नेकपा विभाजनबारे अमेरिकाको सोधखोज !

नेकपा विभाजनबारे अमेरिकाको सोधखोज !

नेकपाको विवादमा कूटनीतिक नियोगको चासो अचाक्ली बढ्न थालेको प्रमाण भेटिएको छ ।  नेपालको सत्तारुढ दल कुन हदसम्म अन्तरसंघर्षमा पुग्ला ? पहिला दुई दल मिलेर बनेको, फेरि छुट्टी–भिन्न हुन्छ कि हुँदैन ? यस्ता कुरामाथि अमेरिकी सरकार वा यहाँको दूतावासलाई कति चासो छ, त्यो त्यहीँका जिम्मेवारी अधिकारीले जानुन् । तर, निर्वाचन आयोगमा दूतावासबाट एउटा त्यस्तै फोन गइदिएपछि ‘के हो र कसो हो’ को चर्चा चल्न थालेको छ ।

अमेरिकी दूतावासभित्र राजनीतिक विज्ञका रुपमा कार्यरत रोजी कट्टेलले गतहप्ता निर्वाचन आयोगमा फोन गरी नेकपा फुटेर फेरि पहिलाजस्तै (एमाले र माओवादी केन्द्र) हुन लागेको हो ? भन्ने जिज्ञासा राखिन् । नेपालको कुनै पनि कानुनमा एकीकृत दल एकचोटि फुटेर आजको भोलि नै पुरानै हैसियतमा जाने व्यवस्था छैन ।

केही समय पत्रकारिता पनि गरेकी कट्टेलले यस्तो कुरा सोधेपछि निर्वाचन आयोगका हाकिमहरु अक्क न बक्क भएको त्यहाँको कानुन शाखाका अफिसरहरु बताउँछन् । उनले सुनेकी रहिछन्, नेकपाको एकीकरण भंग भएर पहिलाका एमाले अलग्गै र माओवादीहरु अलग्गै भई ती–ती पार्टीका नाममा अगाडि बढ्दैछन् र त्यसो गर्नका लागि निर्वाचन आयोगले स्वीकृति दिँदैछ । तर, कानुनको अधिनमा रहने निर्वाचन आयोगसँग कुनै पनि दललाई त्यति सजिलै पूर्ववत् अवस्थामा फर्किन दिने छूट छैन ।

यस्तो कुरा देशको कुनै कानुनमा सम्भव छैन । किनभने, कानुनले अहिले एमाले र माओवादी केन्द्र नामका पुराना पार्टीलाई चिन्दैन । ती पार्टीहरु पुरानै हुनका लागि अहिले भएको पार्टी अस्तित्वविहीन हुनुपर्छ । अनि, नयाँ शीराबाट काम थालेपछि कानुनतः नबाझिने हदसम्म त्यस्तो सम्भव हुनसक्छ । तर, अहिले एमाले र माओवादी केन्द्र नामका दलहरु सन्ध्या तिवारी र गोपाल किराँतीहरुले दर्ता गरिसकेको अवस्थामा त्यस्तो सम्भव हुने कुरै भएन ।

टिप्पणीहरू