मान्छे मार्न कसरी सक्छ मान्छेले ?

मान्छे मार्न कसरी सक्छ मान्छेले ?

मान्छे मारेर, काटकुट गरी सुटकेशमा प्याक गरेर फ्याँकिदिने– यो एउटा जघन्य, अमानवीय हर्कत हो भन्नेमा दुईमत छैन । तर, कोही महिला किन यस्तो काममा उद्यत हुन्छिन् ? जनआस्थाले केही कुरा उनकै मुखबाट सुनेको छ ।

गोंगबु हत्याकाण्डकी अभियुक्त कल्पना पौडेल मुडभरी अहिले काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएकी छन् । उनले १५ वर्षिया छोरीसँग मिलेर गत साता आफ्नै कोठामा दाङका ४२ वर्षीय कृष्णबहादुर बोहोरालाई मारिन् । मारेपछि जिउलाई सुटकेशमा, टाउको र खुट्टा अर्कै झोलामा राखेर फ्याँकिन् । अनि, भोलिपल्टै छोरीसँग चितवन भागिन् ।

अस्ति सोमबार दिउँसो टेकुस्थित प्रहरी हिरासतमा भेटिएकी उनले सुनाइन्, दिनमा तीनपटक १० एमजीको ‘ट्रयाड’ (triad- 10 mg) नामक औषधी सेवन गर्नुपर्ने कुरा । यो औषधीले मानसिक समस्याका कारण बढ्ने एकाग्रता र उत्तेजनालाई नियन्त्रण गर्छ । अर्थात्, उनी साढे एक वर्षदेखि डिप्रेसनको शिकार भएकी छन् । सोमबार प्रहरीलाई सुनाउँदै थिइन्, त्यही औषधीले कृष्णबहादुरलाई मारेर, काटकुट पार्नेसम्मको काममा साथ दियो ।

कल्पनाको कथा
१७ वर्षको उमेरमा चितवन, कालिकानगर– ८ का मीनबहादुर मुडभरीसँग विवाह भयो । माइत पतिको घरबाट नजिकै छ । पतिको पुरानो ठाउँ बर्दिया हो । त्यहाँ अहिले पनि खेतीपाती छ । तर, बसोबास चितवनमै ।

पति मीनबहादुरले वैदेशिक रोजगारीमा जानुअघि बर्दियामा घर बनाइदिए । त्यहाँ कल्पना, दुई छोरी र छोरा बस्थे । तर, मीनबहादुर विदेशमै भएको बेला बर्दियाका छरछिमेकले अनेकन लाञ्छना लगाए । विभिन्न केटाहरुसँग नाम जोड्दै बद्नाम गर्न थाले । त्यसपछि उनी त्यहाँ बस्न सकिनन्, काठमाडौं छिरिन् ।

छोरा सानै थिए । उनलाई त्यतै छाडिदिइन्, छोरी साथमै लगिन् । बर्दियाका गाउँलेले लगाएको लाञ्छना विदेशमा रहेका पतिले पत्याएपछि एक्ली भइन् । आफन्त भनिने गाउँमा बस्न दिएनन्, विदेशका पतिले खर्च पठाउन छाडे । गाउँमै छाडे पनि छोरासहित तीन सन्तानको रेखदेख, पालनपोषण उनले नै गर्नुपथ्र्यो ।

शुरुमा त बर्दियाबाट भरतपुर फर्किइन् । तर, बालबच्चा पाल्न आयमूलक काम पनि गर्नुपर्ने कारण १० वर्षदेखि काठमाडौंमा बस्न थालिन् । गाउँमा रहेको छोरालाई काठमाडौं ल्याइन् । तीन वर्षअघि विदेशमा रहेका पति काठमाडौं आए । तर, गाली र यातनाबाहेक केही दिएनन् । धेरै वर्षमा भेटिएका पतिले सुख, दुःख सोध्लान्, माया गर्लान् भन्ने आशा थियो, तर भएभरका अपशव्द बोलेर आफ्नो बाटो लागे । अरुले सुनाएका कुरा पत्याएर, छोरीसमेतलाई अनेकन लाञ्छना लगाउँदै हिँडे ।

शहरको महंगीमा बालबच्चा पाल्न गाह्रो थियो । ‘सरी ल’ र ‘डिठ्ठा सा’ब’ जस्ता हाँस्य सिरियलमा कहिलेकाँही काम गरिन्, तर पैसा त्यति राम्रो पाइनन् । त्यसपछि कोठाभाडा तिर्ने र बालबच्चाको पढाई खर्च उठ्ने काम गरिन् (काम बताइनन्) । दुई वर्षअघि स्काई पार्टी प्यालेसबाट छोरीको विवाह गरिन् । पतिलाई खबर गरिन् तर उनी न विवाहमा आए, न खर्च पठाए । कल्पना एक्लैले त्यो खर्च धानिन् ।

पतिले छाडेर, माया मारेर हिँड्नाले उनलाई कोही पुरुषको साथ पाइएला भन्ने आश भयो । तर, आशैआशमा धोकामात्र पाइन् । मान्छे हो, मन हो, बरालिन्छ नै । त्यही क्रममा कृष्णबहादुरसँग भेट भयो । हृष्टपुष्ट शरीर भएका उनले आफूसहित बालबच्चाको ख्याल गर्ने, माया गर्ने गर्थे । चाहिएको बेला पैसा पनि दिन्थे । एवंप्रकारले घनिष्ठता बढ्यो । छोरीको विवाहको ऋण तिर्नु थियो । पुरानो ऋण तिर्न कृष्णबहादुरसँग नयाँ ऋण लिइन् । तर, उनले आफूसँग घनिष्ठता राख्ने बहानामा छोरीतिर लागेपछि सहिनसक्नु भयो । प्रतिवाद गरिन्, तर कृष्णबहादुरले बानी सुधारेनन् । बरु, उल्टै पैसाको कुरा झिकेर धाक र धम्की दिन थाले ।

पतिले गरेको अपमान, एक्लै सन्तान हुर्काउनुको तनाव, अनि आफूलाई माया गर्ने नाममा कृष्णबहादुरले छोरीमाथि शारीरिक शोषण गरेका दृश्य– यी कुराले मर्नु कि बाँच्नुजस्तो बनाउँदै लग्यो । तर, सन्तानका निम्ति मर्नुभन्दा बहुलाउनु निको मानिन् । एउटी छोरीको विवाह गरे पनि अर्की छोरी र छोराको सिंगै भविष्य काँधमा थियो । यस्तै–यस्तै कुराले डिप्रेसनको शिकार भइन् ।

एकै छिनमा रिस उठ्ने र टाउको दुख्ने, फेरि निको भएजस्तो हुने समस्या आएपछि डाक्टरलाई देखाइन् । डाक्टरले डेढ वर्षअघि दैनिक तीन पटक सेवन गर्नु भनी १० एमजीको ‘ट्रयाड’ नामक औषधी दिए । तर, त्यसले पनि थेग्न सकेको छैन । पटकैपिच्छे कृष्णबहादुरबाट बलात्कृत हुनुपरेको कुरा छोरीले सुनाउँथिन् र कल्पनालाई तनाव हुन्थ्यो ।

यस्तै तनावका बीच कृष्णबहादुर आफूकहाँ आएको दिन घटना हुन पुग्यो । त्यसदिन खाना खान्छु भनेर कृष्णबहादुर पुगेका थिए, रक्सी आफैँले किनेर लगे । जानासाथ पैसाको कुरा निस्कियो र एकछिन झगडा प¥यो । त्यसपछि कल्पनाले छोरीमाथि दुव्र्यवहारको कुरा निकालिन् । अनि, कृष्णबहादुर मारौँलाझैँ गरेर कराउन थाले ।

कल्पनाको रिसको पारो पनि त्यही रफ्तारमा बढ्यो । अनि, दहीमा हालेर चार चक्की स्लिपिङ ट्याब्लेट खुवाइन् । कृष्णबहादुर एकैछिनमा बेहोस भए । त्यसदिन निक्कै ठूलो पानी परेको थियो । विष्णुमति खोलाभन्दा पाँच सय मीटर वर कल्पनाको कोठा । शुरुमा त कृष्णबहादुरलाई त्यत्तिकै कोठामा छोडेर भाग्ने सोचिन् । तर, आफूमाथि सीधै आरोप लाग्ने कारण विष्णुमतिमा लगेर फ्याँक्ने योजना बनाइन् ।

आमाछोरी भएर बोक्न खोजे, तर निक्कै भारी भएका कारण सम्भव भएन । त्यसपछि हो, काटकुट पारेर फ्याँकिएको । शुरुमा उनीहरुले विष्णुमतिमा लगेर फ्याँक्न चाहेका थिए । तर, पानी बेस्सरी परेको र बाटोतिर मान्छेहरु धेरै नभएका कारण सुट्केश र झोला विष्णुमतिसम्म पु-याएनन्, त्यतै फ्याँकिदिए ।

टिप्पणीहरू