‘कहिँ नभएको जात्रा हाँडिगाउँमा’

‘कहिँ नभएको जात्रा हाँडिगाउँमा’

टङ्गाल मेन रोडस्थित निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यालय पाँच वर्षअघिको विनाशकारी भूकम्पपछि त्योभन्दा पूर्वको हाँडीगाउँमा भाडाको घरमा सरेतापनि कोष र उसको वेभसाइटमा भने स्थानीय चलनसँग जोडिएको उखान चरितार्थ भएको छ ।

ताईं न तुईंको अर्कै नाम राखेर बैंकको प्रतिनिधि भन्नु चरम लापरबाही हो ।

वेभसाइटमा छ जना सञ्चालक र एकजना सदस्य सचिव रहेको सञ्चालक समितिको नाम उल्लेख छ । महालेखा नियन्त्रक गोपीनाथ मैनाली अध्यक्ष रहेको सञ्चालक समितिमा राष्ट्र बैंकको प्रतिनिधिको रूपमा सुशील अधिकारी भनिएको छ । तर,राष्ट्र बैंकका झण्डै १२ सय कर्मचारीमध्ये उक्त नाम गरेका कोही पनि छैनन्  ।

बैंकमा सुशील नामक झण्डै एक दर्जन र अधिकारी थरका एक सय जनाको हाराहारीमा कर्मचारी भएपनि सुशील अधिकारी नाम गरेको हालसम्म कोही पनि नरहेको बताइएको छ । राष्ट्र बैंक, जनशक्ति व्यवस्थापन विभागका एकजना अधिकारी भन्छन् ‘त्यहाँ बैंकले कार्यकारी निर्देशक सुमन अधिकारीलाई मनोनित गरेर पठाएको छ । तर, ताईं न तुईंको अर्कै नाम राखेर बैंकको प्रतिनिधि भन्नु कोषको चरम लापरबाही हो । यसबाट बैंकको अपमानसमेत हुन गएको छ । आवश्यक छलफल र अनुसन्धानपछि कारबाहीको प्रक्रिया अघि बढाउने छौं ।’

कोषको नेतृत्व र उच्च तहका कुनैपनि अधिकृतमा व्यावसायिकता,दक्षता र कार्यक्षमता शून्यप्रायः देखिन्छ । निक्षेप तथा कर्जाको अनिवार्य सुरक्षण (बीमा) वापत प्राप्त हुने अरबौं रकम बचत र मुद्दती निक्षेपमा राखेर नाफाबाट संस्था चलाउने ध्याउन्नबाहेक संस्थामा नयाँ सोच र रणनीति अहिलेसम्म कसैले भित्र्याउन सकेको छैन ।

कोषका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समितिका सदस्य सचिव विष्णुबाबु मिश्र पनि सर्वाधिक विवादित हुन् । विगतमा कर्मचारी युनियनको अध्यक्ष हुँदादेखि नै उनले काँग्रेस,एमाले र माओवादी सबैसँग निकटको सम्बन्ध राखेर तर मारिसकेका छन् ।

गतवर्ष कोषको कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृतलाई अर्थ मन्त्रालयको विनास्वीकृति श्रीलङ्का लिएर गएपछि चर्को आलोचना भएको थियो । अध्यक्ष मैनाली श्रीमतीसहित दुबईको रुट हुँदै कोलम्बो गएका थिए भने मिश्र र नायब कार्यकारी बैंकक हुँदै त्यहाँ पुगेका थिए ।

आफूले निजी बिदा उपयोग गरेको र नायबलाई नियम विपरित दुई दिन बढी काज दिएर उनीहरूले बैंककमा थप केही दिनसमेत बिताएका थिए । पछि अर्थ मन्त्रालयले मिश्रलाई सोबारेमा स्पष्टीकरण नै सोधेको थियो । तर,दूधको साक्षी बिरालो भनेझैँ अर्थमन्त्री युवराज खतिवडाले कोषमा हालै उपेन्द्रकुमार पौडेललाई स्वतन्त्र सञ्चालक नियुक्त गरेका छन् । काँग्रेसनिकट पौडेल धुम्बाराहीस्थित खतिवडा र छोरी ज्वाईंको नयाँ घरका छिमेकी हुन् ।

टिप्पणीहरू