वामदेवको अबको बाटो

वामदेवको अबको बाटो

केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद छाड्नुनपर्ने, तर प्रचण्डलाई सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्ष बनाउनुपर्ने उपाध्यक्ष वामदेव गौतमले अघि सार्नुभएको ६ बुँदे प्रस्तावले करिव–करिव मूर्तता पाइरहँदा नेकपाभित्र कुरा निस्किएको छ, स्वयं वामदेवको भूमिका के हुने ?

संगठन विभागको जिम्मेवारी पनि सम्हाल्नुभएका वामदेवलाई अब चैतभित्र महाधिवेशन गर्ने गरी व्यवस्थापनको जिम्मेवारी पनि दिनका निम्ति दुई अध्यक्ष सहमति नजिक पुग्नुभएको बालुवाटारस्रोतले जनाएको छ । महाधिवेशन आयोजना गर्नुअघि पार्टीका सांगठानिक अवस्थिति अद्यावधिक गर्नु सबभन्दा मुख्य कार्यभार हो । एकीकरणपछि नेकपाका सबै तहका कमिटीहरु गठन हुन सकेका छैनन् । केन्द्रीय विभाग र निकायहरु अपांग छन् । सदस्य संख्या यकिन छैन । मुख्यतः पूर्वमाओवादीका संगठित सदस्यहरुको मोटामोटी संख्यामात्रै छ, बाँकी केही छैन ।

त्यसैले अबको ६ महिना, अर्थात् माघसम्मका लागि वामदेवलाई यही काममा मात्रै लगाउने र त्यसपछिको समय महाधिवेशन आयोजनाका व्यवस्थापकीय काममा लगाउने गरी तयारी थाल्ने कुरा निस्किएको छ । पार्टीका कतिपय कमिटीहरु एकीकरणका क्रममा पूर्वमाओवादीबाट पूर्वएमालेको भन्दा दोब्बर सदस्य देखिएको तर तिनको नाम, ठेगाना पूरै नआएको बताइन्छ ।

पूर्वएमालेसँग कार्यकर्ताआधारित कमिटी त थिए नै,त्यसबाहेक शिक्षक–प्राध्यापक (निजी र सरकारी दुबै), कर्मचारी (विशिष्ट श्रेणीसम्मकै), स्वास्थ्यकर्मी, मानवअधिकार, सहकारी, सुरक्षा निकाय, सञ्चार, युवा, विद्यार्थीसहितका विविध सेवाक्षेत्रसँग सम्बन्धित अर्धभूमिगत संरचनाका पार्टी कमिटी थिए । तर, माओवादीसँग प्रणालीगत चुस्त कमिटी थिएनन् । पूर्वएमालेतिरको मानअधिकार अलाएन्समा पूर्वमाओवादीलाई एकीकरण गराउने क्रमको विवाद अझै सकिएको छैन । तोकिन त पूर्वएमालेका मीनबहादुर शाही संयोजक र पूर्वमाओवादीका हुकुम पोखरेल सहसंयोजक तोकिए । तर, यसबाहेक शून्य प्रतिशत काम पनि हुन सकेको छैन । किनभने, पूर्वमाओवादीले मानवअधिकारका थुप्रै संगठन देखाएको छ ।

प्रचण्डले विष्णुपुकार श्रेष्ठहरुले गठन गरेको काहुरास्टलाई आधिकारिक भन्नुभयो । तर, स्वयं विष्णुपुकारले काहुरास्ट जनसंगठन नभएको भन्नुभयो । तर, एकीकरण घोषणा गर्दा काहुरास्टकै अध्यक्ष सहसंयोजक बनाइए । मुक्ति प्रधान, एकराज भण्डारीहरुको अलग्गै संगठन छ, प्रदीप पोखरेलहरुले चलाएको रुडेक नामक संस्थाले पनि माओवादी जनसंगठन दावी गरेको छ ।

भूगोलमा हेर्दा सिन्धुपाल्चोकको घटनाको उदाहरण लिन सकिन्छ । पूर्वएमालेसँग अभिलेखमा उल्लेख भएका १० हजार संगठित सदस्य छन् । तर, पूर्वमाओवादीले हातैले लेखेर २० हजारको नाम पेश गरेको छ । ती नाम भएकामध्ये थुप्रै मान्छे जिल्लामा भेटिएका छैनन्, न मतदाता नामावलीमा नामै छ । यी त नमुना घटनामात्रै भए । जिल्लैपिच्छे र जनसंगठनपिच्छे यस्ता समस्या छन् । र, यही कुरा मिलाउने जिम्मा वामदेव प्रमुख र जनार्दन शर्मा उपप्रमुख रहेको संगठन विभागलाई दिइँदैछ । र, यही टीमले चैतमा महाधिवेशन गर्ने गरी सबै काम गर्नुपर्ने भएको नेकपास्रोतले जनाएको छ ।

टिप्पणीहरू