बैंकमा कोरोना आतंक

बैंकमा कोरोना आतंक  

११ वटा वाणिज्य बैंक र तीन वटा विकास बैंकका झण्डै एक सयजना कर्मचारीमा संक्रमण पुष्टि भएको छ । फ्रण्ट डेस्कमा खटिने न्यून वेतन प्रशिक्षार्थी र करार कर्मचारीको स्वास्थ्यमाथि खेलबाड गर्दै बैंकहरूले बिजनेश घट्न नदिने चालबाजीमा सबैलाई हाजिर गराएको राष्ट्र बैंकको ठम्याइ छ । सामान्यतयाः वाणिज्य बैंकहरूको फ्रण्ट डेस्कमा खटिने कर्मचारी निमुखा परिवारका र कलिलो उमेरका देखिन्छन् ।

आइतबार लाजिम्पाटस्थित एभरेष्ट बैंकको हेडअफिसका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंक पूरै सिल गरियो । त्यसअघि पनि मुलुकभरका धेरैवटा बैंक तथा वित्तीय संस्थाका झण्डै एक सयजना कर्मचारीमा संक्रमण पुष्टि भइसकेको छ ।

तुलनात्मक रूपमा भौतिक सुुविधा सम्पन्न कार्यस्थल हुँदाहुँदै पनि बैंक कर्मचारीमा संक्रमण फैलनुलाई गम्भिरतापूर्वक लिनुपर्ने जनस्वास्थ्यविद्हरू बताउँछन् । अर्काथरीले भने  बैंकका ठूला हाकिम तथा लगानीकर्ताले महामारीमा समेत स्वास्थ्यलाई भन्दा नाफामा ध्यान दिएपछि बैंक कर्मचारीहरूमा संक्रमण बढेको एकथरीको आरोप लगाएका छ ।

सरकारले अत्यावश्यक सेवाका सबै कार्यालयले आधा कर्मचारीबाट सेवा दिनुपर्ने बिहीबार साँझ बताएको थियो । राष्ट्र बैंकले पनि तोकिएको स्वास्थ्य मापदण्ड अपनाउँदै आधा कर्मचारीबाट सेवा प्रदान गर्न आइतबार बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दियो । तर, सबै बैंक तथा वित्तीय संस्थाहरूले केन्द्रीय बैंकको उक्त निर्देशनलाई पूरै बेवास्ता गरिदिए । त्यहिबीचमा राजधानीस्थित धेरैवटा वाणिज्य बैंक र काठमाडौं बाहिरका केही विकास बैंकका कर्मचारीमा कोरोना फैलिएको समाचार सार्वजनिक भयो । उक्त अवस्था चौबिसै घण्टा नाफा, लाभांश, बोनस र सुुविधाको विषयमा रुमल्लिने केही सीईओ र बैंकर्स संघका पदाधिकारीले केन्द्रीय बैंकको निर्देशनलाई एक पछि अर्को गरी धोती लगाइदिएको परिणाम थियो ।

बैंकर्स संघ स्रोतका अनुसार हालसम्म ११ वटा वाणिज्य बैंक र तीन वटा विकास बैंकका झण्डै एक सयजना कर्मचारीमा संक्रमण पुष्टि भएको छ । तरपनि संघ नेतृत्व गम्भीर नबनेको केही वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले नै बताएका छन् । उनीहरूले विगतमा झैँ सरकार र केन्द्रीय बैंकको निर्देशनबमोजिम उच्च सतर्कता अपनाउँदै आधा कर्मचारीबाट बैंकिङ्ग सेवा दिने खोजेपनि बैंकर्स संघ नेतृत्वको दबाब सामुन्ने आफूहरू निरीह बनेको बताएका छन् ।

‘एउटा मात्र बैंकले आफूखुशी राष्ट्र बैंकको सर्कुलर पालना गर्ने हो भने अरुलाई गाह्रो पर्छ’ भन्दै संघको तर्फबाट शनिबार बेलुकी सबै बैंकका सीईओलाई सबैले पूर्ववत् रूपमा कर्मचारीको उपस्थित गराउन मौखिक निर्देशन दिइएको थियो । लिखित निर्देशन दिँदा सरकार र केन्द्रीय बैंकको निर्देशन बर्खिलाप गरेको देखिने भएपछि बैंकर्स संघले अनौपचारिक माध्यम रोजेको बताइएको छ । सोहीबमोजिम सीईओहरूले पनि आफ्ना कर्मचारीलाई कार्यालयमा अनिवार्य उपस्थित हुन शाखा मेनेजर मार्फत् मौखिक आदेश दिए । जबकी सरकारले आइतबारदेखि नीजि तथा सार्वजनिक सवारी साधनमा पुनः जोर बिजोर प्रणाली लागू गरिसकेको छ । तर, बैंकर्स संघ नेतृत्वले उक्त पक्षलाई समेत ख्याल नगरेको कर्मचारीहरू बताउँछन् ।

वार्षिक करोडौं रूपैयाँ बराबरको तलब र सुविधा लिएका धेरैजसो सीईओहरूले काउण्टर र धेरै जनसम्पर्क हुने फाँटको जोखिमप्रति ख्याल पुर्याएका छैनन् । फ्रण्ट डेस्कमा खटिने न्यून वेतन प्रशीक्षार्थी र करार कर्मचारीको स्वास्थ्यमाथि खेलबाड गर्दै बैंकहरूले बिजनेश घट्न नदिने चालबाजीमा सबैलाई हाजिर गराएको राष्ट्र बैंकको ठम्याइ रहेको छ । सामान्यतयाः वाणिज्य बैंकहरूको फ्रण्ट डेस्कमा खटिने कर्मचारी निमुखा परिवारका र कलिलो उमेरका देखिन्छन् ।

बैंकहरूलाइ काेभिड सूचना

बैंकर्स संघको पछिल्ला गतिबिधिलाई नजिकबाट नियालेका केन्द्रीय बैंकका एकजना अधिकारी भन्छन् ‘सँधै सुगर कोटेड कुरो गर्दै अर्थमन्त्रीसँगको निकटतालाई भजाएर राष्ट्र बैंकको निर्देशन लत्याउने कामको नेतृत्व संघका अध्यक्ष भुवन दाहालले गर्दै आइरहेकोप्रति जानकारी छ’ । महामारीमा समेत कर्मचारीको जीवनसँग खेलबाड गर्दै स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशनलाई अनौपचारिक ढङ्गले लत्याउने बैंकर्स संघ नेतृत्वले बैंकहरूमा भुसको आगो झैँ फैलिएको संक्रमणको जिम्मेवारी आफैँले लेलान् कि अरुलाई आरोप लगाउलान् ?

बैंक तथा वित्तीय संस्थाहरूले पटक पटकको निर्देशन कार्यान्वयन नगरेपनि राष्ट्र बैंकले बिहीबार अपरान्ह पुनः कोरोना सम्बन्धी नयाँ निर्देशन जारी गरेको छ । निर्देशनमा ५० प्रतिशत कर्मचारीले घरबाट र ५० प्रतिशत कर्मचारीले कार्यालयबाट तोकिएको मापदण्ड अपनाएर सेवा प्रदान गर्न भनिएको छ । साथै, कर्मचारीलाई कोरोना संक्रमण भएमा वा शंकास्पद अवस्था देखिएमा क्वारेण्टिन, आइसोलेसन र पीसीआर परीक्षणको व्यवस्था बैंक तथा वित्तीय संस्था स्वयम्ले गर्नुपर्ने केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

टिप्पणीहरू