श्रीमतीको खातामा पैसा हाल्दै लोकल सरकार

नेपालीमा एउटा उखान छ, ‘दूधको साक्षी बिरालो ।’ कार्य प्रगति शून्य रहेको, जनप्रतिनिधि र कर्मचारी मोटाएको आरोपबीच रुकुमको एक स्थानीय तहमा अर्को लफडा शुरु भएको छ । भागबण्डा गर्दा तल्लोदेखि माथिल्लो ओहोदाका कर्मचारी र जनप्रतिनिधि मिलेर रकम झ्वाम पार्ने, कुरा बाहिर खुस्किएपछि आफू पानीमाथिको ओभानो बन्न खोज्ने प्रवृत्ति रहेको भन्दै रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा रडाको मच्चिएको हो ।

खापालले श्रीमती र भतिजाको खातामा कार्यालयको लाखाँै रकम जम्मा गरिदिएको प्रसंगले गाउँपालिका तातेको छ । लेखापालले लाखौँ रकममा मनपरी गरेको कुरा भित्रैबाट खुस्किएपछि स्थानीय प्रशासनले समेत आँखा लाउन थालेको छ । निवेदन र कागजात तयार गर्ने कर्मचारी, तोक लगाउने कार्यकारी प्रमुख, रकम भुक्तानीका लागि आदेश दिने गाउँपालिका अध्यक्ष यस्तो घटनामा कसरी चोखिन खोजेका होलान् ? स्थानीयले शंका गरेका छन् ।

प्राप्त जानकारीअनुसार, गाउँपालिकाका लेखापाल हेमन्त केसीले लाखौँ हिनामिना गरेको भन्दै जनप्रतिनिधिले कार्यदल गठन गरी आन्तरिक छानबिन शुरु गरेका छन् । गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीको संयोजकत्वमा छानबिन कार्यदल बनाई आइतबारबाट छानबिन थालिएको हो । कार्यदलमा रहेका केही जनप्रतिनिधिले लेखापाल केसीलाई आफ्नो, श्रीमती र भतिजाको नाममा मनपरी रकम भुक्तानी गरेर दुरूपयोग गरेकोबारे सोधपुछ गरिरहेको बताएका छन् । फागुनमा सरुवा भएर आएका केसीले श्रीमती बिमाको नाममा पटक–पटक चेक काटेर खातामा रकम जम्मा गरेका हुन् । गाउँपालिका–५ को सदस्यसमेत रहेकी श्रीमतीको खातामा उनले ८ लाख ८६ हजार जम्मा गरिदिएका छन् । जसमध्ये ६ लाख राहत तथा सहयोगको नाममा र एक लाख ५० हजार घरभाडा शीर्षकमा निकासा भएको छ । जबकि, गाउँपालिकाको कार्यालय आफ्नै भवनमा छ ।

त्यसैगरी केसीले दाइको छोरा (भतिज) सुवास केसीको नाममा पनि लाखाँै निकासा गरेका छन् । सुवासलाई उनले जेठबाट लागू हुनेगरी लेखा सहायक पदमा नियुक्त गराएका थिए । तर, फागुनदेखिकै तलब खुवाएको बताइन्छ । उनै सुवासको खातामा ७ लाख ९१ हजार जम्मा गरिदिएका छन् । यस विषयमा लेखापाल केसीले सुवासको तलब र भत्ताको लागि भन्दै गाउँपालिकामा जवाफ दिएका छन् । जेठमा नियुक्त लेखा सहायकले फागुनदेखि नै प्रतिमहिना १ लाख ५६ हजार तलब र भत्ता बुझेको देखिन्छ ।

लेखापाल केसीले आफ्नो नाममा समेत ८ लाख निकासा गरेको बताइएको छ । यस विषयमा उनले कार्यदलसमक्ष उचित जवाफ दिन सकेका छैनन् । त्यसैगरी गाउँपालिकाका जनप्रतिनिधिको नजरमा परेको अर्को खर्च रकम हो, कार्यालय सहयोगी शरद खड्काको नाममा पेश्कीस्वरूप चेक काटिएको आठ लाख । ‘कुन कामले काटियो ? यसको कुनै विवरण छैन तर कार्यालय सहयोगीको नाममा आठ लाख रकम निकासा भएको छ’ छानबिन समितिका एक सदस्यले भने, ‘मिलेमतो नभई यत्रो रकम हिनामिना हुनै सक्दैन ।’ स्रोतका अनुसार गाउँपालिकाका प्रमख प्रशासकीय अधिकृत दीपेन्द्र रावलको संलग्नताको आशंका बढी गरिएको छ । ०७६÷७७ मा विभिन्न शीर्षकको करिब २५ लाख रकम लेखापाल केसीले आफू, श्रीमती र भतिजाको खातामा जम्मा गराएको प्रमुख प्रशासकीय अधिकृत रावलले उल्लेख गरेका छन् ।

कार्यालयमा दुई दिन ताला

बैंकबाट स्टेटमेन्ट निकालेर हेर्दा शंकास्पद लागेपछि गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले पालिकामा तालाबन्दी गरेका थिए । कर्मचारीले कागजात मिलाउने र लुकाउने शंका लागेपछि दुई दिन ताला लगाइएको थियो । कार्यदलले आइतबारबाट ताला खोलेर छानबिनकोे काम अगाडि बढाएको छ । गाउँपालिका अध्यक्षको संयोजकत्वमा गठित कार्यदलमा उपाध्यक्ष निर्मला बिष्ट, वडा नं. १ का अध्यक्ष मोहनकिशोर ओली, वडा नं. ४ का अध्यक्ष चन्द्रबहादुर खड्का, वडा नं. ५ का अध्यक्ष खड्कबहादुर घर्तीमगर, वडा नं. ८ का अध्यक्ष कर्णबहादुर खड्का र वडा नं. ९ का अध्यक्ष वीरबहादुर डाँगी सदस्य छन् ।

साउन १४ गते गाउँपालिकामा असार मसान्तमा काम सम्पन्न भएका योेजनाको समेत भुक्तानी नगरेर बजेट फिर्ता पठाएपछि केही वडाध्यक्षले आक्रोश पोखेका थिए । विनियोजित बजेटबाट सम्पन्न योजनाको भुक्तानी नहुँदा गाउँपालिकामा कुर्सी तोडफोडसमेत भएको थियो । थप अनियमितता हुनसक्ने भन्दै ०७५÷७६ र ०७६÷७७ को सबै कागजात अध्ययन भइरहेको छानबिन समितिले जनाएको छ ।

टिप्पणीहरू