कालिज हुर्काउने ड्युटीमा खटिए कमरेड

जनयुद्धका होलटाइमर पूर्वमन्त्री लोकेद्रबहादुर विष्ट आज फुल टाइमर कृषक बनेर कालो धान फलाउँदै छन् । जनयुद्धका अर्काे आदर्श पात्र हितराज पाण्डेहरू कृषि कर्ममै हेलिएका छन् । उसैगरी ध्रुव पराजुलीजस्ता सयौं इमान्दार नेता र कार्यकर्ता इतिहासको पानामा सीमित हुने खतरा बढ्दो छ । यो पनि उस्तै पात्रको कथा हो, जो १० वर्षे जनयुद्धमा होमिए, त्यसपछिका दश वर्षलाई साक्षीभावले किनारामै बसेर हेरे र पाइला मोडे कृषि कर्मतिर । किताबका पानाहरूमा घोकियो, नेपाललाई कृषिप्रधान देशको रूपमा । तर, बन्न पुगेको छ, कुर्सीप्रधान । नीतिहरूको राजा मानिने राजनीतिप्रति पछिल्लो पुस्तामा वितृष्णा बढ्दो छ, कारण हो– हात्तीछाप चप्पल पड्काउँदै राजनीतिमा होमिएकाहरूको फेरिएको जीवनशैली । तर, अपवाद हुन् माधव लामिछाने समीर । समीर जनयुद्धकालीन नाम । अहिले अर्काे परिचय थपिएको छ फुल टाइमर कृषकको रुपमा । हर कुरालाई फरक ढंगबाट गर्न खोज्ने उनले आफ्नै जन्मथलोलाई कर्मथलोमा परिणत गरेका छन् । दुई पार्टी एक भएपछि बाग्मती प्रदेश कमिटी सदस्य छन् । सँगै पहिचान थप्दै छन् कालिज फार्म सञ्चालकका रूपमा ।

फ्ल्यासब्याकमा फर्काउन चाह्यौं, उनै रसुवाली नेता समीरलाई । जो जन्मिए उत्तरगया गाउँपालिका वडा नं ५ मा रामकृष्ण र विष्णुमायाँको कोखबाट चार दशकअघि । मामाघरमै बिताए बाल्यकाल, त्यहीँ गयो जवानी ।

जतिखेर उनी ६ कक्षामा पढ्दै थिए अर्थात् ०४६ सालको कुरा हो यो । बत्तीमुनीको अँध्यारो रसुवा जिल्लालाई बहुदलको हावाले नछुने कुरै भएन । त्यही समय उनी आबद्ध भए विद्यार्थी संगठनमा । मोटो मशालको विद्यार्थी संगठनमा प्रवेश गरेसँगै फेरियो जीवनको नक्सा । ०४७ सालमा स्कुल इकाइ समितिको सचिव, ०४८ सालमा अध्यक्ष र ०४९ सालमा जिल्ला सम्मेलन आयोजक समितिको सदस्य हुँदै राजनीतिमा क्रियाशील भइरहे । ०५२ सालबाट जनयुद्ध शुरु भयो । ०५३ सालमा रसुवाको भोर्लेमा सम्पन्न तेस्रो जिल्ला सम्मेलनबाट जिल्ला अध्यक्ष चुनिए । ०५४ जेठ १ को चौथो सम्मेलनबाट अध्यक्षमै दोहोरिए । ०५७ सालसम्म अध्यक्ष नै भए । अधिकांश समय धादिङमा बिताए । ०६२÷६३ मा पार्टी शान्ति प्रक्रियामा आएपछि रसुवा फर्किए र पार्टी संगठनको काममा लागे । माओवादी पार्टी शान्तिप्रक्रियामा आएपछि पार्टी पार्टीजस्तो रहेन ।

०७० सालसम्म पुग्दा पार्टीभित्र अस्तव्यस्तता बाक्लियो । यो बीचमा नेकपा माओवादी पार्टी, माओवादी केन्द्र, एमाओवादी हुँदै हाल एमालेसँग पार्टी एकता गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ । केही शीर्षस्थ नेताहरूको जीवनशैली फेरिएको छ तर आमकार्यकर्ता ? हिजो जनयुद्ध सँगै लडेका नेता र कार्यकर्ता आज पनि अरबको मरुभूमिमा पसिना बगाउन बाध्य भएको देख्दा मन छिया–छिया हुन्छ ।

इमान्दार राजनीतिले घरको चुलो पनि बल्दैन रहेछ । यही पछि हो युटर्न भएको समीरहरूको पाइला ।

केही समय शेयर बजारको स्वाद लियो । तर, बजार पनि सदैव हरियाली नहुने । कहिले १८ सयको उच्चतम् बिन्दु पुगेको शेयर बजारमा पूरै गिरावट आएर राताम्मे हुने । यस्तै देखेपछि मोडियो पाइला आफ्नै जिल्लातिर । कालिज फार्म खोले । कालो मासु हुने ४ वटा कुखुरा अर्थात् कडकनाथबाट शुरु भएको व्यवसाय फैलँदै छ । झण्डै ३ सय कुखुरा बेचिसकेका छन् । त्यसका लागि केही अनुभव बटुले । काठमाडौंमा रहेको एभरेष्ट वाइल्ड लाइफ र बनेपाका फर्महरू हेरे, सिके । कालिज पालनका लागि रसुवाका पाखाहरू र यहाँको हावापानी उचित हुने ठम्याएपछि व्यावसायिक कालिज पालनमा होमिए । रिङ नेक जातको ५ सय वटा कालिजको चल्लाबाट काम शुरु गरे । बनेपाको नासिका एण्ड वाइल्ड क्याटल प्रोडक्टबाट कालिजका चल्ला ल्याएर व्यावसायिक कालिजपालन थाले । यस्तै, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय प्रदेश ३ को ५० प्रतिशत अनुदानसहित ५० प्रतिशत व्यक्तिगत लगानीमा कालिजपालन व्यवसाय विस्तार हुँदै छ । राष्ट्रिय वाणिज्य बैंकबाट १० लाख रूपैयाँ ऋणमा शुरु भएको व्यवसायमा झण्डै २५ लाख लगानी भइसकेको छ । तीन रोपनी जग्गामा कालिजका चल्ला हुर्कंदै छन्, तारबार लगाएर राखेका छन् । अबको दुई महिनापछि जंगलमा छाड्ने तयारी चल्दै छ ।

डेढ रोपनी जग्गामा जंगल बनाइएको छ । संरचना निर्माण हुँदै छ । केही बनिसकेको छ, केही बन्दैछ । घाँसका लागि व्यवस्थापनको काम भइरहेको छ । सानो छँदा जुध्ने र घाइते हुने त्यसैले छुट्टै राखिदिनुपर्ने, केही त जुधेर मर्ने, २४ सै घण्टा हेरेर बसिरहनुपर्ने । ७० प्रतिशत घाँस खुवाउनुपर्ने । करिब सात महिनामा खानयोग्य हुने । यसरी मंसिरबाट उनको फार्मका कालिज बिक्रीयोग्य हुनेछन् । आगामी वर्ष पोथी कालिजबाट चल्ला उत्पादन गरेर आफैँले यसलाई विस्तार गर्ने योजना बुन्दै छन् । आफ्नै फार्ममा ४ हजार कालिज पालन गर्ने लक्ष्य छ ।

राजनीतिबाट भाग्ने होइन, राजनीति र व्यवसायलाई सँगसँगै लैजान चाहन्छन् । भन्छन्, कुनै समय राजनीतिको पूर्णकालीन कार्यकर्ता थिएँ, अरू कुनै व्यवसाय थिएन, त्यसो गरेर मात्र घर परिवार चल्दैन । आम्दानीको स्रोत नहुने हो भने आय आर्जनका लागि गलत ट्र्याक समाउनुपर्ने हुन्छ । या त भ्रष्टाचार र अनियमितता गर्नुप¥यो वा कुनै न कुनै आम्दानीका स्रोत अपनाउनुप¥यो । त्यसो गरे मात्र राजनीति सङ्लो हुन्छ ।

अझै पनि नेतृत्व र माओवादीका शीर्ष नेताको आरोप छ, लोकेन्द्र विष्टहरू वैचारिक रुपमा पलायन भए । यस्तो आलोचना गरेर मात्र नेतृत्वले छुट पाउँदैन होला । कति भन्छन्, पूर्वमन्त्री लोकेन्द्र विष्ट राजनीतिबाट फ्रस्टेटेड भएर कृषि कर्ममा हेलिए । समीर पूर्वमन्त्री विष्टझैं चटक्कै राजनीतिबाट टाढिएको चाहिँ होइन । जीवनको ऊर्जाशील समय राजनीतिमा होमिए पनि अब आफ्नो व्यवसाय र राजनीतिलाई अगाडि बढाउने सोचले कृषि र पशुपालनमा लागेका हुन् । जुन उद्देश्यसाथ युद्ध मैदानमा होमिने काम भयो । त्यहाँबाट सीमित वर्ग र व्यक्ति मात्र लाभान्वित भएको, कोही–कोही पटक–पटक मन्त्री, सांसद बनेर जीवनशैली फेरिएको तर जनताको दुःख, पीडाका भुमरी उस्तै रहेको देख्दा समीरको मन कँुडिन्छ ।

पार्टीभित्र लोभीपापीहरू हाबी भएकाले हनुमान र गणेशहरूकै पल्लाभारी हुने तर कुमारहरूको अवस्था सधैँझैं दयनीय रहने स्थिति छँदै छ । त्यसको अन्त्य भएन भने हामी कतै अन्धकारभित्र हराउने पो हो कि भन्ने चिन्ताले पनि उत्तिकै डेरा जमाएको छ ।

– महेश्वर गजुरेल, उत्तरगया–४, रसुवा

टिप्पणीहरू