बालखैमा लाएको माया, दुईदिने जीवनको घामछायाँ

बालखैमा लाएको माया, दुईदिने जीवनको घामछायाँ

पुरुषको सफलताका पछाडि नारीको हात हुन्छ भने असफलताको पछाडि नारीको हात हुन्छ कि हुन्न ? एउटा नारीकै कारण रोडबाट उठेर करोडपति बनेको म आज करोडपतिबाट झरेर रोडमा पुगेको छु ।

यहाँ आँखा खोले पनि पोल्ने, बन्द गरे पनि पोल्ने जिन्दगी छ । सम्बन्ध भनेको पनि काँचो डोरीजस्तै रहेछ । हात्तीछाप चप्पलजस्तै हिँड्दा हिँड्दै कतिखेर फ्याट्ट चुँडिन्छ केही पत्तो नहुने । ६ दशकको बूढो शरीर घिच्याउँदै छु । सास अडिरहेको छ, जीवित छु भन्ने प्रमाण । मनभरि बज्र बोकेर हिँडिरहेछु । बुबाआमाको एक्लो सन्तान । हुर्किएँ, बढेँ लाडप्यारमा । आज कपाल फुल्दा जन्म दिने बुबाआमा परलोक भइसक्नुभयो । आफूले जन्म दिएकाहरू साथमा छैनन् । ०३८ वर्षअघि विवाह बन्धनमा बाँधिएको हो शान्ति श्रेष्ठसँग । भेट भएको थियो बौद्ध गेटतिर । त्यहीँ थियो मितिनी दिदीको घर । उनै मितिनी दिदीले काभ्रेकी शान्तिलाई काभ्रेमा गाईवस्तु चराउँदै गर्दा घरको सल्लाहबमोजिम राजधानी ल्याउनुभएको । शान्तिले मितिनी दिदीको घर सरसफाइ, खाना पकाउने, केटाकेटी हेरविचार गर्नुपथ्र्याे । मितिनी दिदीको घर बौद्ध गेटपारि थियो । घरमुनि शान्ति नाम गरेको ठूलो वर्कसप । चारपांग्रे गाडीको मात्र सर्भिसिङ हुन्थ्यो ।

अहिले यो ग्यारेजमा रेष्टुरेण्ट छ । त्यहीँ शान्ति र मेरो दुई आँखा चार भए । अनि प्यार अंकुरायो । र, मनमा बसिन् । उनी तेह्र वर्षे हुँदा बिबाह गरेर ल्याएको हुँ । श्रेष्ठ थरकी उनी अग्ली, पातली तर शरीरको आकार बडो मिलेको । जो कोही पनि लोभिने शरीर । त्यसमाथि डिम्पल पर्ने गाला । फिदा हुन्थें उनको रूपमा । तामाङ केटो म पनि खाइलाग्दो नै थिएँ । मेरो जीवनमा शान्ति आउनुपूर्व तामाङ्नी तरुनीहरू कति पछि लागे । तर, फिटिक्कै मन त्यता गएन । सायद शान्तिसँगै भेट हुनु थियो । अहिलेका युवायुवतीजसरी पशुपति, स्वयम्भूतिर डेटिङ गएनौँ । एकैचोेटि विवाह बन्धनमा कसियौँ । मितिनी दिदीले नै विवाह गर्छाैँ भने गर न त भनेपछि हामी दुवैले विवाह गरेको हौँ । दुई छोरी जन्मिए । छोरा भएन भनेर कुनै रोइलो मच्चिएन । छोराभन्दा बढी माया र ममता दिएर छोरी हुर्कायौँ । हामीले सँगै मर्ने र बाँच्ने सातजुनीको कसम खाएका थियौँ । विवाहपछिका दिन राम्रैसँग बित्दै थियो । सोच्थें हामीझैं खुशी यो दुनियाँमा कोही छैनन् । अन्तरजातीय विवाह भनेर कसैले हेपेका थिएनन् । आफ्नै संसारमा रमाइरहेका थियौँ ।

तामाङको संस्कारअनुसार जन्मिँदा जाँड–रक्सी चाहिन्छ, मर्दा पनि । म जाँड रक्सी खान्थेँ तर अरु जसरी शरीर थाम्न नसक्ने तरिकाले होइन । अहिले पनि पिउँदिन । शान्ति जाँड रक्सी पिउँदिनथिन् । उनले चाहेको र मागेको सबैथोक भरिपूर्ण गरिदिएको थिएँ । कसैलाई धम्क्याएर, छक्क्याएर होइन ज्याला मजदुरी गरी हात खियाएर नै उनलाई महिनापिच्छे तलब बुझाइदिन्थेँ । उनले पनि तलब छोराछोरीकै लागि खर्चिइन् । केही आफ्ना लागि पनि खर्चिइन् । यसमा कुनै आपत्ति थिएन । तर, एकाएक शान्तिलाई मेरो झुपडी सानो लाग्न थाल्यो । परिकार नमीठा लाग्न थाले । मनमुटाव शुरु भयो । रिस खा आफू, बुद्धि खा अरू भन्छन् । रिसको झोंकमा के–के भनियो । त्यही झोंकमा उनी घर छाडेर हिँडिन्, मितिनी दिदीको शरणमा । खै कसको आँखा लाग्यो कुन्नि हाम्रो खुशीमाथि, ११ वर्षभन्दा बढी जान सकेन सम्बन्ध । म फर्काउन चाहन्थेँ उनलाई आफ्नै झुपडीमा । चाहन्नथें गुमाउन । तर, रोटी पनि एकोहोरो पकायो भने डढ्छ भने सायद माया र प्रेम पनि एकोहोरो भयो भने डढ्छ होला मान्छे । उनले घर छाडेर दुबै छोरी बोकी मितिनी दिदीकहाँ पुगेपछि लिन भनेर ६ चोटि पुगेँ । तर, मितिनी दिदीले नमानेपछि के गर्छस् ? जबर्जस्ती गरेर हुँदैन । अब, आइन्दा लिन नआइजा, ऊ एक्लै बस्छे । तँ पनि एक्लै बस् । छोरीहरूलाई मै पढाउँला । सुनिस् । करोडपति दिदीलाई केही भन्न सकिनँ । ज्वालामुखी बिस्फोटन हुनुपूर्वको रातो लाभाजस्तै तात्तिएको थिएँ तर त्यो लाभा एकाएक सेलायो । बिस्फोटन हुन पाएन । सायद शान्ति भएपछि उनलाई आराम मिल्थ्यो तर, शान्तिले त्यो बुझिनन् । मेरो पनि मितिनी दिदीकोजस्तै आफ्नो खालको घर थियो । थियो होला आकाश–पातालको फरक । मितिनी दिदीको घरको रूप कुनै हिरोइनको शरीरजस्तो थियो होला मेरो गाउँले ठिटी स्टाइलको । जे भए पनि हामीलाई छोरीलाई पाल्न अरुकै सहारा लिनुपर्ने अवस्था त थिएन नि ! तर, शान्तिले बुझिनन् । उनलाई बिहानै राजपरिवारजस्तो ब्रेकफास्ट खुवाउन नसके पनि एक कप चिया र पाउरोटी त खुवाउन सक्थेँ तर उनले ताकिन् त्यही मितिनी दिदीको भोजन । यसरी भयो बिछोड । त्यहीँ लाग्यो पूर्णविराम । शान्ति र म ०५० मा छुट्टिएका । त्यतिबेला जेठी छोरी नौ र कान्छी पाँच वर्षकी ।

उनीसँग मन फाटेर छुट्टिएको पनि २७ वर्ष व्यतित भइसकेछ । जेठी छोरी र ज्वाइँ अमेरिकी पीआरधारी । दुई बालबच्चासहित उतै छन् । पराइ घर गएकी कान्छी छोरी काठमाडौंमै घरजम गरेर बसिरहेकी छन् । उनका पनि दुई सन्तान (नाति) छन् । भन्छन् बुबाआमाको मन सन्तानमाथि, सन्तानको मन ढुंगामूढामाथि । यतिसम्म निष्ठुरी पनि हुँदा रहेछन् । यी दुवै छोरीको नागरिकता बनाउने समय जिल्ला प्रशासन कार्यालय बबरमहलमा भेट भएको हो । त्यसपछि उनीहरूले कहिल्यै बुबा भनेर सोध्दै–खोज्दै आएनन् । म मात्रै उनीहरूको मायामा अल्झिएर, टोलाएर के गर्नु ? मैले मात्र छोरीहरू सम्झिएर के गर्नु ? तर, के गर्नु जसलाई बिर्सन्छु भन्यो उसैको यादले चिर्थोछ घरीघरी ।

अब घर कुर्नुको के फाइदा ? मन जहाँ रम्छ त्यहीँ न घर हुने हो । मन रमेन भने त महल पनि नर्क लाग्दोरहेछ । म एक्लो । जसका लागि कमाएको, रमाएको थिएँ । तिनै आफ्नो नभएपछि दुई तले घर बेचिदिएँ । श्रीमती र छोरीहरूले छाडेर गएपछि यो एक्लो ज्यानलाई किन चाहियो घर ? यही सोचेर घर बेच्दा आएको ७५ प्रतिशत रकम छोराछोरी र श्रीमतीलाई नै दिएँ । म नाथे जहाँ गए पनि के मतलव ! श्रीमतीको हैन छोराछोरीको मायाले घर बेचेको पैसा दिएँ । त्यो पैसा उनले के गरिन् उनैले जान्ने कुरा । के गरिन् भनेर कहिल्यै सोधखोज गरिनँ । उमेर छिप्पिँदै जाँदा झन् झन् मायाका स्वरूपहरू बद्लिँदा रहेछन् । अहिले र उहिलेको मायाको स्वरूपमा आकाशपातालको भिन्न छ । यी सबै कुरा अहिले म सजिलै केराउको बोक्रा उक्याएर दाना झिकेसरी केलाउन सक्छु । पढेर हैन आफैँ परेर थाहा पाएँ माया र प्रेमबीचको फरकपन । माथि आकाशमा चम्किएको जून र तारा देख्दा जति नजिक देखिन्छ, माया र प्रेमबीच पनि त्यस्तै सम्बन्ध छ । विवाह त कोशौँ टाढा । शान्ति र म मनमुटावका कारण छुट्टिन पुग्याँँै । शान्तिसँग छुट्टिएपछि कहिले बौद्ध, कहिले चुच्चेपाटीमा गरी कैयौँपटक हाम्रो भेट भयो तर, उनी बोलिनन् । म पनि बोलिनँ । यद्यपि, हालसम्म कानुनी रूपमा शान्तिसँग सम्बन्धविच्छेद भएको छैन । अब, यो बुढ्यौली उमेरमा त विवाह गर्ने कुरा पनि आएन । गरिँदैन ।

जीवनमा के–के गरिएन । ०५८ मा मूलपानीमा ग्यारेज खोलें । तर, ०६२ सालको १९ दिने आन्दोलन चर्किनुपूर्व नै त्यो ग्यारेज छाडेर पोखरा हान्निएँ । पोखरा पुगेर फर्निचरमा ज्यामी काम गरें । हातमा सीप भएपछि एक्लो ज्यान पाल्न फालाफाल हुँदोरहेछ । कहाँ हिजो बौद्धमा आफ्नै घर भएको मान्छे, आज जिन्दगीले कहाँ ल्याएर खसालिदिएको छ । आखिर पापी पेट पाल्नकै निम्ति अहिले यहीँ कपन बंगलामुखी मन्दिर नजिक बनाइरहेको शेर्पेनी दिदीको घर रुँगेर दिन कटाउँदै छु । घर रेखदेख गरिदिएबापत मासिक तलबसहित निःशुल्क बस्न र खानको पनि व्यवस्था छ । डेढ महिना भयो घर बनाउन शुरु भएको । ठेकेदारले आठ महिनामा घर सकाइदिन्छु भनेर भाका दिएको छ । तर, सबै चिज जोडजाम गर्दा एक वर्ष लागिहाल्छ । त्यसपछि म पनि फेरि एकमुठी सास रहेसम्म गाँसको लागि अन्तै सर्छु । अहिले घर रुङ्दै गर्दा क्ल्यासबकमा फर्किन्छु । ठूलै विपद आएसरी ह्वाँह्वाँ रुन्छु । जवानी छँदा जोवनलाई बसमा राख्न सकिएन, स्टेरिङ र गेयर मात्र एकनासले हुइँक्याइयो भने सूर्य चुरोट सल्किएसरी हुइँदोरहेछ । त्यसैले मलाई लाग्दैन म वास्तविक सूर्यबहादुर हुँ । मेरी शान्ति पनि शान्ति होइनन् अशान्ति हुन् । एकले अर्कालाई चिन्न सकेनौँ । मन बुझ्न सकेनौं । अब, यो प्राणपखेरु उड्न लागेको डुब्ने बेलाको घामझैँ भएको बुढेसकालमा फेरि चिनजान गरेर के फाइदा ? मलाई आफ्नै दुनियाँ सुन्दर छ, सायद उनलाई आफ्नै !

– सूर्यबहादुर तामाङ, कपन

टिप्पणीहरू