प्राइभेट प्राक्टिस रोक्नुपर्ने कारण के ?

प्राइभेट प्राक्टिस रोक्नुपर्ने कारण के ?

डा. देजकुमार गौतम


देशका कुना–कुना र छिमेकबाट समेत बिरामी उपचारका लागि आउने चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १६ वर्षदेखि कार्यरत छन्, डा. देजकुमार गौतम । नाक, कान, घाँटी विभागका विभागीय प्रमुख । यस विभागमा उनैले सर्जरी सेवा शुरु गरेका हुन् । सिनियर कन्सल्टेन्ट डा. देज यसअघि उपनिर्देशक पनि भए । ०७७ वैशाख २५ देखि कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिरहेका छन् । यस क्यान्सर अस्पताल, भरतपुरको १२औं कार्यकारी निर्देशक डा. देजसँग अजय गोर्खालीले गरेको कुराकानी :

० कोरोना कहरकै बेला तपाईं कार्यकारी निर्देशक हुनुभयो । कार्यकारी अधिकार सम्पन्न यस उच्च ओहोदा पाउनु खुशीको कुरा त भयो नै ! तर यत्रो ठूलो अस्पतालको यो महत्वपूर्ण जिम्मेवारी सम्हाल्न चानचुने त पक्कै छैन । कस्तो अनुभव भइरहेको छ ?

– मेरो लागि एक किसिमले कार्यकारी निर्देशक नयाँ पद हो र पनि गर्नुपर्ने कामबारे चाहिँ योभन्दा अगाडि म उपनिर्देशक भइसकेका कारण धेरै हदसम्म ज्ञात छ । त्यसले केही सजिलो त भएको छ । तर, सजिलोभन्दा पनि यो अप्ठ्यारो पद हो । सबैलाई समन्वय गर्दै अगाडि बढ्नलाई अलिकति च्यालेन्जिङ नै जस्तो लाग्या छ ।

० तपाईं कार्यकारी निर्देशक भएर आइसकेपछि अस्पतालको विकास–विस्तारमा के–के काम भए ?

– मैले अहिले ठ्याक्कै त्यो फेहरिस्त त राख्या छैन । भन्नुपर्दा हामीले ४/५ वटा महत्वपूर्ण काम गरेका छौं । पछिल्लो समय गरेका काम भन्ने हो भने हाम्रा सबै कर्मचारीको कोरोना बिमा गरेका छौं । यस अस्पताललाई एकेडेमिक इन्स्टिच्युट बनाउनका लागि फेलोसिप प्रोग्राम शुरु गर्ने विषयमा सञ्चालक समितिबाट निर्णय भएको छ । यहाँ डेन्टल सर्भिस सञ्चालन गर्ने भन्ने विषय अगाडि बढेको छ । यो भन्दा अघिल्लो कार्यकाल सिध्याएर जानुभएको म्यानेजमेन्टले गरेका प्रोसेस तथा कामलाई हामीले पूर्णता दिइरहेका छौं । म कार्यकारी निर्देशक भएर आइसकेपछि हाम्रो अस्पतालमा लेजर मेसिन, अत्याधुनिक माइक्रोस्कोप र इन्डोस्कोपीबाट छाती–पेटको भिडियो एक्स–रे गर्ने मेसिन ल्याउने निर्णय गरेर सम्झौता पनि गरिसकेका छौं । अर्काे कुरा, अस्पतालमा एउटा पनि गाडी थिएन, अर्थ मन्त्रालयले लिलामी गरेको एउटा गाडी अनुदानको रूपमा हामीलाई दिएको छ । अब केही दिनमा कोरोनाको पीसीआर ल्याब स्थापना गर्दै छौं ।

० यस अस्पतालको चुनौती र सम्भावना के–के छन् ?

– सम्भावना त सम्भावनै सम्भावना छन् । चुनौती भनेको अस्पताललाई सुचारु राख्नु निकै महत्वपूर्ण कुरा छ । अहिले यो कसैले नसोचेको कोरोनाको महामारी आएकोछ । राज्य नै कोरोनासँग लडिरहेका बेला क्यान्सर रोगसँग कसरी फाइट गर्ने, कसरी अगाडि बढ्ने भन्ने यो आफैंमा एउटा चुनौतीको कुरा छ । अर्काे एउटा चुनौती भनेको यो अस्पताललाई एकेडेमिक इन्स्टिच्युट बनाउनु छ । हामीले मात्र चाहेर हुँदैन । नेपाल सरकार तथा संसद्ज्यूहरू सबैको सहयोग रह्यो भने यो काम पूरा गर्न सकिन्छ ।

० प्रक्रिया अगाडि बढ्यो भने एकेडेमिक इन्स्टिच्युट बन्न कति समय लाग्ला ?

– लाग्ला एक वर्ष, डेढ–दुई वर्ष जति ।

० म यो–यो कामचाहिँ आफ्नो कार्यकालमा गर्नेछु भन्ने त्यस्तो के छ ?

– अहिले मेरो एक मात्र सोच भनेको यस अस्पताललाई एकेडेमिक इन्स्टिच्युटको रूपमा विकास गर्नु हो । दोस्रो कुरा भइरहेका सर्भिसलाई डेभलप गर्दै लाने । तेस्रो यहाँ नभएका सर्भिसलाई पनि सञ्चालनमा ल्याउने ।

० यहाँ नभएका सर्भिस भन्नाले ?

– जस्तो पेट सिटी स्क्यान मेसिन छैन । लेजर सर्जरीको सर्भिस थिएन । रेडियो न्युक्लियर मेडिसिनको सेवा राम्रोसँग सञ्चालन भइरहेको छैन । अहिले दिइरहेको प्याथोलोजीका सेवालाई योभन्दा अझै एड्भान्स गर्दै लाने । बोन म्यारो ट्रान्सप्लान्ट गराउने । यी सबै नयाँ–नयाँ सेवा हुन् । यिनीहरूलाई स्थापित गर्दै लाने प्लान छ ।

० कर्मचारीको वृत्ति विकासमा चाहिँ के गर्ने प्लान छ ?

– वृत्तिविकास आफैं अटोमेटिकल्ली हुँदै जाने प्रक्रिया हो । एउटा नियमित प्रक्रिया हुन्छ, त्यस हिसाबले अगाडि बढ्दै जान्छ । सेवासुविधा पनि आवश्यकताअनुसार दिनुपर्ने कुरा त अस्पतालले गरिहाल्छ, गरिरहेकै छ ।

० यहाँ आउने बिरामीलाई यहीँकै डाक्टर, कर्मचारीबाट आफ्नो वा आफू कार्यरत प्राइभेट अस्पतालमा बोलाउने प्रवृत्ति पहिले असाध्यै व्याप्त थियो । एकताका प्रहरी प्रशासनले नै हस्तक्षेप गर्नुपरेको थियो । अहिले के छ अवस्था ?

– अहिले कोरोना महामारीले गर्दा यहाँ आउने बिरामी नै कम छन् । सबैलाई हेर्न यहाँ भ्याइहालिन्छ भनेपछि अहिले त्यस्तो भएको मलाई लाग्दैन । हामीकहाँ कार्यरत डाक्टर कर्मचारीले तँ बाहिर आइज भन्ने कुरामा सायद एकाध घटनाबाहेक त्यस्तो छैन ।

० अहिले बिरामीले हप्तौं, महिनौं कुनुपर्ने अवस्था पनि छैन उसोभए ?

– हप्ता त अवश्य कुर्नुपर्छ तर महिनौं त कुर्नु पर्दैन । त्यो हेरेर हुन्छ । अहिले त्यस्तो महिनौं कुर्नुपर्ने अवस्था कुनै डिपार्टमेन्टमा छ जस्तो त लाग्दैन । हाम्रो रेडियोथेरापीमा अलिकति समस्या थियो । भर्खरै मेसिन हामीले बनाइसकेका छौं । सेकाइका नयाँ मेसिन पनि किन्ने प्रक्रिया छौं ।

० यस अस्पतालमा राजनीतिक हस्तक्षेप, विरोध र मतभेद निकै चल्छ भन्ने छ नि ! यसबारे के भन्नुहुन्छ ?

– हाम्रो देशको कुन ठाउँमा यस्तो छैन ? यो देश, काल, परिस्थितिअनुसार हुने कुरा हो । यसलाई त मैले अस्वाभाविक रूपमा लिएकै छैन । हिजोका दिनमा पनि थिए होला, आजका दिनमा पनि छन् । तर, मलाई कुनै पनि राजनीतिक पार्टीबाट कुनै किसिमको दबाबचाहिँ आएको छैन ।

० दुई सय बेडको भवन त बनिसक्यो । यहाँ आउने बिरामीको चापअनुसार आवश्यक डाक्टर–कर्मचारी तथा मेसिन–उपकरण पर्याप्त छन् त ? छैनन् भने के–के आवश्यक छ ?

– छैनन् तर यी सबै अहिले फेहरिस्त लाउन त गाह्रो छ । तर, हामीसँग विभिन्न मेसिन, अपरेशनका लागि लाग्ने सामान, कर्मचारी पनि अपुग नै छन् । हाम्रो चाहना के हो भने कुनै पनि बिरामी आएर उसको डायग्नोसिस तीन दिनभित्रमा होस्, ढिलो भयो भने साताभित्र । ट्रिटमेन्टचाहिँ उसको १५ दिन वा ढिलो भयो भने महिना दिनभित्र शुरु होस् । जेको हुन्छ, ट्रियटमेन्ट गर्ने –अपरेशन होस् अथवा रेडियो थेरापी अथवा केमो थेरापी । यो हाम्रो चाहना हो । यो लक्ष्य लिएर हामीले काम गर्दै गइरहेका छौं । अहिले यो कोरोनाको महामारीले गर्दाखेरि हामी कति यसमा सक्षम हुन सक्छौं, हेर्दै छौं ।

० प्राइभेट प्राक्टिस रोक्नेतर्फ के छ विचार ?

– प्राइभेट प्राक्टिस रोक्नुपर्ने कारण के ? प्राइभेट प्राक्टिसको हामी किन दुश्मन ? हामीलाई किन मन पर्दैन प्राइभेट प्राक्टिस ? प्राइभेट प्राक्टिस रोक्दा के फाइदा हुन्छ, गर्दाखेर के हानि हुन्छ ? सबैभन्दा पहिले त्यसको मूल्यांकन हुनुप¥यो । ठूलो कुरा हाम्रो यहाँका म्यानपावरलाई टिकाउन सक्ने, नसक्ने भन्ने कुरा हो । हामीकहाँ इएचएस सेवा पनि शुरु भएको छ, त्यसबाट पनि केही होला । मान्छेलाई जब यथेष्ट काम दिइन्छ, जब अस्पतालकै काममा ऊ बिजी हुन्छ भने सायद कोही पनि बाहिर जाँदैन होला । हिजोको दिनमा म प्राइभेट प्राक्टिस पनि गर्थें डाइरेक्टर नहुँदा । डाइरेक्टर भइसकेपछि अहिले मलाई यति धेरै यहीँ कामको लोड छ कि म चाहेर पनि बाहिर जान सक्दिनँ । नेपाल सरकारले निर्णय गरे पनि, नगरे पनि मेरो त प्राइभेट प्राक्टिस आफैं बन्द छ । मान्छेको जब जिम्मेवारी तथा व्यस्तता रहन्छ, तब आफैं छोड्दै जान्छ । तर, यदि प्राइभेट प्राक्टिस गर्नेको नाममा सरकारी अस्पतालमा काम गर्दागर्दै सरकारी अस्पताललाई एउटा मिटिङ प्वाइन्ट बनाउँछ, आफ्नो कार्य क्षेत्रचाहिँ प्राइभेट हस्पिटललाई गराउँछ र यस अस्पताललाई चाहिँ मिटिङ प्वाइन्ट भनेर मान्छेलाई बोलाउने केन्द्रको रूपमा प्रयोग गरिन्छ भने ती मान्छे घातक हुन् । उनीहरूलाई कारबाही गर्नुपर्छ । तर जो मान्छे अस्पताल टाइममा राम्रोसँग काम गर्छ, बिहान नौ बजेदेखि साढे चार बजेसम्म खटेर, डटेर काम गर्छ र अस्पताल समयभन्दा बाहेक आफ्नो फुर्सदको टाइममा बाहिर गएर पनि बिरामीलाई सेवा नै दिन्छु कसैले भन्छ, गर्छ भने त्यसलाई डिस्करेज गर्न के जरुरी छ र ?

० क्यान्सरका बिरामी त्यसै पीडित । औषधोपचारमै खर्च गर्न गाह्रो हुने अवस्थामा यहाँ उपचार गर्न टाढा–टाढाबाट आउने बिरामीलाई बाहिर होटलमा बस्नु–खानुपर्ने बाध्यता छ नि ! यहाँ रहेको बिरामी कुरुवा घरको अझै विकास–विस्तार गर्ने विषयमा केही सोच छैन ?

– मेरो धेरै ठूलो सोच छ यसबारे । समाजसेवा गर्ने मान्छेलाई बोलाइरा’छु । किनभने सकेसम्म बिल्डिङ धेरै बनेर सेवा बढाउन पाए, क्यान्सरको उपचार गर्न आउने सबै मान्छेलाई यहीँ व्यवस्था हुन सके धेरै राम्रो हुनेछ ।

० अन्त्यमा केही भन्नु छ ?

– अहिले अब सबैतिर कोरोना महामारी छ । हामी स्वास्थ्य क्षेत्रमा रहेर काम गरिरहेका छौं । तपाईं सञ्चारकर्मीले काम गर्ने, काम गर्न खोज्ने कर्मचारीको मनोबल गिर्नेभन्दा मनोबल बढाउने काम गरिदिनुस् । त्यस्तै खालका न्युज प्रसारण गरिदिनुस् । जसले गर्दा हिजो र आजका दिनमा भन्दा भोलिका दिनमा अझ जागरुक भएर, जुझारु भएर काम गर्न सकियोस् । अर्को कुरा यो कोरोनाको महामारीमा सबैले सामाजिक दूरी कायम गरौं । मास्क लगाऔं, हात धोऔं । आफू पनि बचौं, अरूलाई पनि बचाऔं ।

टिप्पणीहरू