सडकमै बास, सडकमै गाँस « Jana Aastha News Online
Logo
२१ मंसिर २०७८, मंगलवार
|  Tue Dec 7 2021

सडकमै बास, सडकमै गाँस

प्रकाशित मिति :  १ भाद्र २०७७, सोमबार १०:३५


भाग्य ठूलो कि कर्म ? हरेकको आ–आफ्नै दृष्टिकोण छ । सुख–दुःख सम्बन्धमा सबैको भोगाइ एकनास छैनन् । कसैको जीवन कस्तो, कसैको कस्तो ! यो संसारै विचित्रको ! साउनको अन्तिम सोमबार एकाबिहानै भरतपुरमा सिमसिम पानी परिरहेको थियो । भरतपुर विमानस्थल अगाडि सडकछेउको प्रतीक्षालयमा एक जोडीको बिजोग देखियो । प्रतीक्षालय तल एउटा सानो ढुंगाको चुल्हो बनाएर झिँजा दाउरा मुस्किलले बाल्दै खाना पकाउँदै थिए पुरुष । महिलाचाहिँ प्रतीक्षालयमा बसिरहेकी थिइन् ।

दुवैको उमेर ४० को हाराहारीमा छ । आफूहरु पतिपत्नी भएको उनीहरुले बताए । त्यहाँ उनीहरुको एउटा झोला, एकसरो ओढ्ने–ओछ्याउने कपडा, दुई–चार वटा भाँडा, बोरा, बोरामाथि अलिकति चामल फिँजाइएको थियो । सायद पानीले भिजेर त्यसरी सुकाउँदै थिए चामल ।

नाम रामबहादुर घिसिङ बताउने पुरुषले बिर्काे नभएको कुकरमा बटुकोले छोपेर बसालेको भात पाकिसकेको थियो । तरकारी केही नभएको बताउँदै उनले टमाटरको चट्नी बनाएर भातसँग खाने बताए । केही वर्षदेखि आफूहरु यसरी चितवनको नारायणगढ, भरतपुरमा सडकमै पाटी, प्रतीक्षालयहरुमा बस्ने, खाने गर्दै आएको उनले बताए । सहयोगापेक्षी, बेसहारा, सडक मानवमुक्त देशकै पहिलो भरतपुर महानगरपालिका भनेर बोर्ड टाँगेको देखिन्छ तर वर्षाैंदेखि यहाँ सडकमै जीवनयापन गर्दै आएका यस्ता अरुपनि कैयौं भेटिन्छन् । अहिले गाउँ–गाउँमा स्थानीय सरकार आएको छ । खै त यी गरीब–विपन्नको जीवनमा परिवर्तन भएको ?

काम नपाएर कागज, प्लाष्टिक, बोतल बटुलेर जीवन चलाउँदै आएको रामबहादुरले बताए । ‘यसरी पाटीको बास भन्दा कतै कोठा भाडामा लिएर बस्न सक्नुहुन्न ?’ भनी सोध्दा उनी भन्छन्, ‘काम राम्रो पाए त सकिन्थ्यो तर दिनभर कवाडी बटुल्यो, सय–दुई सय रुपैयाँ पनि कमाइ हुँदैन, जति पैसा आउँछ, त्यसले चामल, तेल किन्यो, खायो । अर्थाेक काम पाए त गर्थें नि ¤’ आफूले घर बनाउने मिस्त्री काम जानेको उनले बताए । सरकारले बेरोजगारका लागि भनेर प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको त छ । तर त्यो केही दिनका लागि पाउने काम नाममात्रको जस्तो देखिन्छ । तैपनि त्यस्तो कार्यक्रममा यस्ता सडकमानव सरिक हुन के पाउँथे ? ‘कसैले काम दिन खोज्यो भने कहाँ भेट हुन्छ त तपाईंहरुलाई ?’ भन्दा रामबहादुरले भने, ‘बढीजसो नारायणगढ, पुल्चोकतिरै हुन्छौं ।’ अहिले लकडाउनको बेला राहत पाइन्छ भन्ने सुनेको, केहीले आफूहरुको नाम लेखेर पनि लगेको तर अहिलेसम्म केही पनि राहत नपाएको महिलाले बताइन् ।

आफूहरुको चार सन्तानमध्ये दुई छोरीको बिहे भइसकेको, दुई छोरा सानै भएको र उनीहरु घरमै रहेको रामबहादुरको भनाइ छ । उनले आफ्नो घर सिन्धुली भएको बताए । घर नभए व्यवस्था गरिदिनुपर्ने सरकारको दायित्व हो । संविधानले दलित, उत्पीडित, भूमिहीन जनतालाई भूमिको अधिकार मौलिक हकका रुपमा उल्लेख गरेपनि कार्यान्वयन अझै हुन सकेको छैन ।

पत्नी गीताको दृष्टिमा समस्या रहेको रामबहादुरले बताए । श्रीमतीले आँखा नै नदेख्ने हुँदा केही काम गर्न नसक्ने र आफूले डो¥याएर हिँड्ने गरेको उनी बताउँछन् । केही राम्रो काम पाउन सके पैसा जम्मा गरेर पत्नीको आँखाको उपचार गर्ने बताउँदै रामबहादुरले श्रीमतीको आँखा यतै बनाएपछि मात्रै घरतिर जाने विचार रहेको सुनाए । सरकारले आर्थिक अभावको कारण कोही पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनुनपर्ने पनि भनेको छ । तर भने अनुसार खै त सबै पूरा गरेको सरकार ?

– अजय गोर्खाली


प्रतिक्रिया दिनुहोस !