कोशी कटान र टप्पु : भेटौला है बिहारी भाइ ठूलै झप्पु !

कोशी कटान र टप्पु : भेटौला है बिहारी भाइ ठूलै झप्पु !

सप्तकोशी नदीको भेल, भेलले काट्दै गएको माटोको ढिस्को, छप्ल्याङ् आवाज गर्दै माटोको ढिस्को पानीमा खसेको जनाउ । तर, निष्फिक्री देखिन्छन् उनीहरू अर्थात् बच्चलाल र बबिता मुखियाहरू । हेर्दै भाउन्न होलाजस्तो ठाउँमा प्लास्टिकको सानो झोपडी हालेका छन् । कुनै बेला पनि कोशीको बाढीले भत्काउन सक्ने अर्थात् ५ मिटरजतिको दूरीमा भातभान्सा गर्ने, माछा मार्ने जाल, ओढ्ने, ओछ्याउने र लगाउने कपडा समेटी जोखिम मोलेर बसेका छन् उनीहरू अर्थात् कोशीले बनाएको चिलिया टापु (टप्पु) का बासिन्दा । तैपनि, मस्तझैं देखिन्छन् । पीडा छ तैपनि रमाउने कोसिसमा छन्, थाहा छ, विपद् टार्न सक्ने क्षमता उनीहरूसँग छैन । लाग्छ, जे पर्ला त्यही टर्लामा रमाउने बानी परिसकेको छ ।

यसपालि वर्षांवर्ष बालुवालाई माटोमा परिणत गरेर बनाएको खेतमा कोशीको पश्चिमी ठूलो भंगालो छिरेर करिब ५ मिटर जमिन कटान गरेको छ । आधा दर्जन घर सुरक्षित स्थलतर्फ पलायन भएका छन् । अरु पनि सुरक्षित थलोतर्फ पलायन हुने तरखरमा देखिन्छन् । कोशीले बर्सेनि गाँस, बास खोसेर बिचल्ली हुनेहरू छन् । यस्तो विपद्का बेला पनि कोशीको भेलसँगै जीवन हेल्न सिपालु देखिन्छन् उनीहरू । त्यही कोशीको भेलमा जाल हान्छन्, माछा मार्छन्, बजारमा लगेर बिक्री गर्छन् अनि जीविकोपार्जन गर्छन् । वर्षा बितेर हिउँद लागेपछि बगर बनेका बालुवासरी खेतमा तरकारी खेती गर्न सिपालु छन् उनीहरू । परवल, फर्सी, काँक्रा र तरबुजालगायत तरकारीको राम्रै खेती गर्छन् । मकै र तिल पनि मनग्गे आम्दानी हुने गरी उब्जाउँछन् । भैंसी र गाईवस्तुका गोठ बनाउँछन् र चराउँछन् । दूध पनि प्रशस्तै बेच्छन् ।

यो वर्षात्को बेला कटान गरेको छेउमै प्लास्टिकको झुपडी बनाएर बसेकी बबिता मुखियालाई डर लाग्दैन भन्ने प्रश्न गर्दा जवाफ दिन्छिन्, ‘हामीलाई थाहा छ नि कोशी कटान कतातिर हुँदै छ ? कसरी हुँदै छ । अहिले हामी सुरक्षित ठाउँमा छौं, ऊ तलतिर (औंलाले संकेत गर्दै) कटान छ । यहाँ बस्दा कुनै अप्ठ्यारो छैन ।’ उनीहरूको प्लास्टिकको सानो झोपडी यसपालिको वर्षामा भएको कोशी कटानको मुखैमा देखिन्छ । ‘दिउँसो त बाढी थाह होला, कटान पनि थाहा होला राति सुतेको बेला थाहा हुँदैन त ! डर लाग्दैन ?’ भन्छिन्, ‘कटानले ढिस्को खस्न थालेपछि पानीबाट निस्कने आवाजका भरमा सबै कुरा थाहा हुन्छ ।’ यो सहज ज्ञानकै आधारमा कोशीको भेलमा जीवन हेलिरहेका चिलिया टप्पुका बासिन्दाको प्रतिनिधि पात्र हुन् बबिता मुखियाहरू । यो ज्ञान प्राप्ति गर्न चिलिया टप्पुवासीले आफ्ना सन्तानहरू कोशीमा गुमाएका छन् । यो ज्ञान एकै दिनमा प्राप्त नभई वर्षौंवर्षको कोशीले बनाएको टप्पुवासी भएपछि प्राप्त भएको हो, यसलाई त्यस भेगमा रमाएका टप्पुवासीको ज्ञानभन्दा पनि हुन्छ । जुन अरूभन्दा फरक छ ।

अघिल्लो वर्षको तुलनामा ५ सय मिटरजति जमिन सप्तकोशीको पश्चिमी भङ्गालोले काटेपछि चिलिया टप्पुको अस्तित्व नै संकटमा पर्न लागेको छ । टप्पुमा बाँसको घोचा गाडेर प्लास्टिकका बोरामा बालुवा भरी कोशी कटानलाई रोक्ने प्रयास भएको छ । यसले तत्काललाई केही राहत दिए पनि दीर्घकालसम्म थेग्ने सामथ्र्य भने राख्दैन । बिहार सरकारको कोशी प्रोजेक्टको सहायतामा २५ हजार बोराहरू उपलब्ध गराइएको हो भने सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा भरिएको हो । सो अस्थायी रोकथामको बाँध करिब ६ सय मिटर लम्बाइसम्म लगाइएको छ । यो काम पर्याप्त नभएको गुनासो गर्दै वडा सदस्य रहेका श्याम लिम्बू भन्छन्, ‘कोशी सम्झौताअनुसार कोशीको दुवै किनारमा बाँध बाँध्नुपर्छ । अनि मात्र टप्पुवासीको जिउधनको सुरक्षा हुन्छ । यसतर्फ नेपाल सरकार र प्रदेश सरकारले पहल गर्न आवश्यक छ ।’ सुनसरीको बराह क्षेत्र नगरपालिका–५ भित्र पर्ने चिलियाटप्पु कोशीलाई सीमाक्षेत्र निर्धारण गरेको मान्ने हो भने उदयपुरको बेलका नगरपालिकामा पर्छ भनेर दाबी पनि गरिँदै आएको छ । त्यसैले विपद्को बेला दुवै नगरपालिकाको भरपर्दो सक्रियता र सहयोगको अपेक्षा गर्दा रहेछन् चिलियाटप्पुका बासिन्दाले ।

कोशीको पूर्वीभेगमा चतरा नजिकदेखि भन्टाबारीसम्मै बाँध बाँधेर कोशी कटान रोकिएको छ । पश्चिमी क्षेत्र अर्थात् चिलिया टप्पु र श्रीलंका टप्पुतर्फ भने अहिलेसम्म एक मिटर बाँध बाँध्ने काम भएको छैन । जसले गर्दा ५ सय मिटरजति जमिन कटान हुन पुगेको हो । करिब १० हजार हाराहारीमा रहेका टप्पुवासीले लाखौं बिघा जमिनमा खेती गरिरहेका छन् । यदि, बेलैमा बाँध बनाउन ध्यान नदिने हो भने कोशी फुटेको अवस्था भन्दा भयावह परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । अहिलेको कोशी कटानको स्थितिलाई हेर्दा चिलिया र श्रीलंका टप्पु, कोशी टप्पु वन्यजन्तु आरक्ष, उदयपुर बेलका १ को केही गाउँबस्ती र सप्तरी जिल्लाको फत्तेपुर, कञ्चनपुर, हनुमाननगरलगायत धेरै गाउँ–शहर पूर्णरूपमा नष्ट हुने सम्भावना भएको गाउँलेले बताए । कोशीले अहिलेको धार बदलेर ब्यारेजलाई छोड्दै पश्चिमीतर्फ नयाँ धार बनाउन सक्ने सम्भावना रहेको टप्पुवासीले अड्कल काटेका छन् । यदि, यस्तो भए भारत बिहारको धेरै शहरी क्षेत्र बाढीको चपेटामा पर्नेछन् भने धनजनको ठूलो क्षति हुने सम्भावना देखिन्छ । त्यसैले बिहार सरकारले कोशीको दुवै किनारमा बाँध बाँध्नुपर्ने दायित्व पूरा गर्नुपर्ने माग टप्पुवासीको छ । अन्यथा कोशीको कटानले नेपाललाई भन्दा बिहार राज्यलाई नै बढी प्रभावित गर्ने टप्पुवासी बताउँछन् ।

अस्थायी बाँधको भरमा रात कटाउन बानी परेका टप्पुवासीले त सहज ज्ञानका आधारमा जीवन जोगाउलान् तर फेदीतिर बस्ने सप्तरीवासी र भारतीय विहारीलाई भने निकै सकसपूर्ण हुनेछ । त्यसैले कोशीको पश्चिमी किनारमा स्थायी बाँध बाँध्न वा भरपर्दो संरचना निर्माण गर्न सरोकारवाला सबैको ध्यान जान आवश्यक छ । किनभने भेल आउने समय अझै बाँकी छ ।

टिप्पणीहरू