यसपटक न्याय होला त विरोध खतिवडालाई ?

यसपटक न्याय होला त विरोध खतिवडालाई ?

स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठकबारे अध्यक्षद्वय सहमतिमा आउन बाँकी नै छ ।

यसपछि स्थायी समिति बैठक बसेर निर्णयमा पार्टी जाला–नजाला । अध्यक्षद्वयबीच देखिएको विमति र विवाद समाधानका लागि महासचिव विष्णु पौडेल नेतृृत्वमा ६ सदस्यीय समिति पनि बनेको छ । समितिको सिफारिसअनुसार पार्टीमा सहमतिका लागि शीर्ष नेताहरुबीच छलफल हुनै बाँकी छ । तर यतिखेर यिनै समितिमा भएका सदस्यहरु समेटेर प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल विस्तारको तयारीमा रहेको खबरहरु बाहिर आइरहेका छन् । यसमा अर्का अध्यक्ष पुुष्पकमल दाहाल पनि सहमत रहेको बताइएको छ ।

यसपटक मन्त्रिमण्डलमा भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भूसाल, जनार्दन शर्मा पनि समावेश हुने खबर आएपछि नेकपाका अन्य थुप्रै हेभिवेट सांसदहरु पनि मन्त्रिमण्डलमा परिन्छ र पार्टी नेतृत्वको नजरमा परिन्छ कि भन्ने आशामा देखिन्छन् । यसरी मन्त्रिमण्डलमा परिने आसामा रहेकामा १ नम्बरमा छन् पाँच पटक सांसद भएका मकवानपुरका हेभिवट नेता विरोध खतिवडा ।

सांसद खतिवडा विद्यार्थी राजनीतिदेखि नै नेकपा एमालेका लोकप्रिय नेता हुन् । नेपाल ल क्याम्पसमा स्ववियु सचिव हुँदै कानुन व्यवसायी रहँदा २०४८ को आमनिर्वाचनमा मकवानपुरबाट निर्वाचित सांसद हुन् । तत्कालील संसदमा दमननाथ ढुंगाना, विरोध खतिवडा, जेपी भेट्वाल (हाल दिवंगत) र हृदयश त्रिपाठीको चर्चै बेग्लै हुन्थ्यो । सार्वजनिक लेखा समितिमा रहेर कार्य गरिसकेका खतिवडा २०५१, २०५६ मा पनि मकवानपुरबाट निर्वाचित सांसद हुन् ।

यस्तै, २०६३ मा प्रतिनिधि सभा पुनःस्थापना हुँदा पनि परेका सांसद हुन् । २०६४ र २०७० को निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि राष्ट्रिय सभा जाने र अन्य नियुक्ति खाने रहर पनि नगरी पार्टी काममा क्रियाशील खतिवडा नेकपा केन्द्रीय सदस्य र मकवानपुर पार्टी इञ्चार्ज हुन् । २०७४ को निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित सांसद खतिवडा संसदमा पाँचपटक रहेका नेकपाका एक्ला सांसद हुन् । लगातार सांसद भए पनि आफूभन्दा कनिष्ठहरु मन्त्री हुँदा खतिवडाको पालो आएन मात्र होइन, पालो पाउँ भन्दै नेतृत्वकहाँ नधाउने नेतामा पर्छन् ।

सभामुखबाट कृष्णबहादुर महराको बहिर्गमनपछि बनेको मन्त्रिमण्डल हेरफेरमा विरोध खतिवडा मन्त्री बन्ने अनुमान गरिएको थियो । त्यतिखेर सभामुख बन्ने दौडमा पुनः सुवासचन्द्र नेम्बाङ रहेकाले पटकपटक निर्वाचन जितेर मन्त्री हुन नपाएका अर्का नेता वसन्त नेम्बाङ भन्दा बढी संसद जितेका खतिवडा मन्त्री हुने आसा गरिएको थियो । तर पछि नेम्बाङ सभामुख नबनेपछि शहरी विकास मन्त्रीमा बसन्त नेम्बाङ ल्याइए । ओली मन्त्रिमण्डलका सबैभन्दा राम्रो काम यिनै पहिलोपटक मन्त्री बनेका नेम्बाङबाट भएको मात्र छैन, पहिलाका मन्त्री रघुवीर महासेठले गुमाएको साख पनि जोगाएका छन् ।

यसपटक फेरि प्रधानमन्त्री दशौँपटक मन्त्रिमण्डल विस्तारको तयारीमा रहँदा मकवानपुरले यसपटक मन्त्री पाउने अपेक्षा गरिएको छ । राष्ट्रिय सभा सदस्य रामनारायण विडारी भन्नुहुन्छ, ‘२०३८ सालदेखि २०७४ सम्म मकवानपुरमा वामपन्थीहरुले जिते तर कहिले पनि मन्त्री पाइएन, यसपटक मकवानपुरलाई मौका दिनुपर्छ, पार्टी नेतृत्वले बुुझ्नुपर्छ ।’

२०३८ मा रुपचन्द्र विष्ट, २०४८ मा विरोध खतिवडा, २०६४ मा नेकपा माओवादीका तर्फबाट चार सांसद विजित बने । २०७० मा पनि चार निर्वाचन क्षेत्रमध्ये ३ निर्वाचन क्षेत्र नेकपा एमालेले जितेको थियो । २०७४ मा मकवानपुरको दुवै निर्वाचन क्षेत्रमा साविकको एमालेबाट कृष्णप्रसाद दाहाल र विरोध खतिवडा निर्वाचित भए । दाहाल अर्थ समितिमा सभापति छन् । केही दिनअघि मकवानपुरमा भएको पत्रकार भेटघाटमा पत्रकारहरुले सोधे विरोध खतिवडालाई, ‘तपाईं मन्त्री बन्ने कहिले ?’ खतिवडाको सपाट जवाफ थियो, ‘पार्टी विधिविधानमा हिँड्छ भन्ने विश्वास गर्ने व्यक्ति हुँ, एक दिन मेरो पनि पालो आउला, अर्काे कुरा म घरघरै गएर पुकार नगर्नेमा पर्छु, त्यसैले परिन कि ?’

के हो त खतिवडाको कमजोरी ?

केपी ओलीले पनि सम्मान गर्ने नेता मोदनाथ प्रश्रित, ओली र विरोध खतिवडा एउटै जेलमा सँगै थिए । प्रश्रितको पुस्तकमा विरोध खतिवडाको पनि कविता छ ।

विरोध खतिवडा र प्रधानमन्त्रीको संगत नयाँ होइन तर नेकपा एमालेको नवौँ महाधिवेशनमा खतिवडा माधवकुमार नेपालको पक्षबाट केन्द्रीय सदस्य उठे, जिते पनि । यो बाहेक खतिवडाको कुनै कमजोरी र बदमासी पार्टीमा छैन । अब्बल नेता किन अन्यायमा परे ? अहिले केही हेभिवेट नेताहरु आफैँ मन्त्री हुने दाउमा छन्, यतिखेर विरोध खतिवडालाई मन्त्री दिनुपर्छ भनेर अरुले भनिरहनै पर्दैन । तीन शीर्ष नेता ओली, दाहाल र माधवकुमार नेपाल खतिवडाबारे जानकार छन् । राष्ट्रिय सभा सदस्य रामनारायण विँडारी थप्नुहुन्छ, ‘जिल्ला सधैँ कम्युनिष्टले जित्ने तर मकवानपुरले मन्त्री नपाउने अवस्था यसपटक तोडियोस् ।’

अरु आकांक्षी पनि कम छैनन् मन्त्रिमण्डल पुनर्गठनको चर्चापछि अरु केही सांसदहरु पनि मन्त्री हुने आकांक्षीमा छन् । यसरी मन्त्री हुनेमा प्रधानमन्त्री ओलीका निकट भएर पनि मौका नपाएका खोटाङका विशाल भट्टराई र पछिल्लो समय प्रधानमन्त्रीसँग निकट देखिएका डोटीका प्रेम आले पनि मन्त्रीका आकांक्षी हुन् । उनीहरु पनि पटकपटक सांसद भएका नेताहरु हुन् ।

टिप्पणीहरू