सामुहिक संघर्ष, एकल सम्झौता

सामुहिक संघर्ष, एकल सम्झौता

नेकपाका नेताहरुलाई प्रचण्डले हिजै गएर बिफ्रिङ गरेपछि ती नेताहरुले भन्न थालेका छन्, ‘उहाँ अलिक लपक्क हुनुभएको छ । खुट्टा कमाउनुभएको छ ।’

आफूभन्दा चलाख मान्छेका सामु पर्दा मैनझैँ पग्लिने र सम्झौता गरिहाल्न बेर नलाग्ने कारण वार्तामा एमालेका पूर्वअध्यक्ष झलनाथ खनालसँगै सामेल गर्न लगाइएका नेकपा अध्यक्ष प्रचण्डले हिजो नौ दिनको अन्तरालपछि प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी ओलीसँग वार्ता गर्नुभएको छ । तर,उताको आग्रहबमोजिम एक्लै गएर ।

वरिष्ठ नेता झलनाथ खनाल यसचोटिको कुराकानीमा सहभागी हुनुभएन । चर्चा छ, त्यसक्रममा केही सहमतिउन्मुख विषय उठेर आज छ सदस्य कार्यदल बनाइएको छ । प्रधानमन्त्री केपी ओलीले अबको पाँच दिनभित्र केही न केही निकास निस्कने भनिरहेको अवस्थामा दुई अध्यक्षमात्र बसेर गरेको कुराकानीले के फल ल्याउला त ?

नेकपाका नेताहरुलाई प्रचण्डले हिजै गएर बिफ्रिङ गरेपछि ती नेताहरुले भन्न थालेका छन्, ‘उहाँ अलिक लपक्क हुनुभएको छ । खुट्टा कमाउनुभएको छ ।’ तर, यसै गरिहाल्नु होला भन्ने केही टुंगो छैन । झलनाथ खनाललाई छाडेर एकल वार्तामा जानुभयो वा बोलाइनुभयो । तर, त्यहाँ सुवास नेम्वाङ, विष्णु पौडेल र जनार्दन शर्मा प्रचण्ड पुग्नुअघि नै उपस्थित भइसक्नुभएको थियो ।

जसरी बालुवाटारको स्थायी कमिटी बैठक छोडेर प्रधानमन्त्री शीतल निवास पुग्नुभएको थियो, यसपटक पनि त्यसैगरी जमघट भएको हो । झलनाथको सट्टा आफ्नै पूर्वपार्टीका नेता,पूर्वडेपुटी कमाण्डर जनार्दन शर्मा कसरी त्यहाँ सामेल हुनुभयो ? भित्र के–के खिचडी पाक्दैछ ? यसले के परिणाम निकाल्दैछ ?

भनिन्छ पनि, लड्नुपर्दा माधव नेपालहरुको साथ, अर्थात् ढाडमा टेकेर टाउकोमा हान्नुपर्ने । तर,सम्झौता गर्दा एक्लै । आफ्नानिम्ति आफूलाई केन्द्रमा राखेर आफ्ना निम्ति एकल कार्यकारी अध्यक्ष वा महाधिवेशन आयोजक कमिटीको जिम्मेवारी लिने शंका गर्न थालिएको छ ।

बाटोको तगारो बनेका संगठनात्मक संरचनाहरु (सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी) हरुलाई सिध्याइसकेपछि महाधिवेशन आयोजक कमिटी बनाएपछि बैठकको सामना गर्नुपरेन । त्यहाँ उत्पन्न हुने टिप्पणी र खतराको गुञ्जायस यसबाट स्वतः समाप्त हुने भयो ।

प्रचण्डले आधा कार्यकालको प्रधानमन्त्री छोडेर आशा गरेको एकल अध्यक्षको जिम्मेवारी नपाएपछि पार्टीभित्र बदलिएको समीकरण घुमिफिरी त्यही एकल अध्यक्षमा टुंगो लाग्ने खतरा छ । अर्थात्, यस सन्दर्भमा प्रचण्डलाई साथ दिनेहरु फड्के किनाराका साक्षीमात्रै बन्ने गरी महाधिवेशन आयोजक कमिटीमा सबै खुम्चिनुपर्ने सम्भावनाबारे नेकपाभित्र व्यापक चर्चा छ ।

टिप्पणीहरू