संसारभर चिनिन कहाँ सजिलो छ र ?

संसारभर चिनिन कहाँ सजिलो छ र ?

लर्ड बायरन अंग्रेजी साहित्यका विख्यात कवि । राजनीतिज्ञ पनि । सन् १८२१ देखि सन् १८३० सम्म ओटोमन साम्राज्यसँग चलेको युद्धमा क्रान्तिकारीको रुपमा ग्रिसको तर्फबाट भाग लिएका । बायरनले एनी इसाबेला मिल्बान्कसँग गरेको बिहे एक वर्ष पनि टिकेन । पछि क्लैर क्लैरमोरलाई पार्टनर बनाए । कथा लेख्ने क्लैर मेरी शेलीकी बहिनी । पछि क्लैर बायरनका छोराको आमा बनिन् ।

पर्सी शेली अंग्रेजी साहित्यका अर्का चर्चित महाकवि । गीतकार र दार्शनिक पनि । उनका प्रायः कवितामा दर्शन र सामाजिक विषयले स्थान पाएको हुन्छ । बाँचुञ्जेल मात्र होइन, मृत्युपर्यन्त पनि उग्र विवादको पात्र बनेका उनी अंग्रेजी कविताको रोमान्सेली युगका प्रतिभाशाली व्यक्तित्व । लण्डनमा उनको भेट विलियम गड्विनसित भयो । गडविनद्वारा लिखित राजनीतिक न्यायको ठूलो प्रशंसक भए उनी । गड्बिनको घरमा आतेजाते गर्दागर्दै उनकी छोरी मेरीसित लसपस भयो । मेरी उपन्यास लेख्थिन् ।

बायरन, पर्सी र मेरीबीच ठूलो मित्रता थियो । पर्सी मेरीभन्दा पाँच वर्षले जेठा र बायरन पर्सीभन्दा चार वर्ष जेठा । तीनैजना प्रायः एक ठाउँमा भेटिरहन्थे र  साहित्यसम्बन्धी विमर्श गर्थे । छलफलबाट कुनै न कुनै नयाँ विचार निस्कन्थ्यो । पछि त्यसैमा आधारित भएर कलम चलाउँथे । त्यसबेला बायरन स्विट्जरल्याण्डको जेनेभास्थित तालको तटमा बनेको घरमा बस्थे । पर्सी र मेरी पनि नजिकै बस्ने । साँझको बेला तीनै जनाको भेट हुन्थ्यो । डुंगा चलाउँथे र तटको बालुवामा नांगो खुट्टा हिँड्थे ।

केही समयपछि मौसम खराब भयो । दिनहुँ पानी पर्न थाल्यो । झरीको कारण मानिसहरु घरबाट निस्कन छाडे । बायरन, पर्सी र मेरी पनि निस्कन सकेनन् । तीनै जनाको समय कोठामै बित्न थाल्यो । दिउँसो त केही न केही गरेर समय बिताउँथे तर जब साँझ पथ्र्यो उकुसमुकुस हुन्थे । पर्सी र मेरीले समय बिताउन बायरनको घरमा जाने सल्लाह गरे । दुवै बायरनको बायरन भिल्ला पुगे । घण्टी बजेको सुनेर बायरनले ढोका खोले । पर्सी र मेरीलाई देखेर दंग परे अनि भने ‘तपाईंहरुलाई यो सानो घरमा स्वागत छ ।’

ढोकामै उभिएर फेरि भने, ‘यो मौसमले गर्दा बहुलाउन थालिसकें । घरमा बस्दाबस्दै उकुसमुकुस भइसकेको थिएँ । ठीक समयमा आइपुग्नुभयो । तपाईंहरु आइनपुग्नुभएको भए म साँच्चै पागल हुन्थें होला ।’

बायरनले दुवैलाई भित्र लगे । बैठक कक्षमा राखिएको मेचमा बसेर आगो ताप्दै साहित्यसम्बन्धी गफ गर्न थाले । निकै बेर गफमा भुलेपछि बायरनको दिमागमा एउटा विचार सुझ्यो । शेली दम्पतीसमक्ष प्रस्ताव राखे । ‘समय बिताउन हामी तीनै जनालाई गाह्रो भइसकेको छ । त्यसैले एउटा भूतप्रेतसम्बन्धी उपन्यास लेखौं । लेखिसकेपछि तीनै जनाले पालैपालो सुनाऊँ । यसले समय बितेको चाल पाउने छैनौं, साथै उकुसमुकुसबाट पनि सजिलै छुट्कारा पाउनेछौं ।’

पर्सी र मेरीलाई यो सुझाव ठीकै लाग्यो । तीनै जना कोठाको अलग अलग कुनामा बसेर कथाको विषयबारे सोच्न थाले । सबैभन्दा पहिला बायरनको कलम चल्यो किनभने केही समयदेखि उनी उक्त समस्याबारे सोच्दै थिए । उनको कल्पनाको विषय थियो– संसारमा मानिसले आफ्नो शरीर त्यागेपछि आत्मा फर्कन सम्भव छ वा छैन ? संयोग नै भनौं मेरी पनि केही समयअगाडिदेखि यसै विषयमा आधारित उपन्यास लेख्ने सोचमा थिइन् । ठीक एक साताअघि उनले अनौठो सपना देखेकी थिइन् । सपनामा एकजना चित्रकारले एकजना अजंगको पुरुषको चित्र बनायो ।  चित्र एकदम जीवन्त थियो । चित्रकार त्यो चित्र तकियामुनि राखेर सुत्यो र मध्यराति एउटा घटना घट्यो । चित्रमा भएको पुरुष हातखुट्टा चलाउँदै चित्रबाट बाहिर निस्कियो । उसले सुतिराखेको चित्रकारलाई जुरुक्क उचालेर झ्यालबाट फ्याँकिदियो ।

त्यत्तिकैमा मेरी निद्राबाट बिउँझिइन् । त्यसैबेलादेखि दिनहुँ उक्त सपनालाई झलझली सम्झिरहिन्थन् । सधैं सम्झने गरेकै कारण सपनामा देखेको घटना एक–एक याद थियो । मेरी यसैबारे लेख्ने सोचमा थिइन् । त्यो बेलुकी बायरनको कोठामा बसेर के विषयमा लेख्ने भनी सोचिरहँदा उनको दिमागमा फेरि त्यही सपनाको घटना आयो । उनले उचित मौका आएको ठानेर कलम चलाइन् । कलम छिटोछिटो चल्न थाल्यो ।

पर्सीले पनि निकै बेर सोचिसकेपछि अन्त्यमा भूत–प्रेतमा आधारित एउटा डरलाग्दो कथा लेख्न थाले । तीनै जनाले लेखेर सकाए । अनि आफूले लेखेको सुनाउन शुरु गरे । पर्सी र मेरीले पहिला बायरनलाई सुनाउन आग्रह गरे । बायरनले पूरा उतारचढावपूर्ण कथा सुनाए । बायरनको लेखनलाई शेली दम्पतीले रुचाए । त्यसपछि पर्सीले आफूले लेखेको भूतप्रेतको कथा सुनाउन शुरु गरे । कथा एकदम रहस्यमय र खुल्दुली लाग्ने खालको थियो । पर्सीको यो कथालाई पनि बायरन र मेरी दुवैले राम्रो माने । त्यसपछिको पालो मेरीको । सपना देखेको घटनामा आधारित उनको कथा झन् रहस्य र रोमाञ्चले भरिपूर्ण थियो । सुनाउने तरिका पनि अनौठो । उनको कथा सुनेर बायरन र पर्सीको छालाको रौं ठाडो भयो । स्वयं मेरी पनि उत्तेजित बनेकी थिइन् । कथा सुनाइसकेपछि उनको शरीर पूर्णतः पसिनाले लतपत भइसकेको थियो । उक्त कथा बायरन र पर्सीको भन्दा भयंकर डरलाग्दो थियो । बायरन र पर्सीले पनि त्यही कथा मन पराए ।

बायरन र पर्सीको सल्लाह र सुझावअनुसार मेरीले कथालाई तन्काउन थालिन् र उपन्यासको रूप दिइन् । उपन्यास तयार भएपछि नाउँ राखिन्– फ्रेंकस्टिन । फ्रेंकस्टिन अर्थात् भष्मासुरको पहिलो संस्करण सन् १८१८ मा प्रकाशित भयो । जसमा मेरीको नाउँ थिएन तर पुस्तकले त्यो बेला साहित्य जगतमा उधुम मच्चायो । सर्वाधिक बिक्री भयो । त्यसपछि सन् १८२१ मा दोस्रो संस्करण निस्क्यो, जसमा बल्ल लेखिकाको नाउँ आयो । २० वर्षको उमेरमा लेखिएको यो उपन्यास आजपर्यन्त सबैभन्दा डरलाग्दो उपन्यास मानिन्छ । उपन्यासका मुख्य पात्र भिक्टर फ्रेंकस्टिन हुन्, जसको तुलना उपन्यासकार मेरीले पौराणिक पात्र प्रोमेथियससँग गरेकी थिइन्, उसले मानिसलाई जमिनबाट बाहिर निकाल्छ र आगो लगाइदिन्छ । मेरीले उपन्यासमा राक्षसलाई ८ फुट अग्लो देखाएकी छन् । एकदम डरलाग्दो, नराम्रो तर संवेदनशील र भावनायुक्त । राक्षस मानव समाजमा रहन चाहन्छ तर आफूमाथि भएको दुव्र्यवहारले क्षुब्ध बन्छ र फ्रेंकस्टिनसँग बदला लिन अग्रसर हुन्छ ।

उपन्यासलाई सर्वत्र रुचाइएपछि सन् १८२३ मा लण्डनको नाट्यघरमा मञ्चन गरिएको थियो । पछि यसमा आधारित चलचित्र बन्यो । मेरीले १८ वर्षकै उमेरमा लेख्न थालेकी थिइन् । हिस्ट्री अफ अ सिक्स विक्स टुर, माथिल्डा, भल्पेर्गा, दि लास्ट म्यान, फाल्कनर, दि फोर्चुन अफ पर्किन बारबैक आदि उनका चर्चित कृतिहरु हुन् ।

सन् १८१६ मा जेनेभामा बायरन, पर्सी र मेरीको भेटको समय बायरनले कविको रुपमा युरोपमा ख्याति कमाइसकेका थिए । पर्सी शेली बायरनका कविता मन पराउँथे भने बायरन पर्सीको व्यक्तित्वबाट आकर्षित थिए । दुवै समकालीन अत्याचारी समाजलाई घृणा गर्थे । क्रान्तिकारी कविता लेख्थे । यद्यपि दुवै उच्च सामन्ती वर्गका थिए तैपनि अन्याय, अत्याचार र थिचोमिचोका प्रखर विरोधी, निम्न वर्गका जनताको पक्षधर । स्वतन्त्रताका पक्षपाती । सन् १८१४ मा मेरीसँग पहिलो पटक भेट्दाको समय पर्सी विवाहित थिए । पत्नी ह्यारियटले पर्सी र मेरीको सम्बन्ध थाहा पाएपछि व्यथित भइन् र माइती गएर बस्न थालिन् । त्यो बेला ह्यारियट दोजिया थिइन् । पर्सीले त्यस्तो अवस्थामा पुगेकी पत्नीलाई वास्ता नगरी मेरीलाई लिएर फ्रान्स पुगे । पर्सीले त्यहाँ पुगेपछि ह्यारियटलाई बोलाए तर ह्यारियटले सौतासँग बस्न मानिनन् । त्यसपछि पर्सी र मेरी स्वीट्जरल्याण्डतर्फ लागे, जहाँ मेरीले पर्सीको तर्फबाट छोरा जन्माइन्, जहाँ उनीहरुको भेट र मित्रता बायरनसित भयो ।

टिप्पणीहरू