बलराम दाइ यसरी हिंड्नुभयो

बलराम दाइ यसरी हिंड्नुभयो

छायाँचन्द्र भण्डारी

सोमबारदेखि बल्खु खोलामा हराउनुभएका आदरणीय पत्रकार दाइ बलराम बानियाँ बुधबार मकवानपुरको माण्डु खोलामा मृत अवस्थामा फेला पर्नुभएको छ ।

बलराम दाइसँग लामो समयदेखि व्यक्तिगत,पेशागत तथा अन्तरंग सम्बन्ध रहनुका साथै अहिलेको घटनासँग मेरो सरोकार हो, उहाँ हराउनुअघि म र मेरो परिवारसँग रहनु ।
कोरोना संक्रमणका कारण सवारी साधनमा जोर–विजोर प्रणाली लागु भयो । बलराम दाइसँग आफ्नै साधन थिएन । उहाँ मूलपानीमा घर बनाइरहनुभएको थियो ।

२५ गते आइतबार दिउँसो करिव १–२ बजे मैले उहाँलाई आफ्नो गाडीमा राखेर मूलपानी लगिदिएँ । फर्किंदा तीनकुनेमा ल्याएर छाडिदिएँ । किनभने, मैले उपत्यका प्रहरी प्रमुख डिआइजी विश्वराज पोखरेलसँग भेट्न समय लिएको थिएँ । केही किनमेल पनि गर्नु थियो । यो कुरा बलराम दाइलाई भनेँ । तर, तीनकुनेको बागमती पुलपारी उहाँलाई छोड्न खोज्दा रिसाउनुभयो । गाडीबाट झर्न नखोजेजस्तो गरेपछि मैले ‘दाइ, झर्नुस्’ भनेँ । त्यसपछि हामीबीच हार्दिक शैलीमा केही भनाभन भयो । अन्तिममा उहाँले दिउँसो १ बजेतिरै मसँग ‘गुड नाइट’ भनेर फन्किनुभयो । भाइको नाताले उहाँले मलाई यसरी पहिला पहिला पनि घुक्र्याइरहनुहुन्थ्यो ।

म आफ्नो काममा लागेँ । तर, फेरि उहाँको फोन आउन थाल्यो । दिउँसो ३–४ बजे असापास १०–१२ पटकसम्म फोन आएको रहेछ । साइलेन्समा भएका कारण मैले उठाउन पाइनँ । मिस्ड कल देख्दा ढिलो भइसकेको थियो । त्यसैले कल ब्याक गरिनँ । साँझ साढे ७ बजे नैकापस्थित आफ्नो घर पुगँे । म पुग्दा त बलराम दाइ अघि नै मेरो घरमा पुग्नुभएको रहेछ । पुगेर बुहारी (मेरी पत्नी) लाई फोन गरेर घरभित्र जानुभयो ।

उहाँले बुहारीलाई भनेअनुसार, तीनकुनेदेखि कतै गाडी चढ्दै, कतै हिँड्दै आएको सुनाउनुभएछ ।

म घर पुग्नासाथ सोधेँ, ‘दाइ, तपाईं किन आउनुभएको ? मैले दिउँसै छोडेको हैन ? कति टेन्सन दिनुहुन्छ दाइ ?’

उहाँले नम्र भएर भन्नुभयो, ‘म आएँ भनेर तिमी रिसाउने ?’
मैले भने, ‘भाइको घर आउँदा त के भयो र दाइ, स्वागतै छ । तर, यसरी हिँडेर आउनुपर्ने थिएन नि त । मैँ ल्याइहाल्थेँ नि गाडीमा ।’

उहाँले ‘मेरो सँस्थाले मलाई डोमिनेट गर्यो । म अब तपाईंसँग काम गर्छु’ भन्न थाल्नुभयो । ‘तपाईंको यत्रो सम्पर्क छ, म पनि स्रोत जुटाउँछु, काम गरौँ‘ भन्नुभयो ।

मैले भने, ‘दाइ, म कहाँ आँट्न सक्छु र ? एउटा अनलाइन र पत्रिका चलाउँदैमा थला परिसकेँ । ल्याएको जति जम्मै बजारमा बुझाउँदा ठिक्क छ ।’

‘अफिसले साह्रै हेप्यो, ह्युमिलियट गर्यो, म जीवन्त रहनुपर्ने मान्छेलाई…’ भन्दै उहाँ आफ्ना गुनासो सुनाउन थाल्नुभयो ।

मैले ‘यस्तै हो दाइ, काम गर्दा यस्तो कहिलेकाँही हुन्छ । अहिले त केही नगरौँ दाइ, दशैं–तिहारपछि सल्लाह गराँैला’ भनेँ ।

उहाँ त्यसरी बिनाखबर आएको कुरालाई लिएर उहाँ ,  की पत्नी    मसङ्ग रिसाइन्, बेस्करी कराइन् । त्यसपछि राति खाना खाइयो । थप कुराकानी केही भएन । ओछ्यानतिर लागियो ।

म घर पुग्नासाथ सोधेँ, ‘दाइ, तपाईं किन आउनुभएको ? मैले दिउँसै छोडेको हैन ? कति टेन्सन दिनुहुन्छ दाइ ?’

विहान म उठेँ । ‘हलो–हाई’ पछि बुहारी कराई भनेर माइण्ड नगर्नु दाइ भनेर सम्झाउन खोजेँ । उसले घर आएको पाहुनालाई मीठो मसिनो खुवाउँछे भन्दै बिहान ८ काममा निस्किएँ ।

श्रीमतीलाई भनेको थिएँ, ‘बलराम दाइ उठेर जान खोज्नुभयो भने मलाई फोन गर्नु है, म पुर्याइदिउँला । नत्र,बूढा फेरि हिजोजस्तै हिँडेरै जालान्…।’

श्रीमतीले फोन गरिन् । ९–१० बजेतिर खान उठ्नुभएछ । फेरि एकघण्टा जति सुत्नुभयो भनेर श्रीमतीले सुनाइन् ।
त्यसबीचमा बलराम दाइकी छोरीले मलाई फोन गरेर बाबासँग कुरा गर्न चाहेको बताइरहेकी थिइन् । म घरमा थिइनँ । यसकारण श्रीमतीलाई अह्राएँ, बलराम दाइलाई छोरीसँग कुरा गराउन भनेर ।

त्यसपछि मोबाइल अन गरेर दाइले छोरीसँग कुरा गर्नुभएछ । त्यसपछि ‘छायाँ खै’ भनेर श्रीमतीलाई सोध्नुभएछ ।
श्रीमतीले ‘हैन दाइ, तपाईंलाई कहाँ पुग्नुपर्ने हो ? त्यहाँसम्म छोड्नको लागि म उहाँलाई बोलाइदिन्छुु’ भनिन् ।

बलराम दाइले ‘हैन, म विस्तारै जान्छु, केही छैन’ भन्नुभयो ।
त्यसपछि श्रीमतीले ‘मैँ छोडिदिन्छु दाइ’ भनिन् । त्यो कुरा पनि मान्नुभएन ।

छिमेकमा भूपू सिडिओ कृष्ण पौडेलको घर छ । उहाँको सिसी क्यामेराले मेरो घरमा आएको, गएको सबै कभर हुँदोरहेछ ।

मेरो घरबाट निस्किएपछि कलंकीमा कतै अल्मलिनुभयो ।
मेरो कलंकीमै हुँदा बलराम दाइले कान्तिपुरका सम्पादक सुधीर शर्मा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र घरमा काम गर्न आउने प्लम्बरसँग कुरा गर्नुभयो ।
त्यसमध्ये प्लम्बरलाई आज आफू आउन नभ्याउने भन्दै भोलि आउँछु भन्नुभएछ ।

त्यसपछि उहाँ बल्खुतिर लाग्नुभयो । त्यसबेला उहाँ ढलपल–ढलपल गरिरहनुभएको थियो । त्यहाँस्थित प्रहरी बिटका सईले उहाँलाई बलराम बानियाँ नै भनेर त चिनेनछन् । तर, सर्ट पाइन्ट लगाएको भद्र, शालिन मान्छे देखेपछि भनेछन्, ‘हेर्दा त तपाईं राम्रै मान्छेजस्तो देखिनुहुन्छ । यसरी कता हिँड्नुभएको ?’

त्यसपछि बलराम दाइ हात हल्लाएर खिसिक्क हाँस्दै खोलातिर अगाडि बढ्नुभयो ।

सईलाई उनको एरियामा भएको एउटा घटनामा पुग्नुपर्ने थियो, उनी हिँडे ।

सई त्यहाँबाट हिँडेपछि उहाँ खोलामा झर्नुभयो भन्ने खबर सुनियो ।

त्यसपछि उहाँको परिवारका सदस्यहरु मसँग रिसाउनुभयो । उहाँ मसँग आत्मीय रुपमा जोडिएको, आदरणीय मान्छे । मसँगै हिँड्ने कुरा थाहा भएर पनि होला, मैँविरुद्ध उजुरबाजुर गर्नेसम्मको काम भयो ।

मैले यी सबै बृत्तान्त प्रहरी–प्रशासनलाई सुनाएँ, घर परिवारले पनि कुरा बुझ्नुभयो ।

बलराम दाइ मेरो घरमा मैले नबोलाई आउनुभयो । दाइ हो, साँझ, रातिको पाहुना, त्यसमाथि आदर–सम्मान गरेको मान्छेलाई नआउनुस्, जानुस् भन्न पनि मिलेन ।

फेरि उहाँलाई मैले मेरो घर पनि देखाएको थिइनँ । त्यसदिन एक्कासी आइदिनुभयो ।

म त उहाँलाई घर जानुस्, भाउजू, छोरीहरु पर्खिरहेका छन् भन्थेँ । तर, उहाँ हराएपछि परिवारको तर्फबाट म यति धेरै मानसिक यातनामा परेँ कि, बयान गर्न सक्दिनँ ।

टिप्पणीहरू