नक्कलीहरुले यसरी बेच्दा रहेछन् पार्टीको नाम !

नक्कलीहरुले यसरी बेच्दा रहेछन् पार्टीको नाम !

२०५६ सालको कुरा हो, बागमती उपत्यकामा पनि जनयुद्ध लोकप्रिय हुँदै थियो । कालीमाटी–कुलेश्वर क्षेत्रतिर आर्थिक काममा जाने साथीहरुले त्यहाँ कोही पार्टीकै मान्छेले सहयोग मागेको तर कार्यक्षेत्र भएका कोही पनि नगएको थाहा भयो । पार्टीकै मान्छे भए पनि त्यसलाई समात्ने निणय भएपछि निश्चल नकर्मीले जनमुक्ति सेनाका दुईजना साथीहरु खटाउनुभयो । सल्लाहअनुसार व्यापारीले दुवैलाई एउटै समय पारेर बोलाए । त्यसपछि उनलाई श्रम शिविरतिर लगियो । ती त कुनै समय बालाजुस्थित सिद्धार्थ वनस्थली विद्यालयमा शिक्षक भएर पार्टी काम गर्दागर्दै पार्टीमा पूर्णकालीन कार्यकर्ता भएका व्यक्ति पो रहेछन् । बुद्धिजीवी भएकाले तिनलाई रविन्द्र श्रेष्ठको निर्देशनमा माफी मगाएर छाडियो।

२०५८ सालको संकटकालसँगै म ललितपुर जिल्लाको इञ्चार्ज हुँदा एकातिर पार्टीकै सदस्यहरुमध्ये केहीले नक्कली धन्दा चलाएका थिए । कैयौंलाई कारवाही गर्नुपरेको थियो । त्यसमध्ये बलम्बुको घटना सम्झनलायक छ । त्यसबेला एउटा साप्ताहिकका सम्पादक–प्रकाशक पार्टी सदस्य थिए । सायद काठमाडौं जिविसको होला, बलम्बु–गुर्जुधारा चोकमा ढाट थियो । ठेकेदार मारवाडी । ती पत्रकारले रसिद नकाटिकन ठूलो रकम लिने, पार्टीलाई थोरै दिने र अरु गोजी भर्ने गर्दा रहेछन् । थानकोट क्षेत्रमा पार्टीको प्रभाव विस्तार भएपछि घटना–प्रवृत्तिका सूचनाहरु आउन थाले । त्यसपछि ती पत्रकारसँग सोधपुछ भयो र आर्थिक काम गर्न प्रतिबन्ध लगाइयो ।

जनयुद्धताका प्रहरीले गिरफ्तार गरेकामध्ये धेरैजसो नक्कली भएको समाचार आउँथे । तीमध्ये कतिपय त शाही सेना र प्रहरीका बहालवाला नै हुन्थे । पिएलएले नियन्त्रणमा लिएका कैयौं नक्कली माओवादी हुन्थे । तर गाउँमा नक्कली कम हुन्थे र कसैले त्यस्तो धन्दा गरिहाल्यो भने सम्पूर्ण नालीबेली थाहा हुन्थ्यो । शहरमा पार्टी कमजोर भएका कारण सही सूचना प्राप्त नहुने समस्या थियो । जसको कारण पार्टी बदनाम भइरहन्थ्यो । शहरमा कालाबजारिया र तस्करहरुको जालो हुने हुनाले त्यस्ता व्यक्तिहरुले छानविन नगरी रकम दिएर पठाउँथे । तर धेरैजसोले सक्कली हो कि होइन ? आफ्नो लगानी ठीक ठाउँमा पुग्छ पुग्दैन ? बुझेर सहयोग गर्थे । नक्कली गतिविधि सम्बन्धमा पोखराको घटना रोचक छ ।

जनयुद्धको समय थियो । अखिल (क्रान्तिकारी) अर्थात् माओवादीनिकट विद्यार्थी संगठनसँग मिल्ने नाम तत्कालीन एकता केन्द्र (नारायणकाजी समूह) को पनि थियो । पोखरामा उनीहरुका विद्यार्थी पटक पटक पक्राउ पर्थे । त्यस्तो अपवाद किन होला भन्ने प्रश्न उठेको थियो । धेरैपछि कारण थाहा भयो, माओवादीनिकट विद्यार्थी भनेर रकम माग्ने, गिरफ्तार परियो भने नारायणकाजी समूहका हौं भन्ने गरेर संगठित रुपमा ठगीधन्दा चलाउने । त्यसरी सो समूहले पोखरामा ठगीधन्दा चलाएको र त्यसको अनुशरण अन्यत्र पनि भएको थियो । यद्यपि त्यो पार्टी नीति नहुन सक्थ्यो ।

कुनै पनि प्रवृत्तिको जन्मको पछाडि निश्चित आर्थिक र साँस्कृतिक कारण हुन्छन् । त्यो कारणको निषेध नभएसम्म घटनाहरु नयाँ पात्र र रुपमा आइरहन्छन् । २०६७ सालतिरको घटना हो, चितवनमा नक्कलीको बिगबिगी भएपछि वाइसिएलमा क्रियाशील एकजना युवाको चर्चा भयो । मैले वाइसिएलकै जिल्ला नेतालाई भनेर आजभोलि अख्तियारले साना माछा समातेझैं व्यापारीलाई पैसाको नम्बर टिपेर दिन लगाएँ र अर्को कोठामा पहिलेदेखि नै बसेको टोलीले नियन्त्रणमा लिएर पार्टी कार्यालय ल्यायो । उनलाई रातभरि सम्पर्कविच्छेद गरेर राखियो । एक जना जिल्ला नेताले राति १० बजे हान्ने राँगोझैं नाकका पोरा फुलाउँदै आएर ‘मैले पठाएको हुँ, छोड्नुस्’ भनेका थिए । तर, उनलाई अर्को दिन मात्र माफी मगाएर छोडियो । चरम गुटबन्दी भएको त्यो समयमा ती ठगीधन्दावालालाई छोड्नुप¥यो भनेर कुनै पक्षको नेताको पनि फोन आएन । त्यो घटनापछि ती युवा ठगीधन्दा त के गुटबन्दीमा पनि लागेनन् ।

ठगीधन्दाको सम्बन्धमा चितवनमा अर्को अनुभवी उदाहरण छ । साताव्यापी हड्तालको कार्यक्रम थियो– काठमाडौं घेराउ । जनपरिचालन अभियान र काठमाडौं जान आर्थिक संकलन चलिरहेको थियो । हाल चितवनमा जनप्रतिनिधि रहेकाले जेएन थपलियासँग सहयोग माग्न गएछन् । पार्टीको नाममा रकम उठाउने तर नबुझाउने आरोप थियो । थपलियाले सहयोग गर्नुपूर्व उनकै अगाडि फोन गरेर मैले यति सहयोग पठाएको छु है कमरेड भनेपछि अनियमिततामा लगाम लागेको थियो । व्यवसायी र व्यापारीले दुःख, मिहिनेत गरेर कमाएको छ भने रसिद माग्छ, ठाउँमा पुग्छ÷पुग्दैन हेर्छ, आर्थिक माग गर्नेको स्थिति बुझ्छ र मात्र सहयोग गर्छ । तर, कालाव्यापारी, सूदखोर, तस्कर र कमिसनखोरले गैरकानुनी वा नक्कली व्यापारीले बाटोघाटोमा जाँच–निगरानी गर्न बसेको प्रहरीलाई जसरी रकम फाल्दै हिँड्छ ।

जनयुद्धको समयमा आर्थिक समस्या वा आर्थिक विचलन धेरै कम थिए । बाहिरी नक्कली धेरै थिए । प्रतिक्रान्तिले जन्माएको अविश्वास, अवसरवाद, क्रान्तिप्रतिको ओठेभक्तिको कारण बाहिरी र आन्तरिक समस्या बराबरजस्तो भएको देखिन्छ । कसैले थर मिलेकै भरमा म विप्लवको बहिनी अथवा प्रकाण्डको छोरो भन्न पुग्छन् । धम्क्याएर विज्ञापन माग्नको लागि पार्टीको जनसंगठन भएको दाबी गर्छन् । एक दिन काठमाडौंको एउटा सरकारी कार्यालयमा एक जना साथी पुगेका थिए । सञ्चारमा विप्लव, संगठन र सम्पर्कमा वर्षौंदेखि हराएका एकजना राप्तीतिरका युवा पनि पुगेछन् । पार्टीको नाममा उनको धन्दा चलेकै थियो । ‘उल्टे चोर, कोतवालको डाँटे’ भनेझैं ‘पार्टीमा काम गरिरहनुभएको छ नि है’ भनेछन् पार्टीकै आधिकारिक व्यक्तिलाई । विप्लवका विचार र राजनीति प्रवाह गर्ने सञ्चार हो भनेर आर्थिक समस्या समाधान गर्दा आपत्ति हुने थिएन । सबै जना प्रवक्ता बन्नैपर्ने मनोविज्ञान छ ।

अहिले आन्दोलन पेचिलो बन्दै गएको छ । गिरफ्तार भएपछि कैयौंले आत्मसमर्पण गरेका छन् । कतिपयले भित्रभित्र आदर्श र इमान बुझाएर नाटक गरेका छन् र उनीहरुले नक्कली धन्दा चलाइरहेको सूचना छ । पार्टीले यथेष्ट प्रमाण र उचित समयमा कारवाही गर्नेछ र जनताको बीचमा फरफारक हुनेछ । चितवन, काठमाडौं, नुवाकोट, मोरङ, सुनसरी, झापा यत्रतत्रबाट गुनासोहरु आएका छन् । सहिद, बेपत्ता परिवारसम्मलाई धम्क्याइएका घटनाहरु देखिएका छन् । जनयुद्धको तीव्र विकास भएपछि लहरकै रुपमा मान्छेहरु आएका थिए । त्यसबेला वासु शाक्यदेखि दाङका शिवराज गौतमजस्ता इमान्दार व्यक्तिहरु धु्रवीकृत भए । त्यसक्रममा लम्पट सर्वहारा पनि पस्यो र त्यसले विकृति बढाएर लग्यो । चीनमा त्यस प्रकारको स्थितिप्रति टिप्पणी गर्दै अध्यक्ष माओले ‘लुम्पेनहरुले कि रुपान्तरण हुनुपर्छ कि पार्टी छोड्नुपर्छ’ भन्नुभएको थियो । नेकपामा प्रतिक्रान्तिको विरासतको रुपमा शुरुदेखि नै लुम्पेन अर्थात् लम्पट प्रवृत्तिले जनतालाई निराश तुल्याएको छ र पार्टीलाई विकासको गतिमा अवरोध गरिरहेको छ । आन्दोलनको विकासले त्यसप्रकारको स्थितिलाई बदल्नेछ ।

आजभोलि रसुवा जिल्लामा सांसद नै नक्कली धन्दामा रहेको चर्चा छ । आरोपित व्यक्तिले आफूमाथिको आरोपको विषयमा प्रतिक्रिया वा खण्डन नगर्नुले समाचारको सत्यता पुष्टि हुन्छ । ठगीधन्दाको विषयमा प्रामाणिक सामग्री सार्वजनिक गर्दा पनि प्रहरीले छानबिन गरेको देखिन्न । तसर्थ प्रशासन र प्रहरीकै संरक्षणमा ठगीधन्दा चलिरहेको प्रष्ट हुन्छ । विप्लव नेतृत्वको नेकपालाई बदनाम गर्न सरकारलाई प्रेम तामाङजस्ता ठगहरुको आवश्यकता पर्ने नै भयो । जनयुद्धको समयमा पार्टीको पैसा र कान्छी च्यापेर भागेकाहरु गिरफ्तार भएपछि आत्मसमर्पण गरेकाहरु, भगौडाहरु जिल्ला जिल्लामा प्रहरीको संरक्षणमा पार्टीको विरुद्ध बोल्ने र पैसा उठाएर खाने गरिरहेका छन् । पार्टीले सदाशयताले आन्तरिक कारवाही गरेको स्थितिलाई दुष्टहरुको रुपान्तरणको अवसर ठान्नुको सट्टा दुरुपयोग गरिरहेका छन् । सुध्रिन पनि नचाहनेहरुलाई जनस्तरमा नै नंग्याउन आवश्यक हुन्छ । त्यसो नगर्दा भूपू कामरेड र पार्टीबाहिरका ठगहरुको बीचमा सहकार्य भइरहन्छ । जनयुद्धको समयमा जस्तै नमूना कारवाही पनि आवश्यक हुन्छ ।

आन्दोलन बढ्दै जाने र सर्वसाधारण जनताको प्रत्यक्ष पहुँच पार्टी नेतृत्वसँग नहुने अवस्थामा नक्कलीको समस्या अझ बढ्न सक्छ । पार्टीको प्रभाव विस्तार गर्ने र सम्बन्धित पीडितले उजुरी गर्नसक्ने संरचनाको विकास पनि गर्न सकिन्छ । सहयोगी तथा स्वतन्त्र सञ्चारकर्मी र सत्तारुढ पार्टीबीच सहकार्य नभएको भए प्रेम तामाङको नक्कली धन्दा भण्डाफोर हुने थिएन । हाम्रो देशमा जनताले बलिदान गर्ने, दलालले फाइदा उठाउने, बलिदान गर्नेहरु दण्डित हुनुपर्ने ‘इतिहासको मजाक’ चलिरहेको छ । इतिहासको मजाक दुःखान्त अवस्थातिर जाँदैछ । नक्कली धन्दा दलालीकरणकै अर्को रुप हो । जसको विरुद्ध सबैसँग सहकार्य गरेर समाधान वा त्यसको गतिलाई अवरुद्ध गरिदिन सकिन्छ ।

(लेखक विप्लव नेकपाको प्रकाशन विभाग प्रमुख हुनुहुन्छ)

-जन आस्था साप्ताहिक (वर्ष २६ अंक १०)

टिप्पणीहरू