रास्ट्रको ढुकुटीमाथि चर्काचर्की

रास्ट्रको ढुकुटीमाथि चर्काचर्की

राष्ट्र बैंकका दुईजना डेपुटी गभर्नरको म्याद आगामी फागुन तेस्रो साता सकिँदैछ ।डेढ दर्जन विशिष्ट कर्मचारीमध्येबाट सरकारले नियुक्त गर्ने डेपुटी बन्न अहिलेदेखि बाघचालको सिद्धान्तमा टेकेर चलखेल शुरु भएको छ । सामान्यतयाः कोर फन्कन्सन (गतिला विभाग) मा बसेर काम गरेमा डेपुटीको लागि सबैभन्दा गतिलो आधार तय हुने मान्यता राख्ने गरिन्छ । तर, राजनीतिक पहुँच विना ती सबै प्रयास व्यर्थ हुने विगतका नियुक्तिबाटै पुष्टि भइसकेको छ ।

त्यहि मेसो मिलाउन केही दिनअघि राष्ट्र ऋण विभागकी कार्यकारी निर्देशक निलम ढुङ्गानातिम्सिनाले गभर्नरको कार्यकक्षमा दुईजना डेपुटी समेत भएको माहौलमा मुख खोलिन् । गभर्नर र डेपुटीहरूको कार्यकक्ष रहेको भवनको मुनि बैंकको केन्द्रीय ढुकुटी छ । त्यहि ढुकुटीको टुप्पोमा बसेर तिम्सिनाले ठूलै स्वरमा हाकिमहरूको ध्यानाकर्षण गराउँदै ‘सरहरूले म जत्तिको क्षमता भएको व्यक्तिलाई सँधै लो प्रोफाइलको विभागमा राख्न भएन । अष्ट्रेलियाबाट मास्टर्स गरेको छु । खुल्ला विश्वविद्यालय भएपनि भारतबाट पीएचडी सकाएँ । तरपनि गतिलो विभागको नेतृत्व गर्नबाट वञ्चित गराउनु भएको छ । बैंक नेतृत्वले मलाई पनि पुरुषको चस्माबाट हेर्नुपर्यो’  भनिन् ।

एकाएक महिला कार्यकारी निर्देशकको मुखबाट आगोरूपी असन्तुष्टि पोखिएपछि एकजना डेपुटीले थपे ‘तपाईं जत्तिको आँटिली र कडा स्वभावकी हाकिम त जनशक्ति व्यवस्थापन विभागमा पो बस्नुपर्यो । तपाईं त्यहाँ बसे कर्मचारीलाई ठेगान लगाउन हामीलाई पनि सजिलो हुन्थ्यो ।’ गभर्नर र अर्का डेपुटी चुपचाप सुनिरहेका बेला तिम्सिना भने झन् चर्को स्वरमा बोल्न थालिन् ‘जनशक्ति, सनशक्ति होइन सर, मेरो पहिलो रोजाई अनुसन्धान हो । त्यसपछि बैंक तथा वित्तीय संस्था नियमन, तेस्रो रोजाईमा विदेशी विनिमय र अन्तिममा बैंक सुपरीवेक्षण विभाग हो ।’

आगामी साता विभागीय प्रमुखहरूको सरुवा हुने चाल पाएपछि जमेर मुख खोलेकी तिम्सिनालाई गभर्नरले चाँहि ‘हुन्छ, हेरौंला’ भनेर टारिदिएको स्रोतको  दाबी छ । यता, छिट्टै हुने विभागीय प्रमुखहरूको सेटिङ्गलाई आगामी डेपुटीको नियुक्तीसँग जोडेर हेरिएकाले अन्य कार्यकारी निर्देशकहरू बिलखवन्दको अवस्थामा छन् ।

तिम्सिना तिनै हुन्, जसलाई तत्कालीन गभर्नर युवराज खतिवडाले वाशिङ्गटन डिसीस्थित अन्तर्राष्ट्रिय मुद्रा कोषमा बैंकको प्रतिनिधि बनाएर नपठाउन रातारात अनुसन्धानबाट बैंक सुपरीवेक्षण विभागमा सरुवा गरिदिएका थिए । तिम्सिनाभन्दा एक तह मुनिका कनिष्ठ छोरी ज्वाईं उपनिर्देशक रामशरण खरेललाई दुई वर्षमा दुई करोड कमाउन अमेरिका पठाएपछि ‘सुपरीवेक्षण विभागको लागि असक्षम निर्देशकको’ पगरी गुथाएर उनलाई पुनः अनुसन्धान विभागमै लगेका थिए ।

सुरक्षाकर्मीले गलहत्यायो 

कोरोना महामारीको सन्त्रासमा पनि बढुवाको एजेण्डा लिएर गएका युनियनका पदाधिकारी र बैंकका एकजना डेपुटीबिच शुक्रबार निकै चर्काचर्की परेको छ । सरकार र लोकसेवा आयोगले समेत कोरोनाको असरबाट खर्च जोगाउन सरकारी, अर्धसरकारी तथा संस्थानहरूलाई यसअघि नै निर्देशन दिएको थियो । निर्देशनमा प्रशासनिक खर्च घटाउनेदेखि, कायम मुकायम प्रदान नगर्ने र नयाँ दरबन्दी नथप्नेसम्मका विषय समेटिएका छन् । तर, काँग्रेस निकट वित्तीय संस्था कर्मचारी संघका पदाधिकारीहरूले जसरी पनि अधिकृत द्वितीयको दरबन्दी बढाउनुपर्ने माग राख्दै डेपुटीसँग सीमा नाघेर विवाद गरेको बताइएको छ ।

स्रोतका अनुसार डेपुटीले ‘अहिलेको महामारीमा पनि बढुवाको माग लिएर आउन लाज लाग्दैन ? के काम गर्नुहुन्छ तपाईंहरू ?’ भन्ने बित्तिक्कै युनियनका एकजना पदाधिकारी जाइलाग्दै ‘तपाईंले चाँहि के काम गर्नुभएको छ ?’ भनेर प्रतिवाद गरेका थिए । प्रतिवाद छिनाझम्टीमा परिणत हुने देखेपछि डेपुटीको ढोका बाहिर रहेका सुरक्षाकर्मीले ती कर्मचारीलाई बाहिर निकालेको बताइन्छ ।

टिप्पणीहरू