भुवन दाहाललाई कसले दियाे छुट ?

भुवन दाहाललाई कसले दियाे छुट ?

आफ्नो दायरा र हैसियत नाघेर सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बिहीबार मुलुकभरका बैंक बन्द गराए । सरकारले अत्यावश्यक सेवाअन्तर्गत राखेको बैंक तथा वित्तीय संस्थाको सेवालाई दाहालले प्रहरी प्रशासनसँगको झोँक फेर्ने हतियार बनाएको देखिन आएको छ । तर,उनको उद्दण्ड क्रियाकलापलाई सरकार र नियमनकारी निकाय दुबैले तैँ चुप मैँ चुपको अवस्थामा उन्मुक्ति दिने संकेत देखिएको छ ।

संघीय सरकारको निर्णय र संक्रामक रोग ऐनबमोजिम काठमाडौं उपत्यकाभित्र तीनवटै जिल्लाका सीडीओले बुधबार मध्यरातदेखि निषेधाज्ञा जारी गरेका हुन् । कोरोना महामारी नियन्त्रणको लागि गरिएको निषेधाज्ञामा अत्यावश्यक सेवा सञ्चालन र त्यसको निम्ति न्यूनतम जनशक्ति मात्रै परिचालन गर्ने बताइएको थियो । सोहीबमोजिम नेपाल राष्ट्र बैंकले बुधबार दिउँसो सबै बैंक तथा वित्तीय संस्थालाई तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड र आवश्यक सावधानी अपनाउँदै निषेधाज्ञाको अवधिमा पनि बैंकिङ्ग सेवा सुचारु गर्न निर्देशन दियो ।

नेपालको बैंकिङ इतिहासमा राष्ट्र बैंक र नेपाल सरकारको निर्देशन र
जानकारीविना बैंकहरू बन्द भएको सम्भवतः बिहीबार पहिलो पटक हो । 

दाहालको सानिमालगायत अधिकांश बैंकले बिहीबारदेखि पालैपालो खुल्ने आफ्ना शाखा कार्यालय र समयको सूची बुधबार नै प्रकाशित गरेका थिए । कतिपयले उपत्यकामा बिहीबार बिहान साँढे नौ बजेदेखि नै कार्यालय खोले । त्यसैबीच सानिमा बैंकका केही कर्मचारीलाई अन्य सर्वसाधारणलाई झैँ सुरक्षामा खटिएका प्रहरीले सडकमा आवश्यक सोधपुछ गरे ।

तर, एकछिनपछि दाहालले आफ्ना कर्मचारीलाई प्रहरीले अनावश्यक अवरोध पुर्याएको भन्दै बैंकर्स संघका अध्यक्ष पदको दुरूपयोग गरी सानिमा र अन्य बैंकका खुलेका शाखा एकाएक बन्द गर्न अह्राए । उनको आदेशपछि बिहीबार दिनभर सबै बैंक बन्द भए । नेपालको बैंकिङ इतिहासमा राष्ट्र बैंक र नेपाल सरकारको निर्देशन र जानकारीविना बैंकहरू बन्द भएको सम्भवतः बिहीबार पहिलो पटक हो ।

बैंकिङ्ग सेवा कति महत्वपूर्ण र संवेदनशील हुन्छ भन्ने थाहा पाउन दाहाललगायतका नवधनाढ्य बैंकरहरूले केन्द्रीय बैंकको वार्षिकोत्सव र अन्य चाडबाडमा उसले प्रदान गर्ने न्यूनतम सेवाको हेक्का राख्न सक्नुपर्छ । राष्ट्र बैंकले वार्षिकोत्सवका दिन पनि केन्द्रीय बैंकको सेवा सुचारु राख्छ । त्यसैगरी दशैं,तिहारजस्ता लामो सार्वजनिक बिदा र कर्फ्यूलगायतका विषम परिस्थितिमा समेत उसले एकाध कर्मचारीलाई कार्यालयमा उपस्थित गराएर दिनदिनै विदेशी मुद्राको विनिमय दर निर्धारण गर्छ । यस्तो गम्भीर र संवेदनशील रहेको बैंकिङ विषयलाई प्रहरीसँग बदला लिने हतियारको रूपमा प्रयोग गर्ने अधिकार दाहाललाई कुन कानुनले दियो ?

अत्यावश्यक सेवा ऐनको दफा ५ मा ‘दुरुत्साहन गर्नेलाई सजाय’ अन्तर्गत ‘निषेध गरिएको कुनैपनि कार्य गर्ने व्यक्ति वा अरुलाई दुरुत्साहन गरेमा निजलाई एक वर्षसम्म कैद वा एक हजार जरिवाना वा दुबै सजाय हुने’ उल्लेख छ । बिहीबार दाहालले आफ्नो बैंक मात्र बन्द गराएका थिएनन् । उनले ऐनको व्याख्यासँग मेल खानेगरी अरुलाई समेत उक्साएर दुरुत्साहन गरेको स्पष्ट छ । यसरी ऐनको बर्खिलाप गरेर अत्यावश्यक सेवामा अवरोध पुर्याउने जिम्मेवार पदमा रहेका गैरजिम्मेवार व्यक्तिलाई सरकार र राष्ट्र बैंकले कस्तो कारबाही गर्ने हो सबैले चासोका साथ हेरिरहेका छन् ।

यस्तो गम्भीर र संवेदनशील रहेको बैंकिङ विषयलाई प्रहरीसँग बदला लिने
हतियारको रूपमा प्रयोग गर्ने अधिकार दाहाललाई कुन कानुनले दियो ?

उता,राष्ट्र बैंकले पनि हरेक वर्षको चैतमा आगामी वर्ष बैंक तथा वित्तीय संस्था खुल्ने र बिदा हुने दिनको सूची प्रकाशित गर्छ । उक्त सूची पनि बैंक तथा वित्तीय संस्थाहरूको लागि एक किसिमको निर्देशन रहेको विज्ञहरू बताउँछन् । अन्य नीति तथा निर्देशनझैँ बिदाको सूचीमा उल्लेखित दिन र समयबमोजिम बैंक तथा वित्तीय संस्था खोल्नु कुनैपनि बैंकको प्रमुख दायित्व हो ।

साथै, बैंक तथा वित्तीय संस्थाका सीईओ र अन्य पदाधिकारीले नियमनकारी निकायको आदेश पालना नगर्नु नेपाल राष्ट्र बैंक ऐन र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) को सरासर उल्लंघन गर्नु हो । दाहाल पछिल्लो समय अर्थमन्त्रीसँगको निकटतालाई भजाउँदै केन्द्रीय बैंकको निर्देशन लत्याउने बैंकरहरूमध्ये सबैभन्दा अगाडि छन् । तर राष्ट्र बैंकको लामो समयदेखिको मौनताले ऊ दाहालमाथि कारबाहीको लागि अग्रसर नभएको स्पष्ट हुन्छ । बिहीबार दाहालको एकल निर्णयमा गरिएको बैंक बन्दजस्तो ऐनबिरोधी र राष्ट्र बैंकको निर्देशन विपरितको कार्यलाई कसैले पनि हलुका ढङ्गले लिन नहुने बैंकरहरू नै बताउँछन् । यो भनेको सडकमा खटिने सुरक्षा फौजले ब्यारेकमा गर्ने बिद्रोहजस्तै हो ।

टिप्पणीहरू