तो ठाउँ हो, जहाँ बादल लागेको बेला छाता दिइन्छ र पानी पर्दा फिर्ता मागिन्छ ।

युरोप, अमेरिका टेक्नुप¥यो भने छोरीबुहारीको सुत्केरी, सन्तानको दीक्षान्त समारोह जुर्नुपर्ने अवस्था छ । छोराछोरीका नजरमा जन्म दिने बाबु–आमा कि कर्म दिने आमाबा प्राथमिकतामा पर्छन् त्यसको निक्र्योल डिभी चिठ्ठाजस्तै कठोर र अदृश्य छ ।

एउटा प्रधानमन्त्री आफ्नो राजनीतिक सल्लाहकारको योग्यता स्नातकोत्तर तोकेर कानुनी व्यवस्था मिलाउँछ । अर्को प्रधानमन्त्री आउँछ, उसले जागिर दिने मानिस स्नातक मात्र भएकाले निर्धारित योग्यतालाई स्नातकमा झार्छ । अघिल्ला अर्थमन्त्रीले सीएफल चिमको महत्वलाई प्राथमिकता दिएर सरकारको नीति तथा कार्यक्रम ल्याए । अर्का अर्थमन्त्री लिड चिमको पक्षमा उर्लिए । कच्चा पदार्थको भन्सार शुल्क कसिन्छ, तयारी सामानको खुकुलो पारिन्छ, अनि आत्मनिर्भरका भाषण पिंmज काढेर गरिन्छ ।

दाल, चामललगायतका खाद्यान्नको आयातलाई भन्सार दरमा कसिलो पारेर एक महिनापछि त्यसको रिजल्ट हेरौं त देशको कुन भूभाग बाँझो बस्छ ? मुलुकका योजनाविद्हरू जँड्याहालाई बाख्रो अनुदान दिने कामबाट गरिबी निवारणको ओखती खोज्छन् । उनीहरूको खाकामा बाख्रो दिएको, त्यसले सन्तान पैmल्याएको आँकडा त हुन्छ तर उसले हप्ता दिनमा बोतलको पानी रित्याउन त्यही बाख्री सितनका खातिर ढालेको यथार्थ हुँदैन । समस्याको जड पढेलेखेका सभ्य, शिक्षित मानिसबीच छ तर हामी राउटे र चेपाङ बस्तीतिर कुद्न छोड्दैनौं ।

कुनचाहिँ देश बनाउँछु भनेर छाती फुलाउनेले भन्न सक्छ– ‘मैले मालपोत र नापीमा जग्गाको काम गर्दा एकपैसा पनि घुस ख्वाएको छैन †’ सबै जागिरेलाई ‘राम्रो’ ठाउँ चाहिएको छ । राम्रो भनेको आमा, श्रीमतीले भात पकाएर खान दिने ठाउँ नभएर घुस खाने ठाउँ भन्ने पुरानो नेपालको बुझाइ नयाँ नेपालमा झन्झन् प्रगाढ बन्दै गएको छ ।

टिप्पणीहरू