चर्चा एक व्यावसायिक चित्रकारको

चर्चा एक व्यावसायिक चित्रकारको

चित्रकला मन नपर्ने को होला ? हामीमध्ये कैयौंले कुनै बेला बनाउन पनि खोजेका हौंला तर सबैको हातबाट सुन्दर, सजीव चित्र के बन्नु ? किनकि यो एउटा कला हो, सफल कलाकार हुन कठिन साधना चाहिन्छ । प्रतिभालाई प्रकृति प्रदत्त वरदानको रुपमा पनि हेरिन्छ । चितवनको भरतपुर–२, क्षेत्रपुर निवासी वरुणबाबु घिमिरे एक कुशल कलाकार हुन् । सानोमा हल्ला नहोस् भनी बुबाले गर्न दिएको काम नै अहिले उनको चिनारी बनेको छ, जीवनयापनको माध्यम बनेको छ ।

टेकनाथ घिमिरे र चन्द्रकला घिमिरेका दुई छोरा, एक छोरी । वरुण कान्छा । उनीहरुले सुत्ने बेलामा हल्ला गरेर हैरान पारेपछि बुबा टेकनाथले एकदिन तीनैजनालाई डोकोको चित्र बनाउन लगाएका थिए । दाइ, दिदीको भन्दा पनि वरुणकै चित्र राम्रो बन्यो । सायद त्यो बेला दुई कक्षामा पढ्थे वरुण । त्यसपछि उनलाई अरु चित्रहरु बनाउन मन लाग्यो र बनाउँदै गए । आफू सरकारी स्कूल पढ्थे । बोर्डिङको किताबमा धेरै चित्र हुने भएकोले बोर्डिङ पढ्ने साथीको किताब मागेर पनि चित्रहरु कोर्न थाले । एकपटक कक्षा ८ मा पढ्दा स्काउटले विद्यालयमा आयोजना गरेको चित्रकला प्रतियोगितामा उनले साथीका लागि बनाइदिएको चित्र प्रथम भयो । धुम्रपानले गर्ने असर बारेको चित्रकला थियो त्यो । त्यसबाट पुरस्कृत भएपछि चित्रकलामा उनलाई अझ हौसला थपियो । चित्रै बनाएर पहिलोचोटि कमाएको १० रुपैयाँ याद छ उनलाई ।

पहिले–पहिले घरको भित्तामा कमेरो माटो दल्ने चलन खूब थियो । गंैडाकोटमा बस्दा छिमेकी ठूलोबुबाको घरको भित्तामा कालो रंगको हात्तीको चित्र बनाइदिएर उनले १० रुपैयाँ पाएका थिए । वरुण सम्झन्छन्, ‘०४९÷५० सालतिरको कुरा हो त्यो ।’ त्यसपछि साइनबोर्ड बनाउने ठाउँमा पनि काम गरेर आफ्नो चित्रकलालाई निखार्दै लगे उनले । आजभन्दा एक दशक अगाडि नै चितवन महोत्सवमा आयोजित प्रतियोगितामा उनको चित्रकला प्रथम भएको थियो । रत्ननगर महोत्सवमा पनि चित्र बनाएर उनी प्रथम नै भएका छन् । २०७२ को भूकम्पछि ललितकला प्रतिष्ठानले आयोजना गरेको पुनर्निर्माणमा ललितकला विषयक चित्रकला प्रतियोगितामा पनि उत्कृष्ट चित्र बनाएर उनले पहिलो स्थान नै हासिल गरे । चितवन र नवलपरासीका कलाकारहरुबीचको प्रतियोगिता थियो त्यो । राष्ट्रियस्तरका प्रदर्शनीहरुमा समेत उनको चित्रले राम्रो स्थान पाउने गरेको छ ।

अहिले ४० वर्षको भएका वरुण चितवनकै एक व्यवसायिक चित्रकारको रुपमा स्थापित छन्, एउटै चित्र बनाएर २५/३० हजारसम्म कमाउँछन् । ‘मासिक कमाइ यति नै भन्ने त हुँदैन तर चित्र बनाएरै गुजारा चलिरहेको छ’, उनले भने । २०६३ मा पुनम महर्जनसँग प्रेमबिहे गरेका उनको एउटा छोरी छ । नारायणगढको शहीदचोकमा छ आर्ट ग्यालरी । यतिखेर अर्डरका मुहार चित्रहरु बढी बनाइरहेको उनले बताए । आफ्नो आर्ट ग्यालरीको भित्तामा रहेको एक युवकको मुहार चित्र देखाउँदै उनले भने, ‘त्यो युवककी प्रेमिकाले बर्थ डे गिफ्ट दिन बनाउन लगाएकी हुन् ।’ बर्थ डे तथा विवाहको गिफ्ट, विभिन्न कार्यक्रमहरुमा प्रमुख अतिथिलाई मायाको चिनो दिन मुहार चित्रको अर्डर आउने गरेको उनले बताए । यसैक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको पनि उनले मुहार चित्र बनाएका छन् । चित्रकलालाई मानिसहरुले आफ्नो घरमा सजाउने क्रम पनि बिस्तारै बढ्न थालेको छ । ‘काठमाडौं, पोखरातिर अलि पहिल्यैबाट कलाकारहरु बाँच्न सक्ने स्थिति थियो’, वरुणले भने, ‘पछिल्लो समय चितवनमा पनि चित्रकलाप्रति मानिसहरुको रुचि बढ्न थालेको देखिँदैछ, यसले राम्रै मूल्य पाउन सुरु गरेको छ ।’ एउटा मुहार चित्र बनाएको कम्तीमा पाँच हजार लिने गरेको उनले बताए ।

आफ्नो मनलाई केले छुन्छ, त्यो स्पटमै गएर ल्याण्डस्केप तथा प्लेन एयर चित्रहरु पनि निकै बनाउँछन् उनी । चितवन र नवलपरासीका विभिन्न ठाउँमा पुगेर त्यहाँको वस्तु स्थिति तथा प्राकृतिक दृश्यहरु पेन्टिङमा उतार्ने गरेका छन् । यस्तोमा जस्ताको तस्तै भन्दा पनि अलिकति आफ्नोपन पनि दिएर अझ कलात्मक बनाउने गरेको उनले बताए । आफूले बनाएका त्यस्ता चित्र उनले फेसबुकमा हाल्छन् । फेसबुकबाट पनि बिक्री हुने गरेको छ । विदेशबाट आउने साथीहरुले पनि किनेर लैजान्छन् । जापानमा रेष्टुरेन्ट खोलेका एकजना नेपालीले जापानको रेष्टुरेन्टमा नेपालीपन झल्कियोस् भनेर आफ्ना १७ वटा पेन्टिङ एकैपटक किनेर लगेको वरुणले बताए । चित्रकलाले चिनारी बोक्ने भएकोले यसको संरक्षण, संवद्र्धन र विकासमा राज्यले विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

आफूले बनाएको चित्रमा सर्वाधिक रुचाइएको र आफूलाई पनि एकदम मन परेको चाहिँ निर्मला पन्तको मुहार चित्र भएको उनले बताए । निर्मला पन्तको मुहार चित्रमा निर्मलाका बाबुले हात जोडेर न्याय माग्दै गरेको तसबिर पनि बनाएका छन् उनले । त्यो चित्र फेसबुकमा पोष्ट गरेपछि धेरैले त्यसलाई कपी गरेर पोष्ट गरे । कैयौंले त्यो चित्रलाई आफ्नो प्रोफाइल पिक्चरमै राखे । हजारौंले लाइक र शेयर गरे । कुनै पनि कलाले मान्छेको मन छुन सक्नुपर्ने वरुण बताउँछन् । – अजय गोर्खाली

टिप्पणीहरू