सेनापतिको म्याद थपिने सम्भावना

सेनापतिको म्याद थपिने सम्भावना

प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल यहि भदौबाट एक वर्ष बाँकी रहँदा एक बर्ष थपिने सम्भावना देखिन थालेको छ ।

बाहिर रक्षामन्त्रीसँग सम्बन्ध बिग्रेको चर्चा चलाइए पनि भित्री कुरो चाहिँ बेग्लै रहेको बताइएको छ । क्याबिनेटले आगामी तीन वर्षभित्र नेपालको अन्तर्राष्ट्रिय सिमानामा सेना परिचालनको निर्णय गरिसकेको छ । अहिले यसैलाई आधार बनाएर प्रधानसेनापति,रक्षामन्त्री र सेनाको परमाधिपति राष्ट्रपतिबीच सुमधुर सम्बन्ध रहेको बताइन्छ । यसबीच फाष्ट ट्रयाकको लागत पनि झण्डै ७० अर्ब रुपैयाँ बढाइएको छ ।

यता प्रधानमन्त्री कुनै हालतमा नफेरिने भएकाले मन्त्री फेरिएपनि केही फरक नपर्ने सेनाको निश्कर्ष छ । प्रधान सेनापतिलाई दिइएको टास्क अहिलेको विषम परिस्थितिलाई देखाउँदै केही समय लम्ब्याउने योजना बनाइएको छ । यस्तो अवस्थामा हालका सेनापतिले सबै कुरो बुझेको,स्वच्छ छवि भएको,अनुभवी र योग्यको परिभाषामा थप एक वर्ष म्याद बढाउन सरकारबाटै पहल हुने उच्च स्रोतको दाबी छ । यो काम प्रधानमन्त्री कथम् पदबाट बाहिरिनुपरेको अवस्थामा पनि हुनेछ ।

एकपछि अर्को सैनिक अधिकृत कारबाहीमा परेको खबरले बाहिरको माहौल थापाको पक्षमा भएपनि भित्री माहौल प्रत्येकको पछाडि जासुस खटाइएको कारण भयग्रस्त देखिन्छ । त्यसो त हालसम्म कुनैपनि सेनापतिको म्याद थपिएको नजीर छैन । सैनिक ऐनमा म्याद तीन वर्ष उल्लेख छ । तर नयाँ सैनिक ऐनबमोजिम बढुवा गर्न नमिल्ने गौरव तण्डुललाई प्रक्रिया मिलाएर तीन तारे बनाइएकाले पनि सेनापतिको म्याद नथपिएला भन्न नसकिने स्रोतको दाबी छ । तण्डुलले एक वर्ष कमाण्ड गरेको हुनुपर्नेमा नौ महिना मात्रै गर्दा पनि रथीमा बढुवा भएका थिए । अर्कोतिर राजेन्द्र कार्कीलाई नयाँ सेनापति बनाउन पनि नयाँ रणनीति बन्ने देखिन्छ । थापाको कार्यकाल एक वर्ष थपेमा २०७९ भदौमा मात्र सेवानिवृत्त हुनेछन् ।

त्यस्तो अवस्थामा कार्कीको बढुवा आगामी असोजतिर मात्रै गर्नेछन् । प्रभुराम शर्माको पनि २०७९ बैशाखमा दुई वर्ष पूरा हुन्छ । त्यसपछि म्याद स्वतःनथपिन सक्छ । ईश्वर हमालको पनि असारमा शर्माकै हालत हुनेछ । त्यसपछि २०७९ को साउन २४ पछि थापा बिदामा बस्नेछन् । त्यसबेला सबैभन्दा जल्दोबल्दो रथीमा कार्की देखिनेछन् । कार्कीलाई तीन तारेमा बढुवा गर्न थापाले एउटा नयाँ पदको सिर्जना गराउनेछन् । त्यस्तो अवस्थामा २०७९ भदौ अगावै थापा सेवा निवृत्त भए भने कार्की बेरोकतोक नयाँ सेनापति बन्ने छन् ।

कथम् प्रधानसेनापतिको एक वर्षको म्याद थपिएन भने पनि कार्कीलाई नयाँ सेनापतिको लागि सिफारिश गर्नुअघि बाँकी रथीहरुलाई विगतमा गल्ती गरेको भनेर एक एक वटा अभियोग लाग्न बेर छैन । ईश्वर हमाल र प्रभुराम शर्मालाई विगतमा पृतनापति हुँदाको बखत भए गरिएका झिना मसिना कुरोलाई उछाल्ने सम्भावना अधिक रहेको स्रोतको दाबी छ । बुटवलको पृतनापति हुँदा राजेन्द्र कार्कीलाई करोडौं अनियमितताको आरोप लागेको थियो । तर,अहिले उनको बदमासीसँग सम्बन्धित सबै कागजात बुटवल पृतना र सैनिक मुख्यालयभित्रै लुकाइएको बताइन्छ ।

अहिले उनलाई चोख्याउँदै रथीको दरबन्दी बढाएर बलाध्यक्ष बनाउने र शान्ति सेना, कल्याणकारी हेर्ने जिम्मा दिने तयारी भइरहेको बताइन्छ । यसबाट शर्मा र हमाललाई छाडेर कार्कीलाई जसरी पनि सेनापति बनाउने मार्गमा सैनिक मुख्यालय हिँडिसकेको स्रोत बताउँछ । अहिले तीन तारेको थप तीन वटा दरवन्दी माग्ने,पछि रक्षाले यौटा मात्र स्वीकृत गर्यो भनेर टार्ने खतरा प्रचुर देखिन्छ ।

टिप्पणीहरू