श्रीमानका निम्ति व्यापक सरगर्मी

श्रीमानका निम्ति व्यापक सरगर्मी

सर्वाेच्च र उच्च अदालततिर रिक्त न्यायाधीशको नियुक्तिमा नेपाल बार र सर्वाेच्च अदालत बार एशोसिएशनका पदाधिकारी कुदेका छन् ।

सर्वाेच्च बारका अध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले आफ्नो इच्छा प्रधानन्यायाधीश र कानुनमन्त्री एवं न्यायपरिषद्का सदस्यहरूलाई सुनाइसकेको चर्चा न्यायिक वृत्तमा छ । हालैको बैठकमा समेत अन्य पदाधिकारीले उनलाई सर्वाेच्च जान छड्के सल्लाह दिएको बताइन्छ । ‘हजुर जत्तिको मान्छे गए त न्यायालय सुध्रिन्थ्यो कि ?’ यस्तो सल्लाह पाउँदा अधिकारी पनि दंगदास भएको एक पदाधिकारीले बताए ।

साठी वर्ष नाघिसकेकाले सर्वाेच्चमा नियुक्ति पाए पनि अधिकारीले पेन्सन भने पाउने छैनन् । सर्वाेच्चका न्यायाधीशले पाँच वर्ष सेवा नगरे पेन्सन नपाउने कानुनी व्यवस्था छ । उता, नेपाल बार एशोसिएशनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराई र कोषाध्यक्ष रुद्र पोखरेलसमेत दौडमा रहेको चर्चा छ । अध्यक्ष चण्डेश्वर श्रेष्ठ भने ६५ वर्ष नाघिसकेकाले कुनै पदको आकांक्षी नभएको बताइएको छ ।

सर्वाेच्चमा दुई पद र उच्च अदालतमा रिक्त दर्जन पदका लागि कानुन व्यवसायी लागेको स्रोत बताउँछ । उच्च अदालततर्फ ३२ जनाको दरबन्दी थप्न न्यायपरिषद्ले मन्त्रिपरिषद्सँग आग्रह गरिसकेकाले कानुन व्यवसायीलाई दौडधुपमा मलजल मिलेको बताइन्छ । नेपाल बारले प्रधान न्यायाधीशलाई बुझाएको ध्यानाकर्षण पत्रमा भने न्यायाधीश नियुक्तिमा राजनीतिक हस्तक्षेप रोकिनुपर्ने माग छ ।

टिप्पणीहरू